काठमाडौं, २८ पुस/रासस
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आइतवार नेप्से परिसूचक २५ दशमलव ४१ अङ्कले घटेर दुई हजार ६०९ दशमलव ६७ बिन्दुमा कायम भएको हो ।

आज ३०१ कम्पनीका ८० लाख ८१ हजार ६३१ कित्ता शेयर ४६ हजार ६१४ पटक खरीद–बिक्री हुँदा कारोबार रकम रु तीन अर्ब ९९ करोड ७९ लाख नौ हजार ३२३ मा खुम्चिएको छ । सबै समूहका उपसूचक घटेका छन् ।

सबैभन्दा बढी वित्त समूह तीन दशमलव ६० र विकास बैंक समूह एक दशमलव ६० प्रतिशतले घटेका छन् । बैंकिङ शून्य दशमलव ८६, होटल तथा पर्यटन शून्य दशमलव ७७, जलविद्युत् एक दशमलव ४४, लगानी शून्य दशमलव ३९ र जीवन बीमा समूह शून्य दशमलव १२ प्रतिशतले घटेका छन् ।

उत्पादन तथा प्रशोधन एक दशमलव ३६, लघुवित्त शून्य दशमलव ८७, म्युचुअल फन्ड शून्य दशमलव ४२, निर्जीवन बीमा शून्य दशमलव ७३, व्यापार शून्य दशमलव १० र अन्य समूह शून्य दशमलव ६० प्रतिशतले घटेका छन् । आजको कारोबारमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु २० करोड ४१ लाख ५३ हजार ८७२ को कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी सिङ्गटी हाइड्रोइनर्जी लिमिटेडको छ लाख ३६ हजार ८०४ कित्ता शेयर किनबेच भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here