नेप्सेमा पछिल्लो तीन महिनायताकै न्यून कारोवार

काठमाडौं, १७ पुस/रासस
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पछिल्लो तीन महीनायताकै न्यून कारोबार देखिएको छ ।

आज नेप्से परिसूचक ५.१० अङ्कले बढेर २५८१.६० को बिन्दुमा पुग्दा कारोबार रकम भने साढे तीन अर्ब हाराहारीमा खुम्चिएको हो । आज ३०९ कम्पनीको ९४ लाख ३४ हजार नौ कित्ता शेयर ४३ हजार सात सय २९ पटक खरीदबिक्री हुँदा रु तीन अर्ब ५९ करोड ७४ लाख ४५ हजार तीन सय ३४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यो कारोबार रकम गत असोज अन्तिम साता यताकै न्यून हो ।

मङ्गलवारको कारोबारमा उच्च गिरावट देखिएको वित्त समूह आज सम्हालिएर उच्च वृद्धि देखिएको छ । वित्त समूह ३.८७, विकास बैंक १.६८ र जलविद्युत् समूह १.२४ प्रतिशतले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन ०.९५, लगानी ०.०९, उत्पादन तथा प्रशोधन ०.२५, निर्जीवन बीमा ०.२२ र व्यापार समूह ०.६३ प्रतिशतले बढको छ ।

अरू समूहको उपसूचकमा भने गिरावट देखिएको छ । बैंकिङ ०.७२, जीवन बीमा ०.०६, लघुवित्त ०.१६, म्युचुअल फन्ड ०.१७ र अन्य समूह ०.४१ प्रतिशतले घटेको हो ।

त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु २१ करोड ८२ लाख १७ हजार तीन सय ४९ बराबरको शेयर खरीदबिक्री भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा सनराइज ब्लुचिप फण्डको १७ लाख ३४ हजार पाँच सय ८९ कित्ता शेयर किनबेच भएको छ ।