पाँच–पाँच वर्षमा लाग्ने गढीमाईको मेला जबजब निकट आउँछ, त्यहाँ चढाइने बलिबारे बहस, छलफल र गोष्ठीहरू बाक्लिंदै जान्छ । हुन पनि मेलामा अत्यधिक सङ्ख्यामा जीवहत्या हुन्छ । यसले बलि पक्षधरहरू पनि पीडित हुन्छन् भने बलिविरोधीहरूको मन त छियाछिया नै हुन्छ । एकदुई मानिसको ज्यान गयो भने त्यति त्रास हुँदैन, जति कहीं नरसंहार हुँदा हुन्छ । यस दृष्टिले गढीमाईमा चढाइने बलिलाई जीव–संहारकै संज्ञा दिन सकिन्छ । त्यो पनि बिनसित्ति । बलि दिएको पशु थोरै मात्र आहारमा परिणत हुन्छन् । तिनका लाश त्यसै फालिने गरिन्छ । त्यसले गर्दा मन्दिर परिसरमा लामो समयसम्म दुर्गन्ध रहन्छ । जीवमाथि जीवको बलि चढाउँदा जुन बीभत्सता देखिन्छ, त्यसले कठोर हृदयबाहेक सबैलाई उत्तेजित बनाउँछ । त्यसैले यता केही दशकदेखि बलिप्रथाको विरोध हुँदै आएको छ । तर समस्या के छ भने मानिस धर्मभीरु हुन्छ । तर्कातीत कुरामाथि पनि परम्परा, प्रचलन र धर्मको रंग चढाइदिएपछि मानिसले स्वीकार गर्दछ । गढीमाईमा बलि कहिलेदेखि चढ्न थाल्यो, त्यो इतिहास थाहा छैन, तर दशकौं बित्यो, यो परम्परा चलेको । यद्यपि यस सन्दर्भमा धेरै मिथ्या तथ्य–कथ्य समाजमा व्याप्त छ ।
गढीमाईमा मेलाको बेला मात्र बलि चढाइन्छ भन्ने होइन, अघिपछि पनि चढाइन्छ । तर त्यसको विरोध हुँदैन । विरोध उठ्नुको एउटै कारण अत्यधिक सङ्ख्यामा जीवहत्या हुनु हो । विभिन्न प्रकारका जीवमध्ये राँगा, बोका, परेवा, हाँस, कुखुराको बलि दिइन्छ, मेलाका बेला । बोका, परेवा, हाँस वा कुखुराको बलिबाट शायदै कसैको विरोध होला किनभने टाउकोबाहेक यिनका अवशेष त्यहाँ रहन्न । यिनको बलिले भूमि पनि बढी रक्तरञ्जित हुँदैन । तर बीभत्स हुन्छ राँगाको बलि । प्रायः शक्तिपीठहरूमा बलि दिइन्छ, तर परम्परा धान्नका लागि वा कोही कसैको भाकल छ भने मात्र । यस्तो बलिमा जनावरको उपभोग गरिन्छ । कहींकतै टाउको छाडिन्छ, त्यो पनि अधिकारवालाले लग्छ । बीभत्सता देखिंदैन । त्यसैले विरोध पनि हुँदैन । गढीमाईमा चल्ने बलि–विरोधी र समर्थकहरूको वादविवादले भोलि कुनै अप्रिय घटना नघट्ला भन्न सकिन्न । यद्यपि आजसम्म चलेको बहस तार्किक विवादसम्म सीमित छ । बलि विरोधी अभियानले बलि सङ्ख्यामा केही कमी पनि ल्याएको छ । मानिसमा चेतनाको विकाससँगै यस प्रथामा अंकुश लाग्ला नै । तर वर्तमानको आग्रह यति मात्र हो कि बहस दुवै पक्षको समझदारीसम्म सीमित रहोस् ।
वास्तवमा बलि भनेको त्याग हो । बलि चढाउनुको अर्थ हो आप्mनो नराम्रो बानी र मन परेको वस्तुलाई त्याग्नु । अहिंसावादीहरू बलिलाई, आप्mनो नराम्रो बानी त्याग गर्नु हो भनी अथ्र्याउँछन् । हिंसावादी त नभनौं, बलिप्रथा समर्थकहरू आपूmले पालिपोसी राखेको जीवलाई भगवान्लाई अर्पित गर्नु मान्दछन् । यसो हो भने उनीहरूले भगवान्लाई अर्पित गरेको कुरा आपूmले उपयोग नगर्नु हो । जस्तै अधिकांश बलि चढाइएका राँगाका शरीर त्यहीं रहन्छ वा अरू कसैले लग्छ । त्यसो भए बलि चढाएको वस्तु भगवान्लाई समर्पित रहन दिउँ । यसो गर्दा विरोधी र समर्थक दुवैको चित्त बुझ्ला । र यस कुरामा सहमत हुने हो भने बलि दिएको वस्तुलाई मार्नै किन प¥यो ? किनकि बलिपशु भनेको काटिने वा छाडिने दुवैथरीलाई भनिन्छ । बलिपशुलाई देवीकै अधिकारमा रहनेगरी जीवित बलि दिंदा कसो होला ? बलिको मान्यता पनि रहन्छ र विरोधीहरूको मुखमा पनि बुजो लाग्छ ।