प्रस, परवानीपुर, २९ पुस/
माघेसङ्क्रान्तिको अवसरमा मङ्गलवार बाराको गढीमाई मन्दिरमा बोका बलि र परेवा उडाउने परम्परा जारी रहेको मेला सञ्चालक तथा व्यवस्थापन समितिले जनाएको छ ।
विगत वर्षझैं यस वर्ष पनि माघेसङ्क्रान्तिको दिन गढीमाई मन्दिरमा हजारौं भक्तजन बोका बलि तथा परेवा उडाउन आउने गरेको समितिले जनाएको छ ।
यस वर्ष माघेसङ्क्रान्तिको अवसरमा गढीमाई मेलामा विभिन्न धार्मिक अनुष्ठान र सांस्कृतिक कार्यक्रमको आयोजना हुने मेला समितिका अध्यक्षसमेत रहेका महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले बताएका छन् । मेलामा नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालुहरू आउन थालेको उनले बताए ।
माघेसङ्क्रान्ति मेलामा सुरक्षा व्यवस्थापन र भक्तजनहरूको भीड व्यवस्थित गर्न आवश्यक तयारी भइसकेको नगरप्रमुख यादवले बताए । त्यस्तै, मेलास्थलमा प्राथमिक उपचारको पनि व्यवस्था गरिएको उनले बताए ।