भोजपुरीमा एउटा उखान छ धनो गइल, धर्माे गइल, अर्थात् धन पनि गयो धर्म पनि गयो। अहिले जनता समाजवादी पार्टी नेपाल यही उक्तिको शिकार भएको छ। जुनसुकै गठबन्धन बन्दा खुसुक्क सरकारमा पसेर मन्त्री पद लिन पल्केको जसपा नेपाल यसपटक भने यस प्रकारको तिकडमबाजी नचलेपछि सरकारबाट बेइज्जत भएर खेदिनुपरेको छ भने मधेस प्रदेश सरकारबाट पनि बेइज्जत भएर हट्न बाध्य हुनुपरेको छ। जसपा नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव विदेश भ्रमणमा जानु अघि नेपाली काङ्ग्रेससँग सहमति बनाएर गएका थिए। त्यो सहमतिमा नेकपा एस पनि थियो। नेकाका सभापति शेरबहादुर देउवा, नेपाल र यादवबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको थियो। यो कुरा नेकपा एसका अध्यक्ष माधव नेपालले सार्वजनिक मञ्चबाट घुमाउरो तालबाट फुस्काए। उनको त्यो फुस्काइ नियोजित थियो कि प्रायोजित अहिले बहसको विषय भएको छ। नेपालले फेरि प्रधानमन्त्री बन्दैछु भनेर उद्घोष गर्नु र एमाले नेतृत्वलाई चिढाउने प्रयास गर्नु नेका र जसपा नेपालसँग भएको गोप्य सहमति खोल्ने प्रयास थियो कि वास्तवमा त्यतिखेरको उन्माद बुझ्नै गाह्रो भएको छ। उनको त्यो खुलासापछि नै जसपा नेपालका अध्यक्ष यादव स्वदेश आउनुपूर्व पार्टी फुटाउनुका साथै निर्वाचन आयोगबाट वैधानिकता दिलाउनेसम्मको काम गरिएको थियो।

अध्यक्ष यादव नेतृत्वको जसपा नेपाल, एमाले र माओवादी केन्द्रको चाहनामा पार्टी टुक्रिएको कुरा कसैबाट छिपेको छैन। जसपा नेपाल यसबीच तीन टुक्रा भयो। अध्यक्ष यादव विदेशबाट आएसँगै सरकारबाट नबाहिरिने अभिव्यक्ति दिए। तर उनको यो अभिव्यक्ति उपप्रधानमन्त्री र उनको पार्टी नेतृत्वको मधेस प्रदेश सरकार टिकाइराख्ने कारण बन्न सकेन। बरु मिति गुज्रिएको औषधी झै उल्टो बेफाइदा दिन शुरू ग–यो। वैशाख ३० गते जसपा नेपालका अध्यक्ष यादवलाई प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्रीबाट राजीनामा दिन सुझाव दिए। सोही दिन मधेस प्रदेश सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लियो। माओवादीसँगै एमालेले पनि समर्थन फिर्ता लिने काम ग–यो। अहिले जसपा नेपालको नेतृत्वमा मधेस प्रदेशको नेतृत्व मुख्यमन्त्री सरोजकुमार यादवले दुर्ई वर्षदेखि सम्हाल्दै आएका छन्। मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) र (नेकपा) माओवादी केन्द्र बाहिरिएसँगै मुख्यमन्त्री यादवको सरकार अल्पमतमा परेको छ।

मधेस प्रदेशसभामा एमालेको प्रत्यक्ष र समानुपातिक गरी २४, माओवादी केन्द्रको प्रत्यक्ष र समानुपातिक गरी आठजना सदस्य छन्। अहिले दुर्ई पार्टीका ३२ जनाले हात झिकेपछि मुख्यमन्त्री यादवको सरकार अल्पमतमा मात्र परेको छैन, नैतिकताको आधारमा आजभोलि राजीनामा गर्नुपर्ने बाध्यकारी अवस्थामा पुगेको छ किनभने नेकासमेतको समर्थन पाएपनि सरकार बनाउने हैसियत बन्दैन। जसपा नेपालबाट मधेस सरकारमा प्रत्यक्षमा नौ र समानुपातिका सातजना गरी १६ जनाको प्रतिनिधित्व छ। यसमा पार्टी टुक्रिएको र सरकारबाट पनि बाहिरिएकोले थप कतिले पार्टी छाड्ने हुन् यकीन छैन। अहिले जनमत पार्टी, लोसपासँग मिलेर माओवादी वा एमाले नेतृत्वमा मधेस प्रदेशमा सरकार बनाउने गृहकार्य शुरू भइसकेको छ। यी चार पार्टीको गठबन्धनमा मधेस प्रदेश सरकारमा बहुमतका लागि चाहिने ५४ जना सांसदको सङ्ख्या पर्याप्त हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here