जलेश्वर, २८ पुस/रासस
महोत्तरीमा पछिल्लो समय आपराधिक गतिविधिमा साना हतियार (पेस्तोल)को प्रयोग बढी भएको पाइएको छ । विगत तीन आर्थिक वर्षमा महोत्तरीमा घटेका विभिन्न आपराधिक घटनामा ११ थान साना र पाँच थान मात्र ठूला हतियारको प्रयोग भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार चालू आव २०८१/८२ को छ महीनामा मात्र जिल्लामा भएका विभिन्न आपराधिक घटनामा सात साना हतियार बरामद गरिएका छन् भने त्यसमा लाग्ने १९ राउन्ड गोली पनि बरामद गरिएको छ ।
यसैगरी, जिल्ला प्रहरी कार्यालयले ती साना हतियारसहित पाँचजनालाई पक्राउ गरी उनीहरूविरुद्ध हातहतियार तथा खरखजना मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयले आव २०८०/८१ मा तीन थान साना हतियार र एक थान भरुवा बन्दुक बरामद गर्नुका साथै नौ राउन्ड गोली बरामद गरेको छ ।
आव २०८०/८१ मा प्रहरीले आठजनालाई हतियारसहित पक्राउ गरेको थियो । चारजनामाथि हातहतियार तथा खरखजना मुद्दा चलाएको छ । त्यसरी नै जिल्ला प्रहरी कार्यालयले आव २०७९/८० मा पनि एक थान पेस्तोल र चार थान भरुवा बन्दुक बरामद गर्नुका साथै ३७ राउन्ड गोली बरामद गरेको थियो । पाँचजनालाई हातहतियारसहित पक्राउ गरिएकामा तीनजनामाथि हातहतियार तथा खरखजाना मुद्दा चलाएको प्रवक्ता जैसवारले बताए । उनले साना हतियार बोक्न तथा लुकाउन सजिलो हुने भएकाले पछिल्ला दिनमा भइरहेका आपराधिक गतिविधिमा अपराधीले साना हतियारको प्रयोग बढी गर्ने गरेको पाइएको बताए ।