• सञ्जय मित्र
जीवनको लामो समय सम्पूर्ण ऊर्जासहित साहित्यमा खर्चेका तपाईं नेपाली र बज्जिका भाषाको साहित्यका एक ऊर्जावान साधक हुनुहुन्छ । जीवनयात्रालाई सार्थकता दिन स्वान्तः सुखायभन्दा आफूलाई राम्रो लागेको अरूलाई फाइदा पुग्ने साहित्यकर्ममा पनि निरन्तर क्रियाशील हुनुहुन्छ । साहित्यका विभिन्न विधामा साहित्य सिर्जना गर्नुका साथै यहाँले साहित्यकारलाई प्रोत्साहन दिने तथा तिनका साहित्यिक यात्रालाई अझ उन्नत बनाउन पनि उत्तिकै क्रियाशील हुनुहुन्छ । तपाईं आफ्नो ऊर्जाकै कारणले देश तथा विदेशमा साहित्यिक मनहरूसम्म आदरका साथ आसन ग्रहण गर्न सफल हुनुभएको छ । यो निकै ठूलो आर्जन हो र यसलाई जीवनको एउटा सफलताको सार्थकता मान्नु सर्वथा उचित देखिन आउँछ ।
आज यहाँसित दुई चार कुरा सार्वजनिक गर्न चाहन्छु । म हेटौंडामा कुराकानी साप्ताहिकको सम्पादक रहँदा साहित्यकार रमेशमोहन अधिकारी र मेरो समझदारीमा एउटा साहित्यिक स्तम्भ चलेको थियो । यसमा कुनै साहित्यकारका रचना पढेपछि तिनको नाममा चिठी लेखिन्थ्यो, सुझाव दिइन्थ्यो, आलोचना गरिन्थ्यो । पाठकीय दृष्टिकोण राख्दा साहित्यकारहरूबीच सम्बन्ध स्थापित हुन्थ्यो । सम्भवभएसम्म अर्का साहित्यकारले पनि प्रत्युत्तर, धन्यवाद वा रचनागर्भ पनि प्रेषित गर्थे । नयाँ साहित्यकारलाई यसबाट धेरै जानकारी प्राप्त हुन आउँथ्यो । यसलाई निकै रुचिपूर्वक पढ्ने काम हुन्थ्यो । यसको आफ्नै छाप रहेको थियो । अहिले जब यो पत्र लेख्दैछु, तब करीब दुई दशक पहिलेको उक्त स्तम्भको सम्झना भने आइरहेको छ ।
हरेक वर्ष तपाईंका कृतिहरू प्रकाशित भइरहेका छन् । कृतिहरू साहित्यिक तथा समालोचनात्मक, अनुसन्धानपरक, अनुवाद तथा टिप्पणी र गैरसाहित्यिक कृति पनि रहने गरेका छन् । साहित्यिक सिर्जनामा कविता, कथा, लघुकथा, गीत आदि विधा उपविधाका रहने गरेका छन् । यहाँका कविताहरू पृथक शैलीमा हुने गरेका छन् र यहाँ आफ्ना रचनालाई सोझै कहिलेकाहीं सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गर्नुभएको पनि छ । निरन्तर फुटकर रचनाहरू विभिन्न पत्रपत्रिका, अनलाइन, आफ्नै ब्लग तथा अन्य माध्यममा आइरहेका छन् । यहाँका रचनामाथि प्रतिक्रिया आउँछन्, सामाजिक सञ्जालको स्टेटसमाथि पनि प्रतिक्रियाहरू आउँछन् । यस्ता प्रतिक्रियाहरूका साथै पुस्तक र रचनाको अन्य किसिमले समीक्षा हुँदा यहाँलाई पनि उत्साह लागेको हुुनुपर्छ, जाँगर बढेको हुनुपर्छ र नयाँ सिर्जनाको लागि प्रोत्साहन गरेको हुनुपर्छ । यद्यपि यहाँ यस्तो उचाइमा पुगिसक्नुभएको छ कि यहाँलाई प्रोत्साहन दिंदा मात्र प्रोत्साहित हुने वा कसैले कुनै प्रतिक्रिया नै दिएनन् भने हतोत्साहित हुने हुनुहुन्न । आफ्नो कर्ममा तन्मयताका साथ जुटिरहन यहाँलाई कसैले भनिरहनुपर्दैन होला । यहाँको अभ्यन्तरमा विराजमान साहित्यसेवाको भावनाले दिइरहेको ऊर्जाबाट आफैं आलोकित भई आफैं ऊर्जावान् बनिरहेको दुनियाँले देखिरहेको छ ।
तपाईंको एउटा कार्य अत्यन्त स्तुत्य छ । अन्यथा नलिनुहोला । तपाईंले स्रष्टा साँझ अमेरिकामार्फत लगभग हरेक हप्ता कुनै एक कृतिको सार्थक परिचर्चा कार्यक्रम जो सञ्चालन गरिरहनुभएको छ, यसले सर्जक, पाठक तथा श्रोता र परिचर्चामा सहभागी सबैलाई विधा, विषय, कृति तथा विधाका तŒव र अन्य क्षेत्रमा पारङ्गत बनाउने काम गरिरहेको छ । सबैभन्दा बढी लाभान्वित कृतिकार भइरहेका छन् । कृतिकारसँगै नवसर्जक वा जिज्ञासु सर्जकहरूले अत्यन्त फाइदा लिइरहेका छन् । आफूलाई खारिरहेका छन् । यसको अप्रत्यक्ष फाइदा यो पनि देखिएको छ कि धेरै सर्जकको अन्य सर्जकहरूसित चिनजान भइरहेको छ । साहित्यिक प्रवृत्ति तथा विधागत पहिचान गराउन पनि यसले सफल भइरहेको छ । तपाईंलाई लाग्ला, मैले सुरुआत गरिसकेको छु, यस कारण कर्मकाण्डीय शैलीमा यसलाई पूरा गर्दा पनि केही हुँदैन तर कसैलाई यो कर्मकाण्डीय लागेको छैन । यसमा तपाईंले गरिरहेको परिश्रमले सबैलाई सोच्न नै लगाउँछ, परिश्रम गर्न लगाउँछ । तपाईंको कार्यक्रमले सहभागी सबैलाई केही न केही दिएरै पठाउँछ ।
कार्यक्रमको कति शृङ्खला पुग्यो ? यो तपाईंलाई पनि थाहा नहोला । निष्काम कर्म गर्नेलाई यस्ता गिन्तीका कुरादेखि के मतलब ? कार्यक्रम कहिलेदेखि शुरू भयो ? ठ्याक्कै तिथिमिति पनि तपाईंलाई सम्झना होला नहोला । कार्यक्रम कुन उद्देश्य लिएर पहिलोपटक आरम्भ गरिएको थियो होला ? यस्ता कुरामा तपाईंलाई पनि अहिले मतलब नहोला र जो सहभागी हुन्छन् र कार्यक्रमलाई उपलब्धिमूलक भनी ठान्छन्, तिनीहरूलाई पनि नहुन सक्छ । हरेक शृङ्खलालाई विशेष बनाउन तपाईंले खेलिरहनुभएको भूमिकाले यो स्पष्ट पार्छ कि यो कार्यक्रम आफैंमा महŒवपूर्ण भइरहेको छ । साँच्चि, तपाईं त्यस जूम मिटिङमा अहिलेसम्म खर्च गर्नुभएको सबै समयलाई एक ठाउँमा हिसाब गर्नुस् त कति समय बचत गर्नुभएको छ ? एउटा मिटिड्ढा लागि मिटिङ कम्तीमा एक घण्टा अतिरिक्त काम गरिरहनुभएको पनि यसमा थप्नुहोला । मलाई लाग्छ, त्यसका लागि तपाईंले खर्च गर्नुभएको समय सङ्ग्रहले कैयौं महाकाव्य लेखिन सक्छ, कैयौं उपन्यास सिर्जना हुन सक्छ र कैयौं अनुुसन्धानात्मक समालोचनात्मक ग्रन्थहरू सिर्जना हुन सक्छन् । यसको मूल्य यत्तिमैं सीमित छैन । जुन चेतनाको विस्तार भएको छ, उक्त चेतनाले दिने प्रतिफल चाहिं कुन लिटर वा मिटरमा नापिन्छ ? सिर्जनामा सुधारको दूरीले कुन हिमालय आरोहण गरिरहेको छ भन्ने तथ्यलाई कसैगरी पनि नाप्न सजिलो हुँदैन, विश्वराज सर ।
आदरणीय विश्वराज सर, मैले फुर्काउन खोजेको होइन तर तपाईंकै शब्दावलीमा कहिलेकाहीं सम्बन्धित व्यक्तिको प्रशंसा गर्दा आत्मसन्तोष प्राप्त हुन्छ र अझ अगाडि बढ्ने पे्ररणा प्राप्त भइरहन्छ । यो कुरा कहिलेकाहीं मलाई पनि राम्रो लाग्छ । कहिलेकाहीं कुन अर्थमा भने तपाईंले भनेजस्तै म तेस्रो विश्वमा छु । मेरो ठाउँ वा जिल्ला चाहिं देशकै सबैभन्दा बढी निरक्षरता दर भएको जिल्ला हो । यहाँ शिक्षित मानिसको सङ्ख्या कति नै होलान्, जो इमानदारीपूर्वक समाजको लागि सोच्छ र यस समाजमा नै बसेर जीवनयापन गर्छ । साहित्यको क्षेत्रमा मैले भोगेको कुरो यस सन्दर्भका दृष्टान्तार्थ प्रस्तुत गर्दैछु । एक/दुई जनालाई प्रोत्साहन गर्न खोजें, निकै राम्रो भनेर सहयोग गरें । नाम कमाउने क्षेत्रमा आफू पछाडि रहेर अगाडि बढाएँ तर के देखियो भने कतिपय ठाउँमा त मेरै आलोचना गर्न थाले । यतिसम्म पनि एकजनाले भने कि तिनले नै निर्देशन गरेर म केही लेख्छु, अन्यथा मलाई त्यो आउँदैन । उनको नाम आजभोलि कुनै पत्रपत्रिकामा छापिंदैन र साहित्यिक कार्यक्रममा पनि अनुहार देखिंदैन । अर्का एक पात्र छन्, जसको नाम पहिलोचोटि मैले नै पत्रिकामा छापेको थिएँ, निरन्तर अगाडि बढाउने काम गरेको थिएँ । उनमा मेरो श्रम, समय, मानसिकता तथा केही हदसम्म अर्थको पनि लगानी थियो । एउटा राम्रो कार्यक्रममा सहभागिताको लागि अवसर दिने बन्दोवस्त उनलाई थाहा नै नदिई मिलाएँ । त्यहाँ गएर उनले मेरो धुवाँधार विरोध गरेको आफैंले सुनें । म त्यहाँ छु भन्ने उनले चालै पाएका थिएनन् । समयको खोलो बगिरहन्छ । अहिले उनलाई चिन्न पनि छाडिसके । यी दुई पात्रको नाम उल्लेख गरिनँ तर यहाँले राम्ररी चिनेको तथा अहिले तपाईंले पनि बिर्सिइसकेको हुुनुपर्छ ।
तपाईंले जूम प्रविधिमार्फत नेपाली साहित्यलाई विश्वव्यापी पु-याउन तथा विश्वका विभिन्न देशमा रहेका सर्जकलाई एउटा मञ्च दिन खेलिरहनुभएको भूमिका तथा यसमार्फत नेपाली साहित्यलाई पुगिरहेको योगदानको स्वस्फूर्त खासै चर्चा भइरहेको पाइँदैन । तपाईंले गरिरहेको यस साहित्य सेवाबाट कोही गौरवान्वित पनि भइरहेको यहाँलाई अनुभव हुनुपर्छ । जसको कृतिको परिचर्चा हुन्छ, उनले त सम्मान पाइरहेका हुन्छन्, वास्तवमा यो वास्तविक सम्मान नै हो । कृतिको पठन विद्वत्जनबाट हुन्छ, विश्लेषण विद्वान्हरूले गर्छन् । यसबाट कृतिको कमीकमजोरी मात्र सार्वजनिक हुँदैन, अपितु लेखनको लागि बलियो मार्गनिर्देश पनि हुन्छ । कृतिको चर्चा विश्वको कुनाकुनासम्म पुग्छ । परिचर्चामा सहभागी हुनेले उक्त कृतिबारे आफ्नो स्थायी धारणा बनाउन सफल हुन्छन् । एउटा कार्यक्रमको तयारी, सञ्चालन तथा समयमा समापन गर्न शारीरिक तथा मानसिकरूपले भइरहेको तपाईंका सबै किसिमको व्ययलाई कहाँबाट कसरी पो मूल्याङ्कन सम्भव होला ?
तपाईंले पछिल्लो समयमा बज्जिका भाषाको कार्यक्रम पनि शुरू गर्नुभएको छ । यसलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाउनुभएको छ । बज्जिका मातृभाषी पनि करोडौंको सङ्ख्यामा छन् । भारतमा पनि तपाईंको कार्यक्रमको निकै सम्मान छ, बज्जिका साहित्यकारहरूमा । कार्यक्रमको समाचार सयभन्दा बढी शेयर पाउँछन्, मिडियाबाट । बज्जिकाको समाचार भएकोले मात्रै शेयर भएको पक्कै होइन, बज्जिकासेवी अधिकारीले सात समुद्रपारिबाट गरेको सेवाको सम्मान भएको हो । बज्जिका भाषाको साहित्यलाई विश्वव्यापी बनाउने अभियानको यो अङ्गको सार्थकताले तपाईंको सम्मानमा उच्च वृद्धि गरेको छ । तपाईंको कार्यक्रमले बज्जिकाको पनि सम्मान बढेको बज्जिका साहित्यकार तथा भाषासेवीहरूले अनुभूति गरिरहेका छन् । सहभागी हुन नसक्नेले जब समाचारबाट थाहा पाउँछन्, तब तिनलाई भएको पछुतो रोक्न नसकेर आफूलाई नै आलोचना गर्न पुगेको सुनिन्छ । बज्जिका भाषामा शुरू गर्नुभएको यस यात्राले तपाईंको जीवनको एउटा उद्देश्यमा अझ नजीकको सहायक बन्ने विश्वास रहेको छ ।
एक अध्यापक र घरमूलीको हैसियतको सम्पूर्ण भूमिका निर्वाह गरेर तपाईंले गरिरहेको जूम प्रविधिको यो साहित्यिक पत्रकारिता कोरोनाकालमा निकै मौलाएको थियो तर अहिले भने ती सब खहरेको भेलझैं सुकेका छन् । निकै कम मात्र चलेका छन् । तपाईं तिनै कममा पर्नुहुन्छ ।
तपाईंको प्रगाढ दृढता, अविराम लगनशीलता तथा स्तुत्य कर्मठतालाई उच्च सम्मान गर्दै अहिलेलाई पत्र लामो हुन लागेकोले आफूलाई रोक्न चाहन्छु । तपाईंको जीवन लक्ष्यमाथि पाइला टेक्ने बन्न सकोस् । जय साहित्य ।तपाईंको कर्मलाई कदर गर्ने एक आम मनुवा ।
अत्यन्तै मननीय पत्र। र सर्जकको वास्तविकता पनि उजागर भएको छ। कतिपय सर्जक कसरी सिँढी चढेपछि अचम्म सँग पुरस्कृत हुन्छन् भन्ने पाटो पनि समेटेको भए अझ चोटिलो हुने थियो। अझ आजभोलि मौलाएको तीतो यथार्थ कोही प्रेमी ले प्रेमिका लाई र प्रेमिका ले प्रेमी लाई दुईचार रचना लेखेकै आधार मा प्रसंशा पुरस्कार र सम्मान गर्ने प्रवृत्ति। जुनसुकै साहित्य का कार्यक्रम होस्। साहित्यिक बजेट या ढुकुटी आयोजक कै पनि व्यक्तिगत हुँदैन।वतर व्यक्तिगत खर्च गरिएको देखिन्छ। राष्ट्र का कुनाकुना मा रहेका साहित्य साधक साहित्य सेवक लाई सुइको सम्म नदिई चिया कफिको टेबल मा रस कमाएर साहित्यकार बनिएका हरूको मात्रै जमघट गरेर साहित्य को बजेट वितरण गरिन्छ । सम्मान को नाममा पुरस्कार को नाममा र योगदान कदरपत्र को नाममा । यो कुरा नबुझेको कोही छैन तर आठौँ आश्चर्य देखे सुने झैँ अनविज्ञता प्रकट गर्छन् सबै। वास्तविक लेखक को अपमान पनि यथेष्ट छ तर मुकदर्शक हामी मौन छौँ । मिथ्या वकालत मा हाजिर छौँ । सच्चा साधक ओझेल मा मुस्कुराइरहेका छन् किन कि उहाँ हरू लाई चर्चा कमाउनु छैन साधना गर्नु छ।