पर्सा एमालेले १४ वटै पालिकाको अधिवेशन गर्ने

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १ माघ/
नेकपा एमाले पर्सा जिल्लाको प्रथम सचिवालय कमिटीको बैठक अध्यक्ष डा विश्वम्भरकुमार शर्माको अध्यक्षतामा पार्टी कार्यालय मनमोहननगरमा सम्पन्न भएको छ ।

बैठकमा केन्द्रीय कमिटी सदस्य एवं पर्सा इन्चार्ज प्रभु हजरा र केन्द्रीय सदस्य अरविन्द सिंहले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि एमालेको माघदेखि चैत महीनासम्म सञ्चालन हुने तीन महीने वडा केन्द्रित पार्टी निर्माण अभियानबारे जानकारी गराएका थिए । एमालेको हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले वडा केन्द्रित अभियान शुरू गर्ने निर्णय गरेको थियो ।

यही माघ महीनाभित्र पर्सा जिल्लाका १४ वटै पालिकाको अधिवेशन र तत्पश्चात् ११२ वटा वडाको अधिवेशन गर्ने निर्णय भएको जिल्ला कमिटी सचिव महेश दासले बताए । पालिका अधिवेशन सम्पन्न गर्न क्षेत्रीय समन्वय कमिटीको बैठक आउँदो साता सम्पन्न गर्ने निर्णय भएको उनले बताए । बैठकमा प्रदेश कमिटी उपाध्यक्ष विचारीप्रसाद यादव, जिल्ला उपाध्यक्ष मनोजकुमार गुप्तालगायतको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस