पुस २७ गते हाम्रो मुलुकमा पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसका रूपमा मनाइन्छ । आधुनिक नेपाल राष्ट्रको निर्माता पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते हो । उनले नेपाल एकीकरण गरेको हुँदा जन्मदिनको अवसर पारेर राष्ट्रिय एकता दिवस पनि मनाउने गरिएको हो । यो दिवसले नेपाललाई एकीकृत राष्ट्रका रूपमा स्थापनाको स्मरण गराउँछ । पृथ्वीनारायण शाहले तत्कालीन बाइसे–चौबीसे राज्यलाई एकीकृत गर्दै अहिलेको नेपालको भूगोलको जग बसालेका थिए । उनको नेतृत्व र दूरदर्शिताले नेपाल एउटा साझा राष्ट्रिय पहिचानको रूपमा स्थापित भयो । नेपाल एकीकरणको त्यो ऐतिहासिक अभियानले देशलाई केवल भौगोलिकरूपमा मात्र होइन, सांस्कृतिक, आर्थिक र राजनीतिकरूपमा पनि बलियो बनाएको हो । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश हो । यस विविधताका बीचमा राष्ट्र एकताको जग पृथ्वीनारायण शाहले नै निर्माण गरेका हुन् । उनको “नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो” भन्ने भनाइले नेपाली समाजको सहिष्णुता र विविधताप्रतिको सम्मानलाई झल्काउँछ । यो सन्देश अहिलेको सङ्घीय संरचना र समावेशी राज्य व्यवस्थामा झन् सान्दर्भिक छ ।
राष्ट्रिय एकता दिवसको अर्थ केवल पृथ्वीनारायण शाहको योगदानको स्मरणमा मात्र सीमित छैन । यो दिवसले हामीलाई एकता, सहिष्णुता र सहकार्यका मूल्यलाई आत्मसात् गर्न प्रेरित पनि गर्छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको वर्तमान संरचनामा विविधताको सम्मान गर्दै राष्ट्रिय अखण्डता कायम राख्न यो दिवसले बल प्रदान गर्न सक्छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रले स्थानीय तहलाई सशक्त बनाएको छ । यो संरचनाभित्रको विविधता र अधिकारलाई समन्वय गर्दै राष्ट्रको एकता र अखण्डता जोगाउनु आवश्यक छ । पृथ्वीनारायण शाहको योगदानलाई सम्झँदा उनी कुनै जाति, धर्म वा क्षेत्र विशेषका नेता नभई सम्पूर्ण नेपालीका साझा नेता थिए । आजको सन्दर्भमा यो भावना झनै महŒवपूर्ण छ । पृथ्वी जयन्ती राष्ट्रियस्तरमा मनाउनुको अर्को औचित्य भनेको विगतका योगदानलाई उचित सम्मान दिनु हो । वर्तमानले इतिहासलाई अवमूल्यन गर्दा राष्ट्रिय पहिचान कमजोर हुन्छ । आजको इतिहास भोलि आउनेहरूले च्यात्ने, मेटाउने र भुल्ने प्रथा बस्छ । इतिहासलाई सम्मान गर्नाले मात्र नयाँ पुस्ताले राष्ट्रिय भावना र एकताको महŒव बुझ्नेछन् ।
पृथ्वी जयन्ती मनाउने विषयमा विगतमा केही विवाद देखिए, आज पनि केही मतभेद, तर्क–वितर्क हुन सक्छन् । व्यवस्था परिवर्तन भएको हो, राष्ट्रको भूगोल परिवर्तन भएको होइन । एउटा राष्ट्रको लागि आवश्यक तŒवहरू भूगोल, जनसङ्ख्या र सम्प्रभुत्वमध्ये भूगोल पहिलो हो । भूगोल वा जमीन छ भने जनसङ्ख्या कसैगरी पनि एकीकृत गर्न सकिन्छ । नेपालको राजनीतिक सिमानाको रेखाङ्कन पृथ्वीनारायण शाहले गरेका हुन्, एकीकरणको सपना र खाका उनकै हो । “भौगोलिक एकीकरण भएपनि भावनात्मकरूपमा एकीकरण हुन सकेन, आर्थिक र सांस्कृतिकरूपमा एकीकरण भएन,” भन्दै कुर्लनेहरू पनि धेरै छन् । जवाफको लागि आजको शिक्षा, सञ्चार, विज्ञानको युगमा बसेर होइन, हिजोकै दिनमा फर्किएर सोच्नुपर्ने हुन्छ । त्यस बेलाको राज्य विस्तार नै काटमारबाट हुने गथ्र्यो । पृथ्वीनारायण शाहको दिव्य उपदेशहरूलाई हेर्ने हो भने सबै क्षेत्रमा उनको ध्यान पुगेको थियो । त्यसलाई साकार रूप दिने काम त त्यसपछिका शासकहरूको पनि होला नि ।