• बैद्यनाथ श्रमजीवी

हाम्रो समाजमा कतिपय मानिसलाई बुद्ध दर्शन भौतिकवादी दर्शन हो जस्तो भ्रम परेको देखिन्छ । वास्तवमा बुद्ध दर्शन भौतिकवादी दर्शन होइन । यो केवल नास्तिक दर्शन हो । यस्तोमा अब यो प्रश्न उठ्न स्वाभाविक हुन जान्छ कि नास्तिक दर्शन भनेको के हो ? र भौतिकवादी दर्शन भनेको के हो ? अर्थात् नास्तिक दर्शन र भौतिकवादी दर्शन वा अध्यात्मवादी दर्शनमा के फरक छ ? आउनुस् यसबारे थोरै छलफल गरौं ।

दक्षिण पूर्व एशियामा कस्तो दर्शनलाई नास्तिक दर्शन भनिन्छ ? यसबारे विचार गर्दा धर्मसम्बन्धी वेदमा अथ्र्याइएका सिद्धान्तलाई जस्ताको तस्तै नमान्नेलाई नास्तिक दर्शन भनिन्छ । अतः चार्वाक, जैन र बौद्ध दर्शनलाई वैदिक सिद्धान्तभन्दा भिन्न मानिन्छ । यसर्थ बौद्ध, जैन र चार्वाक दर्शनलाई नास्तिक दर्शन भनिन्छ ।

यसरी पूर्वीय दर्शनमा भएको आठवटा दर्शनमध्ये बाँकी पाँच वटा न्याय दर्शन, वैशेषिक दर्शन, योग दर्शन, मीमांसा दर्शन र वेदान्त दर्शनलाई आस्तिक दर्शन मानिन्छ । यिनले वैदिक सिद्धान्तका आधारमा जगत्को व्याख्या तथा विश्लेषण गर्छन् । त्यसैगरी द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई भौतिकवादी दर्शन मानिन्छ । यो दर्शनले एकातिर अध्यात्मवादी दर्शनलाई सम्पूर्णरूपमा खारेज गर्दछ भने नास्तिक दर्शनभन्दा अलि माथि उठेको छ । यसले मानवतावाद तथा प्रकृतिमैत्री व्यवहारको जगमा पूर्णतः वैज्ञानिक विचार आत्मसात् गर्दछ ।

पूर्वीय दर्शन भन्नाले खासगरी पूर्वी तथा दक्षिण एशियामा उत्पत्ति भएका दर्शनहरूलाई जनाउँदछ । यसमा चिनियाँ, जापानी, कोरियाली, भियतनामी दर्शन पनि पर्दछन् । खासगरी भारतवर्ष भनेर चिनिने दक्षिण एशिया क्षेत्रमा उत्पत्ति भएका हिन्दू दर्शन, जैन दर्शन र बौद्ध दर्शन बढी प्रभाव भएका पूर्वीय दर्शनहरू हुन्, जसको ठूलो प्रभाव दक्षिण एशियाका अलावा दक्षिणपूर्वी एशिया, तिब्बत र मङ्गोलियामा समेत छ । युरोपीय महाद्वीपभन्दा पूर्वका दार्शनिकहरूको चिन्तन भएको हुनाले यस क्षेत्रका दार्शनिक चिन्तनलाई पूर्वीय दर्शन भनिएको हो । खास गरेर हिमवत्खण्ड तथा यसका दक्षिणी भेगका दार्शनिक चिन्तन नै पूर्वीय दर्शनका रूपमा स्थापित भएका हुन् । पूर्वीय दर्शनमा दुईथरी अर्थात् आस्तिक र नास्तिक दर्शन भनी विभाजन गर्ने गरिन्छ ।

आधुनिक विज्ञान तथा प्रविधिको विकासका उपलब्धिले मानवीय विवेक र चिन्तन धारा हिजोको तुलनामा आज निकै विकसित र तिख्खर बनेको छ । हिजोका अन्धविश्वासका पहाडहरू एकएक गरी विज्ञानको आलोकमा भत्किंदै छन् । यस अर्थमा प्रायः संसारमा सबै मानिस अन्धविश्वास छोड्दै भौतिकवादतिर आकर्षित हुँदैछन् । भौतिकवाद भनेको भौतिक सुख–सुविधामा मात्रै रमाउने होइन, वास्तवमा भौतिकवाद भनेको संसारलाई बुझ्ने र व्याख्या गर्ने तथा फेर्ने कुरा–पदार्थहरू भित्रको द्वन्द्वात्मक र भौतिकतालाई ऐतिहासिकरूपमा केलाएर त्यसको नियमको आधारमा बुझ्ने र विश्लेषण गर्ने र सोही आधारमा फेर्नतिर लाग्ने हो । तर अझै पनि संसारका प्रायः सबै अध्यात्मवादी दर्शनले (धर्म–संस्कृति) जीवन र जगत्को सारतŒव मनन गरेर अन्धविश्वासको एकपक्षीय काल्पनिकता अनुसरण गर्न प्रेरित गर्छन् । पूर्वीय दर्शनले शून्यवादलाई विशेष जोड दिएको छ ।

संसारका हरेक वस्तु क्षणभङ्गुर वा नाशवान् छ । मायाको बन्धन तोडेर मात्र महाशून्यको बोध (ईश्वरसँग एकाकार) गर्न अर्थात् मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने वेदान्त दर्शनको निचोड हो । तर जगत्को कुनै पनि वस्तुको अस्तित्व स्थिर छैन, यसको शाश्वत स्वभाव नै गतिशील र परिवर्तनशील हुन्छ भन्ने अनित्यवादी सिद्धान्तलाई पछिल्लो कालमा विकसित बौद्ध दर्शनहरूले केन्द्रीय आधार मानेका छन् । जसले गर्दा यो दर्शन भौतिकवादी हो कि भन्ने भ्रम सजिलै पर्ने गरेको छ ।

हुनत पूर्वीय सभ्यताको आलोकको रूपमा गौतम बुद्ध विश्वमैं सम्मानित छ । पूँजीवादी व्यवस्थाको यो चरणसम्म मानव समाज आइपुग्दा नैतिकता र इमानदारी पूर्णतया गुमिसकेको आजको अवस्थामा अहिंसावादी बौद्ध दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको छ । वास्तवमा भारतीय दर्शनको निचोडमा मोक्षको बाधक र बन्धनको कारण नै दुःख हो भन्दै दुःखको अस्तित्वलाई सबै दर्शनले स्विकारेका छन् । तर दुःखको कारणबारे यी दर्शन एकमत छैनन् । वेदान्त दर्शनले जीवन र जगत्लाई माया अर्थात् भ्रम मानेको छ । अविद्या अर्थात् अज्ञानताको कारण नै जीव बन्धनमा पर्छ । अविद्याको नाश अर्थात् ज्ञान प्राप्तिबाट नै साधकले जन्म–मृत्युको चक्र भेदन गरेर मोक्ष प्राप्त गर्छ भन्ने वेदान्त दर्शनको सार छ । तर बौद्ध दर्शनमा भने वेदान्त दर्शनको यस तर्कलाई फरक दृष्टिकोणबाट व्याख्या गरिएको छ । बौद्ध दर्शनमा जीवनको बन्धनको कारण तृष्णा हो र तृष्णाको अन्त्यबाट नै साधकले निर्वाण प्राप्त गर्छ भन्ने वचनलाई सरल तरीकाले विवेचन गरिएको छ ।

संसारमा दुःख छ, दुःखको कारण छ, दुःखको अन्त्य सम्भव छ र दुःखको अन्त्य गर्ने उपाय छन् भन्ने शाश्वत चिन्तनको व्याख्या गर्ने क्रममा द्वितीय आर्य सत्य अर्थात् दुःखको कारण छ भन्ने आप्त वचन नै प्रतीत्य–समुत्पादको भावार्थ हो । यसरी दुःखको कारण तृष्णालाई बताएर वास्तविकरूपमा राजसत्ताबाट ठगिएको र त्यहाँबाट लादिएको दुःखहरूलाई अर्कै दिशामा मोडिएको कुरा भक्तहरूले बुझ्न सकेका छैनन् यसरी धर्मले राजनीतिलाई पृष्ठपोषण गर्दै आएको छ । नास्तिकहरूले वर्ग सङ्घर्षको सिद्धान्तलाई पूर्णरूपेण नकार्ने गर्छन् । तर भौतिकवादले वर्ग सङ्घर्षलाई नकार्दैन, बरु ठीक उल्टो भौतिकवादले वर्ग सङ्घर्षबाट नै समाजको सबै दुःखको समाधान निकाल्न सकिने बहस उठान गर्दछ ।

नास्तिक दर्शनले प्रत्येक व्यक्तिको पारिवारिक तथा सामाजिक समस्यालाई व्यक्तिगतरूपमा पहले गरेर समाधान गर्न सिकाउँछ, जुन वास्तवमा गलत हो । सामाजिक समस्याको समाधान व्यक्तिगत हिसाबले कहिल्यै समाधान हुन सक्दैन । समाजमा घर–परिवार वा व्यक्तिको समस्या भनेको वर्गीय समस्या हो, त्यसैले यसको समाधान पनि वर्ग सङ्घर्षबाट मात्र सम्भव छ भन्ने निष्कर्ष निकाल्छ ।

यसमा कुनै शङ्का छैन कि बौद्ध दर्शन पूर्वीय दर्शन अन्तर्गतको नास्तिक दर्शन हो । पूर्वीय दर्शन जगत्मा यसलाई अत्यन्तै महत्वपूर्ण रूपमा हेरिन्छ । आधुनिक कालमा पनि बौद्ध दर्शनको प्रभाव सबैतिर देखिन्छ । यसबाट यसका प्रवत्र्तक बुद्धको महत्व प्रसिद्ध भएको पाइन्छ । बौद्ध दर्शनको चिन्तन दुःख निवृत्तिको मुख्य साधन हो । यो दर्शनले दुःखलाई परिभाषित गर्नुका साथै दुःखका कारण बताएर त्यसबाट मुक्तिको मार्ग खोज्ने प्रयास गर्दछ । यो दर्शन व्यावहारिकतामा आधारित छ । यसले मध्यम मार्गको अनुसरण गरी व्यक्तिलाई निर्वाण प्राप्ति गर्ने मार्ग खोज्न प्रेरित गर्छ ।

बौद्ध दर्शनले जीव र जगत्लाई अनित्य र क्षणिक मान्दछ । बुद्ध दर्शन अनिश्वरवादी, क्षणिकवादी, अनात्मवादी, यथार्थवादी र प्रतित्यसमुत्पादी दर्शन हो । बौद्ध दर्शनको मूल सिद्धान्त अनुसार यो ब्रह्माण्ड परिमाणशील छ, वस्तुजगत् र मानसिक जगत दुवैको सत्ता छ, आत्मा–परमात्माको आध्यात्मिक सत्ता छैन, मानिस पञ्च–स्कन्ध (रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान) को संघात मात्र हो, मानिसको विकास बाह्य र आन्तरिक क्रियाहरूद्वारा हुन्छ, मानव जीवनको अन्तिम उद्देश्य निर्वाण प्राप्ति हो, निर्वाणको लागि अष्टाङ्ग मार्ग (सम्यक – दृष्टि, सङ्कल्प, वचन, कर्म, आजीविका, व्यायाम, स्मृति र समाधि) आवश्यक हुन्छ ।

अष्टाङ्ग मार्गमा हिंड्नका लागि त्रिरत्न (शील, समाधि र प्रज्ञा) आवश्यक हुन्छ । राज्यको नेतृत्को मूल कर्तव्य प्रजाको पालन र उनीहरूलाई सत्य मार्गमा लगाउनु हो, आदि हुन आउँछ । बुद्ध दर्शनले विश्वका समस्याहरूको सूक्ष्मतापूर्वक, तार्किक ढङ्गले तथा मानव मूल्यहरूको आधारमा अध्ययन गरेर त्यसको समाधानका नियम र मार्ग पत्ता लगाउने प्रयास गरेको छ । यो दर्शनले अन्धविश्वास र अन्धकार चिर्ने भरपूर कोशिश गरेको छ ।

हामी सबैलाई थाहा छ इस्वी पूर्व ५६३ –४८३ कपिलवस्तु भन्ने ठाउँमा अहिलेको बुद्ध (सिद्धार्थ) जन्मेका थिए । गौतम बुद्ध यो संसारको सृष्टिकर्ता होइनन्, न उनी भगवान् नै हुन् । उनी इतिहासका सर्वाधिक लोकप्रिय व्यक्तित्व र तार्किक ज्ञानमार्गका सूत्राधार हुन् । बुद्धका अनुसार यस सृष्टिमा जो कोहीले बुद्धत्व प्राप्त गर्न सक्छ । बुद्ध साधारण व्यक्ति थिए । उनले केवल राम्रा विचारको पालनपोषण गरे र खराब विचार त्यागिदिए । उनले समग्र मानव जीवनमा सुख, शान्ति प्राप्त गर्न र दुःखबाट मुक्तिको लागि जीवनका सबै सुख–सुविधा त्याग गरे । यही त्याग, तपस्या, सङ्कल्प र समर्पणले सिद्धार्थलाई बुद्ध बनायो । बुद्धले संसारको कल्याणको लागि व्यावहारिक दर्शनको उपदेश दिए ।

संसार दुःखले भरिएको कुरा बुझेपछि यसलाई उनले सार्वभौम समस्याको रूपमा हेरे । त्यसपछि उनी यसको निदानका लागि छटपटिए । परिणामस्वरूप उनी आफैंले सबभन्दा पहिले सम्पूर्ण इन्द्रिय सुख त्याग गरी सामान्य व्यक्तिको रूपमा सत्यको खोजमा निस्किए । गृहत्याग गर्दा उनको उमेर २९ वर्ष थियो । शुरूमा उनले पाँचजना साथीहरूसँग कठोर शारीरिक तपस्या गरे तर पछि कम कठोर शारीरिक तप गरे । त्यसपछि उनले तृष्णा, राग र द्वैषमाथि विजय प्राप्त गरे । अब उनले अस्तित्वका रहस्यहरू, व्यक्ति, सम्पूर्ण जगत् र यसको सञ्चालन प्रक्रिया आदिबारे ज्ञान प्राप्त गरे । उनले समस्याले ग्रसित जगत्को लागि र दुःखको अन्त्यको लागि चार आर्य सत्य र अष्टाङ्ग मार्गको दर्शन प्रतिपादन गरे ।

त्यसैगरी उनले समस्त जगत् र मानव कल्याणको लागि विभिन्न दार्शनिक ज्ञान प्रवाह गरे, जसले गर्दा उनी मानवता र मानव जातिको प्रगतिको एउटा निश्चित कालखण्डमा उच्च प्रेरणा बन्न पुगे । उनका अनुसार बुद्ध मार्गमा भिक्षु र भिक्षुणीहरूले दैनिक जीवनमा कुन–कुन नियम पालना गर्नुपर्छ भन्ने कुरा बताए । विनय पिटकलाई व्यवस्थितरूप दिए । विनय पिटकमा २५०० वर्षको पूर्ण सभ्यता र संस्कृतिको इतिहाससमेत देख्न सकिन्छ । भिक्षु र भिक्षुणीहरूका लागि उल्लिखित नियमका साथै यो पुस्तकले सम्पूर्ण मानवताका लागि ती अमूल्य जीवन–मूल्य संरक्षित गरेको छ, जसले आज र भोलि पनि भौंतारिएको मानवलाई मार्गदर्शन गरिरहने छ । सुत्तपिटक पनि बौद्ध दर्शनको ग्रन्थ हो । यसलाई सबभन्दा महत्वपूर्ण पिटकको रूपमा लिने गरिन्छ । यसमा बौद्ध धर्मका सबै मुख्य सिद्धान्तहरू स्पष्ट पारिएको छ । यो त्रिपिटकका तीन भाग मध्ये एक हो ।

सुत्तपिटकमा पनि बुद्धका सिद्धान्तहरू सङ्कलन गरिएको छ । सुत्तपिटकलाई ५ निकायमा विभाजन गरिएको छ । जस अनुसार दीघ निकाय, मज्झिम निकाय, संयुत्त निकाय, अंगुत्तर निकाय र खुद्दक निकाय पर्दछ । यसमा साना–साना कथा, गद्य संवाद, आदि पाइन्छ । सुत्तपिटकमा लगभग १०००० भन्दा बढी सूत्र रहेका छन् । सुत्तपिटकको खुद्दक निकायको एक ग्रन्थ धम्मपद धेरै मानिसले पढ्ने गरेको पाइन्छ । धम्मपद सुत्तपिटकको खुद्दक निकायको अंश हो । धम्मपद अन्तर्गत २६ खण्ड र ४२३ श्लोक रहेका छन् । यो सुत्तपिटकको सबैभन्दा सानो निकाय ‘खुद्दक निकाय’ को १५ भाग मध्ये एक हो । त्यसैगरी अभिधम्म पिटकमा ७ ग्रन्थ छन् । जस अनुसार धम्मसंगनी, विभंग, पुग्गलपंजति, कथावत्थु, यमक र पट्ठान पर्दछ । अभिधम्मपिटकमा धर्म, दर्शन र त्यसका क्रियाकलापहरूको व्याख्या पाण्डित्यपूर्ण तरीकाले गरिएको छ । यसमा विभिन्न दार्शनिक समस्याहरूको विवेचना पाइन्छ । त्रिपिटकले बुद्धको समयको राजनीति, अर्थ व्यवस्था, सामाजिक संरचना, शिल्पकला, सङ्गीत आदिको पनि वर्णन गर्दछ । त्यसकारण पनि त्रिपिटकको सम्पूर्ण हिसाबले महत्वपूर्ण स्थान रहेको देखिन्छ ।

कारण सिद्धान्तको रूपमा प्रतीत्यसमुत्पादले दुःखको कारणको खोजी गर्दछ । यसमा दुःखका कारणहरूको बाह्र शृङ्खला प्रस्तुत गरिएको छ, जसलाई द्वादस निदान भनिन्छ । द्वादस निदान प्रतीत्यसमुत्पादको आधारमा दुःखका कारणहरूको तार्किक खोजी हो । यी बाह्र शृङ्खलाहरूमा अविद्या, संस्कार, विज्ञान, नामरूप, षडायतन, स्पर्श, वेदना, तृष्णा, उपादान, भव, जाति र जरामरण पर्दछ । यसरी प्रतीत्यसमुत्पादले मानव जीवनका तीनै काललाई जोड्द छ । अविद्या र संस्कार अतीत जीवनसँग, जाति र जरामरण भविष्यको जीवनसँग तथा बाँकी आठ वर्तमान जीवनसँग सम्बन्धित छन् ।

प्रतीत्यसमुत्पादले तीनैलाई जोडेर कर्मवादको स्थापना गर्दछ । यस अनुसार मानिसको वर्तमान जीवन उसको पूर्ववर्ती जीवनको कर्महरूको परिणाम हो तथा भविष्यको जीवन वर्तमान जीवनको कर्महरू अनुरूप हुन्छ । त्यसैले मानिसले आप्mनो सङ्कल्पबाट भविष्यको जीवनलाई शुभ बनाउँद छ । प्रतीत्यसमुत्पादको यो नियम अटल छ र संसारका सबै प्राणीहरू यसबाट सञ्चालित छन् । प्रतीत्यसमुत्पाद अन्तर्गत बाह्र शृङ्खलाका तीनकाल अनुसार अतीत जीवनमा अविद्या र संस्कार पर्दछ । अविद्या भनेको अज्ञान हो र प्रायः चार आर्य सत्यको अज्ञान नै अविद्या हो । दुःखको नाशको लागि यसको नाश आवश्यक हुन्छ । अविद्या प्रतीत्यसमुत्पाद चक्रको प्रथम अङ्ग हो र यही नै यो चक्रको प्रथम कारण पनि हो ।

अविद्या अनादि छ तर शान्त छ । अविद्या सम्पूर्ण दुःखको मूल कारण हो र यसको नाश विद्याद्वारा वस्तुहरूको वास्तविक र यथार्थ ज्ञानबाट हुन्छ । अवास्तविक वस्तुलाई वास्तविक ठान्नु, दुःख उत्पन्न गर्ने वस्तुलाई सुख उत्पन्न गर्ने ठान्नु, आदि अविद्याका प्रतीक हुन् । वस्तुहरूको वास्तविक र यथार्थ स्वरूप नजान्दा अविद्या संस्कारको जन्म हुन्छ । संस्कारको कारण अविद्या हो । संस्कार भनेको सञ्चित कर्म हो । पूर्व प्रवृत्तिको रूपमा संस्कारलाई बुझिन्छ । अतीत जीवनका कर्महरूको प्रभावका कारण नै संस्कार निर्मित हुन्छन् । कार्य संस्कार, वाक संस्कार र मन संस्कार गरी संस्कार तीन प्रकारका हुन्छन् ।

कार्यसंस्कारमा शरीर प्रधान, वाक संस्कारमा वचन प्रधान र मन संस्कारमा मन प्रधान हुन्छ । संस्कारबाट विज्ञान निर्मित हुने भएकोले विज्ञानको कारण संस्कार हो । त्यसैगरी वर्तमान जीवन अन्तर्गत विज्ञान, नामरूप, षडायतन, स्पर्श, वेदना, तृष्णा, उपादान र भव पर्दछ । विज्ञानको आशय चेतनासँग हुन्छ । यो जीवनको त्यो अवस्था हो, जहाँ प्राणीले माता–पिताको गर्भमा प्रवेश गर्दछ र चेतना प्राप्त गर्दछ । अर्थात् गर्भावस्थामा प्राप्त चेतनालाई विज्ञान भनिन्छ । यसको कारण ती चित्त धाराहरू हुन्, जसले कुशल र अकुशल कर्महरूको स्वरूप प्रकट गर्दछ । नामरूपको कारण विज्ञान हो । नामरूप भनेको मनसँग गर्भस्थ शरीर हो । यसको अभिप्राय भ्रुणको मानसिक र शारीरिक अवस्थासँग हुन्छ ।

मन र शरीर समूहलाई नामरूप भनिन्छ । नाम र रूप गरी यसमा दुई शब्द हुन्छन् । रूपमा पृथ्वी, जल, तेज र वायु गरी चार महाभूत पर्दछन् भने नाममा संज्ञा, वेदना, संस्कार र विज्ञान आउँदछ । यी पाँचैलाई संयुक्त रूपमा पञ्चस्कन्ध भनिन्छ । पञ्चमहाभूत र पञ्चस्कन्ध दुवैलाई मिलाएपछि नामरूप हुन्छ । षडायतनको कारण नामरूप हो । आँखा, नाक, कान, जिभ्रो, छाला र मन गरी छ इन्द्रियहरू नै छ आयतन वा षडायतन हो । स्पर्शको कारण षडायतन मानिन्छ । इन्द्रिहरूको विषयसँग संयोग हुँदा स्पर्श हुन्छ । वेदनाको कारण स्पर्श हो । सुख–दुःखको अनुभूतिलाई वेदना भनिन्छ । इन्द्रिय तथा मनको बाह्य वस्तुसँग सम्पर्क हुँदा जुन अनुभूति हुन्छ, त्यसलाई वेदना भनिन्छ ।

सुखरूप, दुःखरूप र उदासरूप गरी वेदना तीन प्रकारका हुन्छन् । तृष्णाको कारण वेदना हो । विषयहरूप्रति आसक्तिलाई तृष्णा भनिन्छ । इन्द्रियहरूबाट प्राप्त सुखानुभूतिप्रति लालसा तृष्णा हो । सुखप्रतिको आसक्ति तृष्णा हो । काम तृष्णा (इन्द्रिय सुखको इच्छा), भव तृष्णा (जीवित रहने इच्छा) र विभव तृष्णा (धन सम्पत्तिको इच्छा) गरी तृष्णा तीन प्रकारका हुन्छन् । उपादानको कारण तृष्णा हो । उपादान भनेको जगत्का वस्तुहरूप्रति राग र मोह हुनु हो । यो तृष्णाको बहुलता हो । कामोपादान (कामवासनामा लिप्त रहनु), दृष्टयुपादन (मिथ्या सिद्धान्तमा विश्वास गर्नु), शीलव्रतोपादान (व्यर्थको शीलाचारमा लागिरहनु) र आत्मावादोपादान (आत्माको अस्तित्वमा दृढ आग्रह गर्नु) गरी उपादान चार प्रकारका हुन्छन् । भवको कारण उपादान हो । भव (अस्तित्व) भनेको जन्म ग्रहण गर्ने इच्छा हो । उत्पत्तिभव र कर्मभव गरी यो दुई प्रकारको हुन्छ । जातिको कारण भव हो ।

भविष्यको जीवनसँग सम्बन्धित शृङ्खला जाति र जरामरण हो । जाति भनेको जन्म लिनु अर्थात् शरीर धारण गर्नु हो । जरामरणको कारण जाति हो । जरामरण भनेको दुःखको प्रतीकको रूपमा प्रयुक्त शब्द हो । यहाँ जराको अर्थ बुढेसकाल र मरणको अर्थ मृत्यु हो । जीवनका दुःखहरूको साङ्केतिक नाम जरामरण हो । यसरी यी बाह्र चक्रले दुःखका कारणहरूको खोजी मात्र गर्दैन, त्यसको विनाशको कुरा पनि गर्दछ । यसरी प्रतीत्यसमुत्पादको सबभन्दा प्रमुख विशेषता के हो भने यी बाह्र चक्र मानवका भूत, वर्तमान र भविष्यका जीवनमा व्याप्त हुन्छन् । त्यसैले शान्ति तथा लोभ, घृणा र भ्रमरहित अवस्थाको रूपमा चित्रण गरिएको छ । निर्वाणलाई जीवनको अन्तको रूपमा लिइएको देखिंदैन । यद्यपि निर्वाण प्राप्ति यही जीवनमा पनि सम्भव छ भन्ने कुरा प्रस्ट्याइएको छ । बुद्धका अनुसार प्रत्येक मानवले स्वयं निर्वाण प्राप्त गर्नुपर्दछ । बुद्धजस्तै मानिसले यो जीवनमा आप्mना दुःख निरोध गरी निर्वाण प्राप्त गर्न सक्दछ । यसैले निर्वाणलाई जीवनको अन्त भन्दा पनि जीवनकालमा नै प्राप्यताको रूपमा बुद्धले व्याख्या गरेका छन् । निर्वाणको शाब्दिक अर्थ निभ्नु हो ।

निर्वाण प्राप्त भएपछि सबै दुःखको अन्त्य हुन्छ अथवा सबै दुःख निष्क्रिय अवस्थामा जान्छ र तिनको अनुभव पूर्णरूपले समाप्त हुन्छ । त्यसकारण निर्वाणलाई आनन्ददायक अवस्था मानिएको छ, जसबाट बाँकी जीवन कुनै पनि दुःखको अनुभव नगरी शान्तिपूर्वक बित्छ । यसबाट मृत्युपछि पुनर्जन्मको भय पनि समाप्त हुन्छ । निर्वाण निष्क्रियता र अकर्मण्यताको अवस्था होइन । व्यक्तिले निर्वाण प्राप्त गरेपछि चार आर्य सत्यमा निरन्तर विचार वा मनन गर्दछ र जब एकपटक अखण्ड समाधिद्वारा स्थायी रूपले प्रज्ञा प्राप्ति भएपछि निरन्तर समाधिमा पनि रहनुपर्दैन र कर्मबाट अलग रहने कुनै आवश्यकता पनि पर्दैन । निर्वाण प्राप्त व्यक्तिले पनि कर्म गर्नुपर्दछ तर त्यो कर्म स्वार्थमय नभएर लोककल्याणको लागि हुनुपर्दछ । निर्वाण प्राप्त भएपछि करुणा र दयाले प्रेरित भएर जनकल्याणको लागि स्वयंलाई सक्रिय राख्न सकिन्छ ।

बुद्ध दर्शनले मानवीय प्रवृत्तिको राम्ररी विश्लेषण गरेको छ । यस अनुसार मानिसको मन नै सम्पूर्ण कर्महरूको नियन्त्रक हो । त्यसकारण मानिसको गलत प्रवृत्तिलाई नियन्त्रित गर्नको लागि उसको मनमा सद्विचारको प्रवाह गरी उसलाई सदमार्गमा लानु जरूरी हुन्छ । बुद्ध दर्शनले सांसारिक दुःख सम्बन्धमा चार आर्य सत्य र सांसारिक दुःखबाट मुक्तिको लागि अष्टाङ्गिक मार्गको सिद्धान्त प्रतिपादन गरेको हो । बुद्ध दर्शनको मध्यमार्गको सिद्धान्त अनुसार मानिसले सबै प्रकारका आकर्षण र कायाक्लेशबाट बच्नुपर्दछ । मानिसले न अत्यधिक इच्छा राख्नुहुन्छ, न अत्यधिक तप (दमन) नै गर्नुपर्छ, वरन् बीचको मार्ग अँगालेर दुःख निरोधको प्रयास गर्नुपर्दछ । सम्यकको अर्थ नै दुई अतिबीचको मध्य स्थिति हो ।

दुवै अति खराब हुन्छ । बुद्ध दर्शन अनुसार जसले आप्mनो जीवनको परिदृष्टि ठीक राख्नेछ, जसले सही सङ्कल्प वा इच्छा राख्नेछ, जसको वाणी राम्रो हुन्छ, कर्म राम्रो हुन्छ, जसले जीविकाको लागि सबभन्दा राम्रो साधन चुन्दछ, जसले आप्mना इन्द्रियहरूलाई नियन्त्रणमा राख्नको लागि निरन्तर व्यायाम गर्दछ उही सारा दुःखबाट मुक्त हुनेछ । यसरी सूक्ष्मभन्दा सूक्ष्म चीजमा बुद्धले पर्याप्त विचारविमर्श गरेका छन् । यो दर्शनले पूर्णरूपले यथार्थमा बाँच्ने शिक्षा दिन्छ । तर आजको युगमा बुद्धको सिद्धान्त लागू गर्न सकिने वातावरण नै छैन । यसर्थ बुद्धको दर्शनलाई पनि वर्तमान व्यवस्था भित्र लागू गर्न सकिंदैन भन्ने कुरा बौद्ध मार्गीहरूले बुझ्न जरूरी छ । बुद्धकै मार्गमा हिंड्नको लागि पनि समाजवादी समाज निर्माण हुनु जरूरी छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here