बरहथवा, २८ पुस/रासस
उखु बेचेको हप्ता दिनभित्रै भुक्तानी पाउँदा सर्लाहीको बाग्मती नगरपालिका–१ मिलनचोक निवासी रामहरि पाण्डेलाई शुरूमा त पत्याउनै मुश्किल भयो । विगतमा वर्षाैंसम्म चिनी उद्योगहरूले भुक्तानी नगर्दा हैरानी खेप्दै आएका उनीजस्ता किसानहरूले यसपटक समयमैं भुक्तानी पाएका छन् ।
विगतमा राज्यले समयमा उखुको समर्थन मूल्य नतोक्ने र उद्योगीले वर्षाैंसम्म पनि भुक्तानी नदिने समस्याबाट किसानहरू हैरान हुनुपरिरहेको थियो । तर यस वर्ष उखु क्रसिङ पहिला नै समर्थन मूल्य तय भएको र उद्योगीले पनि उखु बेचेको हप्ता दिनभित्रै भुक्तानी दिन थालेपछि किसानलाई उखुखेती फेरि नगदेबाली हो भन्ने लाग्न थालेको पाण्डेले बताए ।
पाण्डेले यस वर्ष चार बिघामा उखु लगाएका छन् । पहिलोपल्ट उनले गत मङ्सिर २७ गते उद्योगमा उखु बेचेका थिए । इन्दुशङ्कर चिनी उद्योगको मिलगेट क्षेत्रका उखु किसान पाण्डेले हप्ता दिनमैं बैंकमा पैसा जम्मा भएको घण्टी बजेपछि खुशीले गद्गद् भए । “अब बल्ल उखु नगदेबाली हो भन्ने लागेको छ,” उनले भने, “किनकि यो वर्ष उखुको पैसा हाताहाती जस्तै आइरहेको छ ।”
शुरूमा उखुखेती गर्दा मूल्य र भुक्तानी के हुने हो भनेर चिन्ताले पाण्डेलाई नसताएको हैन । तर यस वर्ष उखु बिक्री गरेर समयमैं भुक्तानी पाएपछि उखुखेतीप्रति आकर्षण बढेको पाण्डेले बताए । उखुको समर्थन मूल्यमा राज्यले किसानको लगानी र चिनीको मूल्यलाई आधार बनाएर तोक्ने र उद्योगले किसानको भुक्तानी व्यवस्थित गर्ने हो भने किसानहरू उत्साहित भएर उखुखेती गर्न तयार रहेको उनी बताउँछन् ।
हरिवन नगरपालिका–३ का गोपी तिमल्सिनाको पनि अनुभव उस्तै छ । विगतका वर्षमा झैं अब किसानले गुलियो उखु लगाएर अमिलो अनुभव गर्न नपरोस् भन्ने उनी कामना गर्छन् । राज्यले समेत अनुदानबापतको रकम किसानको खातामा जम्मा गरिदिनुपर्ने उनको धारणा छ ।
“विगतका वर्षमा जस्तो अनुदानको रकममा किसानले दुःख पाउनुहँुदैन,” उनले भने, “समयमैं भुक्तानी शुरू गर्नुपर्छ, अनि मात्र फेरि उखु नगदेबाली बन्छ । किसान पनि खेती गर्न उत्साहित हुन्छन् ।” यस वर्षबाट हप्ता दिनमैं किसानको खातामा पैसा जम्मा गर्न थालेपछि किसानहरू उत्साहित बनेका हुन् ।
यस उद्योगले यस वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको उद्योगका महाप्रबन्धक योगनारायण रजकले जानकारी दिए । किसानहरूसँग एक महीनाभित्र भुक्तानीको सहमत भएपनि उद्योगले एक हप्ताभित्रै भुक्तानी गरिरहेको उनको भनाइ छ । महाप्रबन्धक रजकका अनुसार उद्योगले पुस २० गतेसम्म किसानबाट छ लाख १७ हजार दुई सय क्विन्टल उखु खरीद गरी क्रसिङ गरिएकामा यही पुस १७ गतेसम्मको उखुको रु २८ करोड भुक्तानी गरिसकेको छ ।
गत मङ्सिर २७ गतेदेखि सञ्चालनमा आएको उद्योगले यो तेस्रोपटक किसानको खातामा रकम जम्मा गरेको हो । यस उद्योगले उखु उत्पादन बढाउनका लागि उन्नत जातको बीउ, मल, विषादीको प्रयोगको साथै तालीम, गोष्ठी तथा किसानहरूलाई प्राविधिक सेवासमेत अभियानकै रूपमा प्रदान गरिरहेको उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले बताए । किसान खुशी पारेर उखु तान्नसमेत उद्योगहरूले भुक्तानी छिटोछिटोे गरिरहेका नेपाल उखु उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीको भनाइ छ ।
जिल्लामा सञ्चालनमा रहेकामध्ये गोडैता नगरपालिकास्थित बगदहमा रहेको महालक्ष्मी चिनी उद्योगले र धन्कौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले भने विगतका वर्षमा समयमैं भुक्तानी नगरेको किसानहरूको भनाइ छ । रामनगर गाउँपालिका–४ का नितिन रायले अन्नपूर्ण चिनी उद्योगका पुराना सञ्चालकसँग आफ्नो फसल बेचेको पैसा लिन निकै सङ्घर्ष गर्नुपरेको बताए । यस उद्योगका नयाँ व्यवस्थापनले भने यस वर्षबाट उखुको भुक्तानी व्यवस्थित गरेको दाबी गरिरहेको छ । गत मङ्सिर ६ गतेदेखि क्रसिङ शुरू गरेको यस उद्योगले पुसको पहिलो हप्तासम्मको भुक्तानी किसानको खातामा पठाइसकेको जनाएको छ ।
विगतका वर्षमा उखु दिएको वर्षाैंसम्म पैसा नपाएका किसानले यस वर्ष भने उखु बेचेको १५/१५ दिनमा पैसा खातामा जम्मा भएको भन्दै खुशी व्यक्त गरेका छन् । धन्कौल–५ निवासी वीरेन्द्र महतोले उखु बेचेको १४ दिनको दिन पैसा पाएको भन्दै यस वर्ष उखु नगदमैं बेचेको प्रतिक्रिया दिए । “हामीले सधैं उधारोमा उखु उद्योगलाई दिंदै आएका थियौं,” उनले भने, “हामीसँग अरू विकल्प पनि थिएन । तर यस वर्ष पैसा पनि आइरहेको छ ।” अब पहिलेको जस्तो उखु बेचेको पैसा माग्न पुस/माघको ठण्डीमा काठमाडौं जान नपरोस् भन्ने उनको कामना छ ।
१५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको यस उद्योगले पनि हालसम्म चार लाख ५० हजार क्विन्टल उखु क्रसिङ गरिसकेको जनाएको छ । राज्यले तय गरेको समर्थन मूल्य ५८५ रुपियाँ प्रतिक्विन्टलको दरले ११ करोड रकम भुक्तानी गरेको उद्योग सञ्चालक शैलेन्द्र गुप्ताले जानकारी दिए ।
जिल्लामा सबैभन्दा शुरूमा सञ्चालनमा आएको यस उद्योगलाई किसानहरूले विश्वास नगर्दा उखु नपाएर उद्योग पटकपटक बन्द हुँदै सञ्चालन हुँदै गरिरहेको छ । उद्योगको ढोकैनजीकबाट रौतहट र महोत्तरीका उद्योगले उखु लगेपछि अन्नपूर्णले स्थानीय जनप्रतिनिधिसमेत गुहार्नुपरेको थियो ।
स्थानीय जनप्रतिनिधिले अन्य उद्योगका उखु सङ्कलन केन्द्र (काटा) राख्न नदिएपछि यस उद्योगले केही राहतको श्वास फेरेको छ । स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूले उद्योगसँग मिलेर अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योगमा उखु बेच्न किसानहरूलाई जबरजस्ती बाध्य पारेको किसानहरूको गुनासो छ । स्थानीयस्तरमा भएका उद्योगबाट किसानले लाभ लिन सक्ने र यस उद्योग जोगिए स्थानीय रोजगारदेखि औद्योगिक विकासमा टेवा पुग्ने जनप्रतिनिधिहरूको भनाइ छ । उद्योगले किसानको भुक्तानीमा आनाकानी गरे आफूहरू किसानको पक्षमा रहेको बलरा नगरपालिकाका प्रमुख रामाशङ्करप्रसाद कुशवाहाले बताए ।