बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि)को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ । दुईजना नर्सलाई निलम्बन गरिएको छ भने दुईजना चिकित्सकसहित २३ जनासँग स्पष्टीकरण माग गरी सचेत गराइएको छ ।
अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्नेभन्दा १० गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो । बिरामीलाई ३.४ मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले बताए ।
अस्पतालले दिएको जानकारी अनुसार लमजुड्ढो दोर्दीका ५० वर्षीय भक्तराज गुरुड्ढो खुट्टामा छालाको क्यान्सर भएपछि उपचार भइरहेको थियो । उपचारका क्रममा बढी किमो दिएपछि गुरुड्ढो मृत्यु भएको महतोले बताए । उनका अनुसार मेडिकल वार्डमा तीनपटकसम्म सोही मात्राको किमो दिएपछि बिरामीको शरीरले उक्त मात्रा धान्न नसकेर गत असार १३ गते राति मृत्यु भएको थियो ।
“खुट्टाको छालाको क्यान्सर ‘मेलानो’ भएपछि शल्यक्रिया गरिएको थियो । रोग फैलिएर खुट्टामुनिको काछसम्म पुगेर गाँठागुठी देखिएपछि ‘बायप्सी’
(क्यान्सर भए/नभएको पत्ता गराउन गरिने परीक्षण) गरेर क्यान्सर यकीन भएको थियो । त्यसपछि बिरामीलाई किमो दिन थालिएको थियो”–उनले भने ।
बिरामीको उपचारमा लापरवाही भएको देखिएपछि अस्पताल प्रशासनले दुर्ई चिकित्सकसहित २३ जना नर्ससँग स्पष्टीकरण मागेको छ । सूचना अधिकारी महतोका अनुसार नर्स प्रभा तामाङ र आकृति श्रेष्ठलाई निलम्बन गरिएको छ ।
अस्पतालले उपनिर्देशक डा उमेश नेपाल, मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण शाह र नर्सिङ प्रमुख अनिता देवकोटा रहेको छानबीन समिति गठन गरेको थियो । समितिले यही साउन ३ गते प्रतिवेदन बुझाएको महतोले जानकारी दिए ।
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले, अध्ययन टोलीको प्रतिवेदन पाएपछि सोही आधारमा दुर्ईजनालाई निलम्बन र २३ जनासँग स्पष्टीकरण सोधिएको बताए । यससँगै आवश्यक कारबाई प्रक्रिया अघि बढाइने उनले बताए ।
पौडेलले भने–“काममा लापरवाही देखिएकोले आवश्यक कारबाई गर्नेछौं । आगामी दिनमा यस्ता लापरवाही हुन नदिन नियमित अनुगमनका गर्ने व्यवस्था मिलाउने छौं ।”