प्रस, पंचगावाँ, ११ भदौ/
जीराभवानी गाउँपालिका–२ सेढवास्थित डिप्रोस लघुवित्त वित्तीय संस्थाको कार्यालयमा महिलाहरूले मङ्गलवार दिउँसो तोडफोड गरेका छन् ।

लघुवित्त सङ्घर्ष समिति पर्साका अध्यक्ष शिवजी साहको नेतृत्वमा सेढवास्थित डिप्रोस लघुवित्त वित्तीय संस्थाको कार्यालयमा पुगेका महिलाहरूले संस्थाको साइनबोर्ड च्यात्दै कार्यालयमा रहेका उपकरणहरू तोडफोड गरी कागजपत्रहरू बाहिर फ्याँकिदिएका थिए । उनीहरूले डिप्रोस लघुवित्त वित्तीय संस्थाले बचतकर्ताको रकम फिर्ता नगरेको आरोप लगाउँदै सो उपद्रो गरेका थिए ।

आक्रमणकारीहरूले मुखमा मास्क लगाएका र महिलासँगै पुरुषको पनि सहभागिता रहेको संस्थाको कार्यालयमा जडान गरिएको सिसिटिभी फुटेजमा देखिएको इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापाले बताए । उनले सोही आधारमा पहिचान गरेर थप अनुसन्धान अगाडि बढाइएको बताए ।

शाखा प्रमुख प्रदीप चौधरीले आक्रमणकारीहरूले कार्यालयमा रहेका ऋणसम्बन्धी कागजात, तमसुक, भरपाई कार्यालय कक्षबाट निकालेर बाहिर फ्याँकेको र आर्थिक शाखाका उपकरणहरू तोडफोड गरेको बताए । उपद्रो मच्याएपछि प्रहरीमा खबर गरेको उनले जानकारी गराए ।

घटनामा संलग्न रहेका दुईजना महिलालाई इप्रका, सेढवाले पक्राउ गरेको र उनीहरूलाई इप्रका, पटेर्वासुगौलीमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए ।

प्रस, सिराहा/
सिराहा जिल्लास्थित दुईवटा लघुवित्त वित्तीय संस्थामा मङ्गलवार तोडफोड र आगजनी गरिएको छ ।

गोलबजार नगरपालिका वडा नं ७ स्थित सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र सोही स्थानको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड चोहर्वा शाखामा महिलाहरूको एक समूहले तोडफोडका साथै आगजनी गरेका हुन् ।

महिला समूहले वित्तीय संस्थाको कार्यालयमा रहेका कागजात एवं कम्प्युटर, ल्यापटप र मोबाइललगायतका उपकरणहरू आगो लगाएर नष्ट गरिदिएका थिए । करीब २० जनाको समूहमा आएका महिलाहरूले सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेड कार्यालयभित्रका ल्यापटप दुई थान र टेबलमा भएका सम्पूर्ण कागजात नियन्त्रणमा लिएर जलाएको संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार ग्राहकजस्तै भएर दुई/तीन जनाका दरले आएका महिलाहरूले एक्कासि कागजात र ल्यापटप नियन्त्रणमा लिएपछि अन्य केही महिला पनि भेला भएर जलाएका थिए ।

त्यसैगरी, नजीकै रहेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा पनि महिला समूहले दुईवटा डेक्सटप कम्प्युटर तोडफोड गरी चकनाचुर बनाइदिएका छन् । कामै नलाग्ने गरी फुटाइएको र विभिन्न कागजात नियन्त्रणमा लिएको सो वित्तीय संस्थाले जनाएको छ ।

‘लघुवित्त तथा वित्तीय शोषणविरुद्धको सङ्घर्ष समिति नेपाल’ ले घटनाको जिम्मा लिएको छ । सरकार र सङ्घर्ष समितिको कार्यदलले बनाएको प्रतिवेदन लघुवित्तले कार्यान्वयन नगरेकाले आफूहरू सङ्घर्षमा उत्रन बाध्य भएको सङ्घर्ष समितिका मधेस प्रदेश अध्यक्ष अर्जुन विश्वकर्माले बताए । “अर्थ मन्त्रालय, नेपाल राष्ट्र बंैकका प्रतिनिधिका साथै सङ्घर्ष समितिले मेहनत गरेर बनाएको प्रतिवेदन कार्यान्वयनमा आएन । पीडितहरूले पीडा खप्न नसकेपछि कारबाही भएको हो,” अध्यक्ष विश्वकर्माको भनाइ छ ।

यसैबीच, आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले करीब १० जना महिलालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय, गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुनील कार्कीले महिला पक्राउ परेकोबारे पुष्टि गरेका छन् । अनुसन्धान भइरहेको प्रनि कार्कीले बताए । अराजक शैलीमा वित्तीय संस्थामा आगजनी भएको हुँदा यस घटनालाई गम्भीररूपमा लिएर अनुसन्धान थालेका छौं, उनले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here