• वैद्यनाथप्रसाद चौरसिया

वीरगंजमा खानेपानीको हाहाकार मचेको समाचार विभिन्न समाचार माध्यमहरूबाट र विभिन्न महानुभावहरूबाट मौखिक कुराबाट पढ्न, सुन्न पाइयो । म पनि यहीको निवासी रहेको र विषयगतरूपले प्रोफेशनल हाइड्रोजियोलोजिस्ट भएको नाताले त्यतातिर ध्यान जानु मेरो नैतिक तथा जनता र देशप्रति दायित्व पनि हो । यस लेखको उद्देश्य समस्या उत्पन्न हुने कारण र जिम्मेवार निकायहरूमा तत्काल समाधानका उपायहरू सुझाउनु हो । वीरगंज नगरवासीको पानीको आवश्यकता पूरा गर्ने एक मात्र साधन जमीनमुनिको पानी हो । जसलाई भूमिगत जल भन्ने गरिन्छ । विकल्पको रूपमा रहेको वीरगंज शहरभित्रबाट बग्ने श्रीसिया नदीको पानी कालोमा कालो र अति दुर्गन्धित छ । त्यसको प्रयोग मान्छे त के, पशुपन्छीसम्मले गर्दैन । खेतीमा पनि यसको प्रयोग गर्न सकिन्न । यो एउटा फोहोरमैला बग्ने एउटा ढल मात्र बन्न पुगेको छ ।

आधुनिकीकरणतर्फ बढिरहेको वीरगंजमा थप बसाइँसराइको कारण बढ्दो जनसङ्ख्याको पानीको आवश्यकता पूरा गर्न भूमिगत जलमाथि भर पर्नु स्वाभाविक पनि हो । वीरगंजमा निर्माण भएका र भइरहेका ठूला भवन, फयाक्ट्री, रोड आदिले गर्दा वीरगंज वरिपरि रहेको खुला जमीन कम भई जमीनले पानी सोस्ने मात्रा कम हुँदै गइरहेको छ जसका कारण पूर्णरूपमा भूमिगत जल रिचार्ज हुन पाउँदैन । हालको परिस्थितिमा विभिन्न मानवीय कारणले विश्वको वायुमण्डलीय वातावरणमा आएको बदलावले पहिलेजस्तो वातावरण सामान्य रहेन । कतै धेरै पानी पर्ने त कतै पानी नै नपर्ने, कतै बाढी त कतै खडेरी, कतै धेरै ठण्ढी त कतै गर्मीले मानिस परेशान छन् । हाम्रो नेपाल पनि यसको चपेटामा परेको छ । हाल देशमा नियमित पानी परेको छैन । मनसुन समयमा आउँदैन । पहिलेभन्दा औसतमा कम पानी परेको पाइन्छ । खोलानालामा पानीको बहाव कम भएको छ भने कतै खोलानाला, पोखरी आदि सुकेका छन् । तसर्थ देशको अधिकांश जनसङ्ख्या भूमिगत जलमा निर्भर छ ।

हालको प्रमुख समस्या वीरगंज महानगरपालिकाभित्र हेन्डपम्म, इनार, ट्युबवेलबाट आइरहेको पानी सुकेकोले नगरवासीलाई पानीको समस्या भएको छ । घरमा गाडेको ट्युबवेलबाट मोटरले पानी तान्न छोड्यो । तसर्थ खानेपानीको समस्या विकराल हुँदैछ । पानीविना जीवन सम्भव छैन । हामी सबैले बुझेको कुरा हो । हालको समस्या बुझ्न र समाधान तर्फ लाग्न जरूरी छ । यो समस्या एउटा सीमित क्षेत्रबाट भूमिगत जल भण्डारबाट बढी मात्रामा पानी तान्दा (withdrawal) उत्पन्न भएको हो । वीरगंज शहरभित्र परिवारपिच्छे प्रयोगका लागि ठूला वा साना गरी दश हजारको हाराहारीमा ट्युबवेलहरू बनेको अनुमान गर्न सकिन्छ । यी ट्युबवेलहरू जमीनदेखि ५० मिटर गहिरोमा पाइने बालुवा गिट्टीको लेयरमा (Shallow Aquifer) जडान गरिएको हुन्छन् । मानांै, वीरगंज क्षेत्रभित्र स्यालो एक्युफर (Aquifer) मा १० लाख क्युबिक मिटर (one Million Cubic Meter) पानी भण्डारण गर्ने क्षमता छ । प्रत्येक ट्युबवेलबाट पारिवारिक प्रयोगको लागि ५०० लिटर पानी प्रतिदिन तान्ने काम हुन्छ भने दश हजार ट्युबवेलले कति पानी तान्ने होला । महीना र वर्षभरिको withdrawal को हिसाब गर्ने हो भने अवश्य पनि स्यालो भूमिगत जल भण्डारबाट ठूलो मात्रामा जल तान्ने काम हुँदैछ । यसबाट प्रस्ट हुन्छ कि भूमिगत जलको भण्डारमा कमी आएको हो ।

वर्षको साउन–भदौ महीनामा भूमिगत जलस्तर जमीनस्तरबाट ३ मिटरदेखि ५ मिटर मुनि रहेको पाइन्छ । हाल आएर भूमिगत जलस्तर तल झरेर करीब ८.५० देखि ९ मिटरसम्म पुगेको छ । यो भूमिगत जलभण्डारबाट अत्यधिक मात्रामा पानी तानेको प्रभाव हो । चापाकल र जमीनमा सञ्चालनमा रहेको सेन्ट्रीफ्युगल पम्पको सक्सन लिमिटभन्दा तल पानीको लेवल पुगेकोले तिनीहरूले काम गर्न छोडेका हुन् । हाल पानीको स्तर सक्सन लिमिटभन्दा तल झरेको कारण यस्तो विकराल स्थिति देखा परेको हो । पानीको लेवल तल झर्नुको मुख्य कारण अत्यधिक पानी तान्नु, एकै समय अनेक ट्युबवेल सञ्चालनमा रहनु, कतैबाट पर्याप्त मात्रामा रिचार्ज नहुनु तथा जलस्तरमा आएको वार्षिक गिरावट हो । यसको मतलब भूमिगत जलभण्डार सुकेको होइन । यसको जलस्तर तल झरेको मात्र हो । यसले गर्दा न जमीन भासिने डर हुन्छ, न कुनै ठूलो आपत्ति आउनेवाला छ । यो प्रभाव वीरगंजभित्र स्यालो ट्युबवेलमा मात्र हो ।

यसबाट नगरवासीलाई आत्तिनुपर्ने अवस्था छैन । यो अवस्था केही दिनका लागि मात्र हो । तर यो समस्या पुनः नआउने होइन । मनसुनको समय भएकोले केही राहत पाइएला । यस्तो अवस्थाबाट बच्न प्रकृतिले हामीलाई अर्काे अवसर प्रदान गरेको छ, त्यो हो डीप एक्युफरको पानी । डीप ट्युबवेलमा कुनै प्रभाव देखिएको छ्रैन । तसर्थ डिप ट्युबवेलको पानी नगरपालिकाले सघन शहर क्षेत्र र अन्य प्रभावित क्षेत्रमा वितरण गर्न सक्छ । आवश्यक भए डिप ट्युबवेल अत्यधिक सञ्चालन गरी पानी वितरण गर्न कुनै समस्या नपर्ला । हाललाई स्यालो ट्युबवेल जडानमा रोक लगाउने र त्यसको भार कम गर्न डीपट्युबवेल जडानमा प्रोत्साहन गर्ने उपाय गर्नु आवश्यक छ ।

अब हामी देशमा भूमिगल जल भण्डारको अवस्थाबारे केही जानौं । विगतमा हाम्रो देशको तराई तथा मधेसमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूबाट भूमिगत जल भण्डारबारे खोजतलाश तथा विस्तृत अध्ययन हुँदा कुल ८८०० मिलियन क्विबिक मिटर पानीको विशाल मात्रा प्रायः मनसुनको बेला प्रत्येक वर्ष भूमिगत जल भण्डारमा थपिन्छ भन्ने कुरा जानकारीमा आएको छ । तराईमुनि यो एउटा पानीको सुरक्षित विशाल भण्डार हो । यसको भण्डारबाट तराईमा रहेको खेतीयोग्य जग्गा १३,२७,००० हेक्टरमध्ये १२,२१,००० जग्गामा स्यालो तथा डीपट्युबवेलबाट खेतीपाती गर्न सिंचाइ, तराईका जनसङ्ख्याको लागि घरेलु तथा खानेपानी, कलकारखानाको लागि पर्याप्त हुन्छ । त्यस भण्डारबाट केही मात्रामा पानी गर्मीयाममा सिपेज भई खोला नालामा जान्छ । जसकारण खोलाहरू सुखायाममा पनि बग्छन् । र केही मात्रा जमीनमुनिबाट बगेर हाम्रो पडोसी देश भारतको गङ्गासम्म पुग्दछ । हाम्रो पर्सा जिल्लाको स्थिति हेर्ने हो भने चलायमान (Rechargeable_) भूमिगत जलभण्डार कम्तिमा ५३ मिकिमि (MCM) रहेको अनुमान छ ।

त्यसमध्ये हाल प्रयोगमा भइरहेको सिंचाइ, खानेपानी, कलकारखाना आदिको कुल खपत वार्षिक अनुमान करीब १३ MCM रहेकोमा करीब ४० MCM पानी सिंचाइ, खानेपानी तथा अन्य प्रयोगका लागि भविष्यमा आयोजना विस्तार गर्नको लागि सम्भावना अझै बाँकी नै छ ।

वीरगंज महानगरपालिकाका बासिन्दाको पानीको आवश्यकता सदैवका लागि पूरा गर्न, वर्तमान समस्या भविष्यमा आउन नदिन त्यसको आवश्यक उपायहरूको खोजी गर्न वीरगंज क्ष्ँेत्रको विस्तृत जल अध्ययन आवश्यक छ । त्यसको आधारमा मात्र भूमिगत जलको अवस्था जानकारी प्राप्त गरी वर्षैभरि पानीको व्यवस्थापन मिलाउन आवश्यक रिचार्जका उपायहरू (Measures) अवलम्बन गर्न आवश्यक छ । वैज्ञानिकहरूले पानीको कमी पूरा गर्न अनेक उपाय पत्ता लगाएका छन् । वीरगंजको लागि कुन बढी उपयुक्त हुन्छ त्यो विस्तृत अध्ययनबाट थाहा पाउन सकिन्छ ।

1 COMMENT

  1. बिरगञ्ज क्षेत्रको समसामयिक समस्या समाधानको लागि अति उपयोगी र सूचना तथा प्रविधिको बैकल्पिक समाधानसहितको लेख। यो लेख स्थानीय जनप्रतिनिधिहरुले अध्ययन गर्नु अति आवश्यक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here