प्रस, वीरगंज, २९ पुस/
पुस २७ गते राति वीरगंज महानगरपालिका–२२ जगरनाथपुरका मोहनप्रसाद कुर्मीको गोठमा बाँधिएको गाई र बाछी चोरी भएको छ ।
जगरनाथपुर गाउँमा तीन साता अघि करीब साढे तीन बिघा क्षेत्रफलमा उत्पादन भएको २१० क्विन्टल एक हजार १२० बोझा धान जलाइएको थियो । अज्ञात समूहले दाइँ गर्न तयारी अवस्थामा भण्डारण गरिएको धानको बोझावरिपरि पेट्रोल छर्केर आगो लगाएको हुन सक्ने जगरनाथपुरका पीडित किसान हरेन्द्र यादवको भनाइ छ ।
राति ११–१२ बजेको बीचमा सो घटना भए एक घण्टापश्चात् उनलाई थाहा भएको थियो । त्यसपछि वीरगंजबाट दमकल बोलाएर निभाउन खोज्दा धान पूरै जलिसकेको थियो । त्यसपछि स्थानीय उमेश साह तेलीको घरमा समेत नगद र सुनको गहना चोरी भएको थियो ।
धान जलाउनु, घरमा चोरी हुनु र गाईवस्तुका चोरीका घटनाले अहिले जगरनाथपुरका बासिन्दा चिन्तित छन् । प्राकृतिक विपद्को रूपमा वा सुनियोजित र पूर्वाग्रही तरीकाले यी घटना भइरहेका छन् कि भनेर कतिपय गाउँलेहरू आशङ्का व्यक्त गर्छन् । साथै एउटा घटनाको दोषी पत्ता लगाउन पर्सा प्रहरीले देखाएको उदासीनताप्रति पनि गाउँलेहरूको गुनासो छ ।
धान आगजनीको घटनामा जगरनाथपुरका अमर यादव, मुन्ना यादव, विनोद पटेल र वीरगंज–१८ भवानीपुरका ओमप्रकाश पटेल गरी चारजनालाई हिरासतमा लिएर केरकार गरिएको छ । तर उनीहरूको संलग्नता नभएको देखिएपछि पर्सा प्रहरीले रिहा गरेको छ । धान आगजनीमा अर्को पक्षका नरेश यादव, अनिल यादव, पन्नालाल महतो कोइरी, उमेश साह तेलीमाथि जाहेरी दिएको पीडित हरेन्द्र यादव पक्षको भनाइ छ ।
हरेन्द्र, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका स्थानीय कार्यकर्ता हुन् । घटना भएको दिन उपेन्द्र यादवको जगरनाथपुरमा हरेन्द्र यादवको खेतमा आमसभा सम्पन्न भएको थियो । उक्त पक्ष्Fको आशङ्का जसपाका स्थानीय नेता, कार्यकर्ताहरूमाथि रहेको बुझिएको छ ।
त्यसैगरी, सुन र गहना चोरीको घटनामा जसपा नेपालका नेता, कार्यकर्ताहरूको संलग्नता हुन सक्ने उमेश साह तेली बताउँछन् । तर धान आगजनीको घटनामा समातिने डरले सुनको गहना चोरीको घटना घटाएको हुन सक्ने जसपा नेपालका नेता, कार्यकर्ताहरूको भनाइ छ ।
यस विषयमा जसपा नेपालका नेता, कार्यकर्ताहरूले पटकपटक दबाबमूलक कार्यक्रम गरेर धानमा आगजनी गर्नेलाई पत्ता लगाउन प्रहरी प्रशासनसमक्ष्F हारगुहार गरिरहेका छन् । तर पर्सा प्रहरीले खासै उपलब्धि हासिल गर्न नसकेको उनीहरूको भनाइ छ ।
जसपा नेपालका जिल्ला तहका नेता, कार्यकर्ताहरूले पत्रकार सम्मेलन, वीरगंजमा प्रदर्शन गर्दै प्रजिअलाई ज्ञापनपत्रसमेत बुझाइसकेको अवस्थामा अर्को पक्षले चोरीको घटनामा समेत केही व्यक्तिहरूको संलग्नता रहेकाले सो घटनाको पनि छानबीन गर्न दबाब दिएको छ । दुई राजनीतिक दलका केन्द्रीय तहका नेतृत्वले पनि स्थानीय प्रहरी प्रशासनलाई प्रभावकारी अनुसन्धान गर्न दबाब दिइरहेको छ । जसले गर्दा अनुसन्धानमा ढिलाइ भएको हुन सक्ने आशङ्का छ ।
गाउँका केही अगुवाहरूले घटना हुनु स्वाभाविक हो तर घटनाको सत्यतथ्य छानबीन गरेर दोषी पत्ता लगाइ कानूनी दायरामा नल्याए अराजकता बढ्दै जाने र त्यसको शिकार आम जनता हुने चिन्ताले आफूहरूसमेत पिरोलिएको बताए ।