मकर सङ्क्रान्तिमा गढीमाई मन्दिरमा बोकाको बलि

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १ माघ/
बलिदानका लागि विश्वचर्चित बारा जिल्लाको महागढीमाई नगरपालिका–१ बरियापुरस्थित गढीमाई मन्दिरमा यसपटकको पञ्चवर्षीय मेलामा भाकल गरेर बलिदान बाँकी रहेकाहरूले बोकाको बलि दिएका छन् ।

पञ्चवर्षीय मेलामा भाकल गरेर छुटेकाहरूको लागि मेला आयोजना भएको वर्ष मकर सङ्क्रान्तिमा बोकाको बलि दिने र परेवा उडाउने गरिन्छ । कतिपय भाकलकर्ताले बोकाको बलि दिन्छन् भने कतिपयले परेवा उडाउँछन् । आज गढीमाई मन्दिरमा भाकलमा बोकाको बलिदान गर्नेहरूको ठूलो भीड थियो ।

मकर सङ्क्रान्तिमा बोकाको बलि दिन छुट हुनेहरूले अब फागु पूर्णिमाको दिन बलि दिन पाउँछन् भने त्यसपछि एकैपटक अर्काे पञ्चवर्षीय मेला २०८६ सालमा दिन सक्छन् । फागु पूर्णिमापछि गढीमाई मन्दिरमा बलिदान पाँच वर्षसम्म हुँदैन । आज माघेसङ्क्रान्तिको अवसरमा गढीमाई मेलामा विभिन्न धार्मिक अनुष्ठान र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको र यस वर्षको पञ्चवर्षीय मेला विधिवत्रूपमा माघ ५ गतेदेखि समापन हुने महागढीमाई नगरपालिकाका प्रमुख एवं मेला आयोजक समितिका संयोजक उपेन्द्र यादवले बताए ।

आज मेला भर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालुहरू आएका उनले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस