वैदेशिक रोजगार बचतपत्र करीब ११ प्रतिशत मात्रै बिक्री

काठमाडौं, १६ पुस/रासस
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको ‘वैदेशिक रोजगार बचतपत्र–२०८६ (क)’को बिक्री निकै न्यून देखिएको छ ।

गत मङ्सिर १२ गते जारी भएको रु ५० करोड बराबरको बचतपत्रको आइतवार बिक्री बन्द भएको हो । यो बचतपत्र करीब ११ प्रतिशत मात्रै बिक्री भएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी मुकुन्द पोखरेलका अनुसार वैदेशिक रोजगार बचतपत्र रु पाँच करोड ४२ लाख बराबरको बिक्री भएको छ ।

कार्यालयले जारी गरेको रु दुई अर्ब बराबरको ‘नागरिक बचतपत्र–२०८६ (क) भने शतप्रतिशत बिक्री भएको छ । नागरिक बचतपत्रमा सात दशमलव ५० र वैदेशिक रोजगार बचतपत्रमा आठ दशमलव ५० प्रतिशत ब्याज तोकिएको छ । बचतपत्रको ब्याज प्रत्येक छ महीनामा सम्बन्धित खरीदकर्ताको बैंक खातामा सोझै भुक्तानी हुन्छ ।

यस्ता बचतपत्रको ब्याजदर बैंकको मुद्दती निक्षेपभन्दा आकर्षक भएपनि यसको महŒव र फाइदाबारे धेरै नागरिकलाई जानकारी छैन । लगानीका लागि धेरैले घरजग्गा, सुनचाँदी, पूँजीबजार र मुद्दती निक्षेपजस्ता क्षेत्रलाई प्राथमिकता दिने गरेका छन् । जबकि लगानीका यी विकल्पभन्दा सहज, सुरक्षित र आकर्षक प्रतिफल मानिने सरकारी उपकरण ‘बचतपत्र’को चर्चा न्यून हुने गरेको छ ।

बचतपत्र लगानीका लागि उत्कृष्ट विकल्प हो । तर यसको प्रचारप्रसारको अभाव, प्रक्रियागत जटिलता र दोस्रो बजारको सीमित जानकारीका कारण यो उपकरणप्रति लगानीकर्ता आकर्षित हुन सकेको देखिंदैन ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्