अन्योलमा बिपी उद्यान

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

वीरगंज महानगरपालिकाको स्वामित्वमा रहेको वीरगंजको घण्टाघरस्थित १० बिघा जग्गा (बिपी उद्यान)मा पर्खाल र ढलान निर्माण कार्य भएको पनि तीन वर्ष पुगिसक्यो । तत्कालीन नेपाल यातायात संस्थानको स्वामित्वबाट महानगरपालिकाको स्वामित्व कायम भएको अढाई दशक बितिसकेको छ । तर बिपी उद्यान नामकरण गरिएको सो स्थान लामो समयसम्म खाली थियो र अहिले पनि उद्देश्यपरक निर्माणको थालनी भने हुन सकेको छैन । संस्थानबाट महानगरको स्वामित्वमा आएपछि उद्देश्यअनुरूप बिपी उद्यानको काम अगाडि बढेन । खाली जग्गामा एकताका वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासको पहलमा अन्तर्राष्ट्रिय मापदण्डको १५ सय सीट क्षमताको सभाहल निर्माणको पहल भएको थियो । तर समय परिवेशले सो पहल गुरुयोजनामैं सीमित बन्यो । २०६३ सालको मधेस आन्दोलनपछि विकसित राजनीति घटनाक्रमले मधेसी पार्क नामकरण गरी उचालियो र नामकरणको विवादसँगै अन्तर्राष्ट्रिय सभाहल निर्माणको पहल स्थगित हुन पुग्यो । यसो त सो जग्गा महानगरपालिकाको स्वामित्वमा आएपछि विभिन्न निर्माणका योजनाहरू मौखिकरूपमा महानगर नेतृत्व पक्षबाट सार्वजनिक गरिएको थियो ।

बिपी उद्यानमा मधेस प्रदेश सरकारका पहिलो मुख्यमन्त्री लालबाबू राउत गद्दीले मधेसी पार्क निर्माणको लागि शिलान्यास पनि गरेका थिए । बिपी उद्यानको उद्देश्यविपरीत तत्कालीन मुख्यमन्त्रीबाट मधेसी पार्कको शिलान्यास भएपछि महानगरपालिका र नेपाली काङ्गेसको विरोधका कारण मधेसी शहीदहरूको सालिक उद्यानको दक्षिणतर्फ एक कुनामा स्थापना गरियो तर पार्क भने निर्माण हुन सकेन । अढाई दशकको अवधिमा सङ्घ सरकारको पहलमा बिपी उद्यानको जग्गालाई पर्खालले घेर्ने र हलुका सवारीसाधन पार्किड्ढो काम मात्र भयो । बिपी उद्यानको जग्गा खाली रहँदा विभिन्न खुद्रा पसल, हाटबजार अनि गरीब, दलित, विपन्न मुसहर, डोम जातिले अस्थायी घर बनाएर अतिक्रमण गरेका थिए । बिपी उद्यान अहिलेसम्म किन बनेन, नबन्नुका कारण के हो भन्ने विषयमा कसैले कहिले चासो देखाएन । नेपाली काङ्ग्रेसको नेतृत्वमा धेरैपटक सरकार बनेको छ र अहिले पनि एमालेसँगको सहकार्यमा नेका सरकारमा छ । नेपाली काङ्ग्रेसले आफ्नो सरकारमा पार्क निर्माण किन नगरेको भन्ने कुरा यहाँका मानिसहरूले बुझ्नै सकेका छैनन् ।

अहिले बिपी पार्कमा महानगरले ग्रीनसिटी बनाउने पहल थालेको छ । गरीब, दलित, विपन्न मुसहर, डोम जातिको अस्थायी घर भत्काउने काम भएको छ भने खुद्रा पसल, हाटबजारलाई अन्यत्र सार्ने प्रयासमा महानगरपालिका छ । बिपी उद्यानमा यसका अतिरिक्त साना सवारी र ग्रामीण सवारीसाधनको पार्किङ हुँदै आएको छ र यो विषयमा महानगरको पहल देखिएको छैन । यो अवस्थामा डिपिआर बनाइँदैछ रे, अनि ग्रीनपार्कको लागि लगानी भने अन्योलमा छ । लगानी सुरक्षित नभएरै डिपिआर बनाउने काममा अहिलेसम्म महानगरको थुप्रै लगानी गुमिसकेको छ । अहिले पनि ग्रीनपार्क निर्माण हुने कुरामा यस कारण पनि ढुक्क हुने अवस्था छैन । कुनै बखत एस्सेलवल्र्ड स्थापना गरिने हल्ला चलेको थियो । अढाई दशकको अवधिमा बिपी उद्यानमा कति थरीका योजनाहरूले चर्चा पाए तर मूर्तरूप धारण भने गर्न सकेको छैन । तसर्थ हल्लाबाजीभन्दा काम गरेर देखाउँदा महानगरवासीमा विश्वासको वातावरण बन्न सक्छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस