बालकको उद्धार, तीनजना अपहरणकारी पक्राउ

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

नितेश कर्ण, वीरगंज, १ माघ/
जिल्ला प्रहरी कार्यालय, सर्लाहीले अपह्त १५ वर्षीय भारतीय बालकको सफल उद्धार गर्दै तीनजना अपहरणकारीलाई पक्राउ गरेको छ ।

गत पुस २८ गते भारतीय बालकलाई बन्धक बनाइ राखेको सूचनाको आधारमा ब्रह्मपुरी गाउँपालिका–४ स्थित भारतीय सीमा क्षेत्रबाट बालकलाई उद्धार गरेर अपहरणमा संलग्न तीनजनालाई पक्राउ गरेको जिप्रका सर्लाहीले जानकारी गराएको छ ।

सो कार्यालयले अपहरणको घटना नेपाल–भारत सीमावर्ती क्षेत्रबाट भइरहेको सूचना प्राप्त भएपछि प्रहरी टोलीले विशेष निगरानी गर्दै बालकलाई सकुशल उद्धार गरेको जनाएको छ ।

प्रहरीले अपहरणमा संलग्न रहेको अभियोगमा ब्रह्मपुरी गापा–४ बस्ने रामजी साह, विक्रम पासवान र भारत बिहार मुसहर्निया बस्ने प्रवचन साहलाई पक्राउ गरेको जनाएको छ । अपहरणकारीबाट कटुवा पेस्तोल एक, गोली दुई, धारिलो हतियार (चक्कु) एक, मोबाइल फोन र भारतीय नम्बरको मोटरसाइकल बरामद भएको छ ।

पक्राउ परेका अभियुक्तलाई सर्लाही जिल्ला अदालतमा हाजिर गराएर सात दिनको न्यायिक हिरासतमा राखिएको प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए । उनले उद्धार गरिएको बालकलाई हाल प्रहरी संरक्षणमा राखिएको बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस