प्रस, वीरगंज, १ माघ/
वीरगंज महानगरपालिका–६ आदर्शनगरस्थित सद्भाव समितिले निश्शुल्क भोजन कार्यक्रम आयोजना गरेको सातौं वर्षको उपलक्ष्यमा मङ्गलवार निश्शुल्क भोजन गराएको छ ।
गरीब, असहाय, निमुखा र दैनिक ज्याला मजदूरी गर्दै आएका व्यक्तिहरूलाई लक्षित गरेर सात वर्ष अघिदेखि प्रत्येक शनिवारका दिन आदर्शनगर चोकमा निश्शुल्क भोजन गराउँदै आएको समितिका सञ्चालक रमेश जाटियाले बताए । उनले सात वर्षमा ३३० सप्ताह पूरा गरेको जानकारी गराए ।
आज करीब एक हजार बढीलाई भोजन गराएको उनले बताए । मकर सङ्क्रान्ति पर्व भएकोले अन्य दिनको तुलनामा आज बढी मानिसले भोजन गरेको उनले बताए ।
प्रत्येक साताको शनिवार दिवाकालीन भोजनमा पाँच सयजनाले भोजन गर्दै आएको उनले बताए । दाताहरूको सहयोगमा साप्ताहिक भोजन कार्यक्रम सञ्चालन हुँदै आएको र परिवारका सबैजनाको श्रम लाग्ने गरेको उनले बताए ।