नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थापना भएदेखि औपचारिकरूपमा शुरू भएको हो । युगान्तकारी सोच, सर्वहारा वर्गको अधिनायकत्वसहितको राज्यसत्ता र समानतामूलक समाजको परिकल्पनासहित शुरू भएको यो आन्दोलनले प्रारम्भिक दिनहरूमा व्यापक जनसमर्थन प्राप्त ग¥यो । तर विडम्बना पार्टीभित्रको गुटबन्दी, व्यक्तिवादी स्वार्थ र वैचारिक कमजोरीले कम्युनिस्ट आन्दोलन उद्देश्यविहीन बन्दै फुट र विभाजनको चक्रमा फस्न पुग्यो । नेकपा प्रारम्भिक चरणमैं गुटबन्दीको शिकार भयो । नेतृत्वको असहमति र बाह्य प्रभावका कारण पार्टीभित्र विवाद चुलियो । त्यसपछि २०२८ सालमा पार्टीभित्रबाट नै नेपाल कम्युनिस्ट पार्टी (माले)को जन्म भयो । यसरी शुरू भएको विभाजनको शृङ्खला २०४७ सालपछि झनै तीव्र भयो । जसको निरन्तरतास्वरूप आज मुलुकमा अनगिन्ती कम्युनिस्ट पार्टीहरू छन् । २०५१ सालमा माओवादी आन्दोलनले सशस्त्र द्वन्द्व शुरू गर्दा यो विभाजन झन् स्पष्ट भयो । २०६३ सालको शान्ति सम्झौतापछि माओवादीको सङ्घर्ष मुख्य धारमा आए पनि पार्टीभित्रको गुटबन्दी उस्तै रह्यो । माओवादी विभाजनको पनि लामो सूची तयार भइसकेको छ । प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रबाट मोहन वैद्य, नेत्रविक्रम चन्द, बाबुराम भट्टराईजस्ता नेताहरूले छुट्टाछुट्टै पार्टी गठन गरेका छन् ।
नेपालका कम्युनिस्ट पार्टीहरू फुटका प्रमुख कारण व्यक्तिवादी प्रवृत्ति, वैचारिक अस्पष्टता, नेतृत्वको असफलता, बाह्य प्रभावलगायत हुन् । कम्युनिस्ट पार्टीका नेताहरूले सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थ र अहङ्कारलाई प्राथमिकता दिए । समाजवादको मोडल र कार्यनीतिबारे स्पष्ट दृष्टिकोण नहुँदा उनीहरू वैचारिक द्वन्द्वको शिकार भए । यसको अलावा पार्टीका शीर्ष नेताहरूले गुटबन्दीलाई रोक्न, सहमति कायम गर्न र सङ्गठनलाई एकीकृत गर्न सकेनन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा विभाजन र क्षेत्रीय शक्तिहरूको प्रभावले पनि नेपालको कम्युनिस्ट आन्दोलनलाई खण्डित ग¥यो । फलस्वरूप कम्युनिस्टलाई फुट प्यारो भयो ।
कम्युनिस्ट पार्टीहरूका नेताहरूले सिद्धान्त र कार्यदिशाभन्दा पनि सत्तास्वार्थलाई प्राथमिकता दिन थालेपछि यी पार्टीहरूको पूँजीवादी दलहरूभन्दा भिन्नता समाप्त भएको छ । पार्टीका नेताहरूको जीवनशैली, नीतिगत निर्णय र व्यवहारले उनीहरू पूँजीवादी नेताहरूजस्तै देखिन्छन् । भ्रष्टाचार, नीतिगत दोहोरोपन र जनअपेक्षाको अवमूल्यनले कम्युनिस्ट पार्टीहरूको जनआधार कमजोर हुँदै गएको छ । कम्युनिस्ट पार्टीहरू एक हुने हो भने अझै पनि जनसमर्थन धेरै खस्केको छैन । वामपन्थीलाई मतदान गर्ने मतदाता मुलुकमा बहुमतमा रहँदा पनि सत्ताबाहिर बस्नुपर्ने विभाजनकै कारणले हो । यसबाट पाठ सिक्ने प्रयास गर्नुपर्नेमा ‘कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा राखे पनि जस्ताको तस्तै’ हुने नेपाली कम्युनिस्ट पार्टीहरूको चरित्र छ । जनताले दुईतिहाईको सरकार बनाउन दिंदा पनि पार्टी विभाजन गरेर अर्को दललाई सरकार बनाइदिन दौडन्छ । वास्तवमा कम्युनिस्टको नाममा मुलुकको जनमतमाथि जुन भद्दा मजाक भइरहेको छ, त्यो अक्षम्य छ । जनता जागेको दिन क्षमा माग्ने मौका हुँदैन । सुध्रिने हो भने कम्युनिस्ट नामका पार्टीहरू वास्तविक सिद्धान्तमा फर्कने र आफ्ना कार्यदिशालाई स्पष्ट गर्नुपर्छ । व्यक्तिवादी प्रवृत्तिको अन्त्य गर्दै सामूहिक सोचमा आउन सक्नुपर्छ ।