प्रस, परवानीपुर, १७ फागुन/
मधेस आन्दोलन र नाकाबन्दीको समयमा वीरगंजमा उद्योग–व्यवसाय गर्न समस्या भएको भन्दै व्यापारी समुदायका नयाँ पुस्ताहरू काठमाडौं, बुटवल, विराटनगर, दिल्ली, गुजरात, राजस्थानमा स्थानान्तरण भइसकेका छन् तर वीरगंजको एक मिठाइपसलका तीनजना दाजुभाइले मिठाइ व्यवसायलाई नयाँ सिराबाट अगाडि बढाएका छन्।
वीरगंज–२ छपकैया निवासी रामजी साह सोनारका छोरा ३८ वर्षीय पप्पु सर्राफ, ३३ वर्षीय निपु सर्राफ र २८ वर्षीय दीपु सर्राफ मिलेर मिठाइ व्यवसायलाई अगाडि बढाएका छन्। १४ वर्षअघि यी दाजुभाइले हेटौंडाको टिसिएन रोडमा अनमोल स्वीट्स खोलेका थिए। वीरगंजमैं कलेजको अध्ययन पूरा गरेका तीनजना दाजुभाइमध्ये शुरूमा माइलो निपु सर्राफले करीब रु ५० लाखको लगानीमा हेटौंडामा अनमोल स्वीट्स खोलेका थिए। त्यसपछि हेटौंडामैं होटल सूर्यांश र रफ एन्ड टप रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याए। अनमोल स्वीट्ससँगसँगै होटल सञ्चालनमा आएपछि उनलाई दूधको आवश्यकता प–यो। त्यसपछि हेटौंडामा उनले करीब सयवटा गाईपालन गरेर अनमोल एग्रो शुरू गरेको बताउँछन्।
बुबाले अलखियामठनजीक अलख स्वीट्सबाट शुरू गरेको मिठाइ व्यवसायलाई आधुनिक किसिमले वीरगंजबाहिर पहिचान बनाउन थालेपछि आठ वर्षअघि वीरगंजको महावीरस्थानमा अनमोल स्वीट्स सञ्चालन गर्दा सर्राफ परिवारले निकै खुशी महसूस गरेको थियो। दुई साताअघि आदर्शनगर चोकनजीकै अनमोलको तेस्रो आउटलेटको रूपमा सुविधासम्पन्न मिठाइपसल सञ्चालनमा आएको छ।
यसरी होटल व्यवसाय तथा तीनवटा मिठाइपसल र डेरी उद्योग गरी हालसम्म करीब रु १२ करोड लगानी भइसकेको सञ्चालक परिवारको भनाइ छ। आजको समयमा आकर्षक सेवा सुविधाको आशा राख्दै वैदेशिक रोजगारमा जाने युवाहरूलाई आफ्नै देशमा केही गरेर स्थापित हुन सक्ने प्रेरणा सर्राफ परिवारको मिठाइपसलबाट लिन सकिन्छ। निपुले भने, “हामीले शुरूमा बुबाको सानो पसललाई हेटौंडामा विस्तार गरेर अगाडि बढाउन खोज्यौं, तीनैजना दाजुभाइ मेहनत गर्छौं।
९० जनालाई रोजगार दिएका छौं। मनग्य आम्दानी पनि भइरहेको छ। आफ्नो देशमा केही गर्न नसक्ने सोच राख्ने युवाहरूलाई नेपालमैं प्रचुर सम्भावना छ। सही समयमा निर्णय गरेर केही गर्नुपर्छ।”
हेटौंडाको डेरीमा घाटा लागेपछि अहिले २० वटा मात्र गाई पालन गरेको बताउँदै निपुले दैनिक ३ सय लिटर दूधको आवश्यकता रहेको बताए। आफ्नो डेरीबाट डेढ सय लिटर र बाहिरबाट डेढ सय लिटर दूध खरीद गरेर मिठाइका विभिन्न परिकार बनाउने गरेको बताए।
अनमोल स्वीट्स विशुद्ध शाकाहारी भएकोले शाकाहारी पारखीहरूको लागि उचित गन्तव्य पनि हो। ग्राहकहरूको स्वाद र गुणस्तरलाई मध्यनजर गर्दै अनमोलले आगामी दिनमा प्रदेश २ का अन्य जिल्ला र काठमाडौंमा पनि पसल विस्तार गर्ने लक्ष्य राखेको छ।
