संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले तीन हजार वर्षमा नदेखेको अभूतपूर्वरूपमा नदी तथा समुद्रको सतह वृद्धि भएको बताउँदै जलवायु परिवर्तनविरुद्ध यथाशीघ्र प्रभावकारी कदम चाल्न विश्वका नेताहरूलाई आह्वान गरेका छन् । नदीको सतह यसैगरी वृद्धि हुँदै जाने हो भने केही वर्षपछि विश्वका अधिकांश भूभाग जलमग्न हुनेछन् । बचेका केही भाग प्रचण्ड गर्मी, अतिवृष्टि, खण्डवृष्टि, मुसलधारे वर्षा, नदी कटान र बाढीपहिराले तहसनहस हुनेछन् । समुद्री सतह मापन गर्न वैज्ञानिकहरूले सदियौंदेखि विभिन्न विधिहरू प्रयोग गदै आएका छन् । ज्वारभाटाको स्तर मापन, उपग्रहहरूबाट समुद्रको सतहमा रडार सङ्केत प्रक्षेपण, पृथ्वीको गुरुत्वाकर्षण बलको परिवर्तन मापन, पृथ्वीको तापमान मापन, आइस सिटहरूको पग्लिने दरको मापनलगायतका विधिहरूको संयोजनबाट वैज्ञानिकहरूले समुद्री सतहको वृद्धि मापन गर्दै आएका छन् । यसबाट समुद्र सतहको वर्तमान अवस्था र भविष्यबारे पूर्वानुमान गर्न सकिन्छ । महासचिव गुटेरेसले यही तथ्यहरूको आधारमा आह्वान गरेका हुन् ।

तीन हजार वर्ष अघि समुद्री सतह वर्तमान सतहभन्दा करीब एक मिटर कम र वृद्धिदर स्थिर थियो । पछिल्ला केही दशकयता ग्लोबल वार्मिड्ढो प्रभावले समुद्री सतहमा उल्लेखनीय वृद्धि भइरहेको छ । सन् १९८० पछि चार दशकमा समुद्री सतह लगभग २० सेन्टिमिटरले वृद्धि भएको छ । वृद्धिको अनुपात तीव्र गतिले बढ्दो छ । हालका वर्षहरूको वृद्धिदर प्रतिवर्ष करीब ३.३ मिलिमिटर छ । दुई तिहाइ भाग समुद्रले ढाकेको पृथ्वीमा यो दर डरलाग्दो हो । संयुक्त राष्ट्रसङ्घको भविष्यवाणी अनुसार “यदि कार्बन उत्सर्जनलाई नियन्त्रणमा राख्न सकिएन भने, यसरी वृद्धि हुँदै जाँदा सन् २१०० सम्ममा समुद्री सतह हालको भन्दा ०.६ देखि एक मिटरसम्म वृद्धि हुन सक्नेछ ।” यसरी तीन हजार वर्ष अघि स्थिर समुद्री सतह, वृद्धिदरमा अहिलेको छोटै अवधिमा तीव्रता आउनु राम्रो होइन । सम्भावित परिणाम मानवका लागि मात्रै नभएर प्राणीजगत्कै लागि विनाशकारी हुन सक्छ ।

समुद्रको सतह बढ्दै जानुमा मानवीय क्रियाकलापहरू मुख्य दोषी छन् । कोइला, तेल र प्राकृतिक ग्याँस जस्ता जीवाश्म इन्धनहरू जलाउँदा यसले ठूलो मात्रामा कार्बन डाइअक्साइड उत्सर्जन गर्छ । त्यसैगरी, उद्योग, कारखाना र सवारीसाधनहरूले ठूलो मात्रामा कार्बन डाइअक्साइड र ग्रीनहाउस ग्याँसहरू उत्सर्जन गरिरहेका छन् । यससँगै वनविनाश पनि प्रमुख कारण बनेको छ । वनजङ्गलले कार्बनलाई सोस्न र भण्डारण गर्न महŒवपूर्ण भूमिका खेल्छ । तर जब रूखहरू काटिन्छन् वा जलाइन्छन्, सोसिएको कार्बन पुनः वातावरणमा फैलन्छ । यी सबै क्रियाकलापले कार्बन डाइअक्साइड र ग्रीन हाउस ग्याँस बढाउँछ । जसको प्रभावले विश्वव्यापी तापक्रम बढ्ने, हिमाल पग्लने, पानीको आयतनमा वृद्धि हुनेलगायतबाट समुद्रको सतह बढ्छ । हरित ग्याँस र कार्बन उत्सर्जनविरुद्ध हरेक मानवको सहभागिताका लागि राष्ट्रहरूले अगुवाइ गर्ने हो भने अझै पनि मौका छ । जीवाश्म इन्धनको प्रयोग घटाउने, नवीकरणीय ऊर्जाको प्रयोग बढाउने, ऊर्जा दक्षता प्रयोग गरी ऊर्जा खपत घटाउने, विद्युतीय सवारीसाधनहरूको प्रवद्र्धन गर्ने, शून्य कार्बन उत्सर्जनको लक्ष्य निर्धारण गर्ने, वन संरक्षण र कृषिमा पानीको प्रयोगलाई बढावा दिएर रासायनिक पदार्थ घटाउने साथै कार्बन–न्यूट्रल खेती प्रणालीलाई प्रोत्साहन गर्दै माटोमा कार्बन भण्डारण प्रणाली अपनाउने एकमात्र विकल्प हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here