प्रस, पोखरिया, १९ साउन/ लघु वित्तीय तथा वित्तीय शोषणविरुद्धको सङ्घर्ष समिति नेपाल जिल्ला कार्यसमिति पर्साको आयोजनामा शनिवार पोखरिया नगरपालिकामा जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
पोखरिया नपा–४ शिवमन्दिरमा आयोजित कार्यक्रमको उद्घाटन लघु वित्तीय संस्थाविरुद्ध सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीले गरेका थिए। कार्यक्रममा ज्ञवालीले लघु वित्तीय संस्थाको ज्यादती चरम सीमामा पुगेको बेला लघु वित्तीय संस्थाविरुद्ध सङ्घर्ष समिति बनाएपछि लघुवित्तको ज्यादती रोकिएको दाबी गरे। उनले मिटरब्याजी र लघु वित्तीय संस्था सङ्घर्ष समिति मिलेर सामाजिक न्यायको लागि आन्दोलन गरेको बताए। उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफूहरूको माग सम्बोधन गर्ने र ऋण मिनाहा गर्ने बताए। उनले यही साउन २७ गतेदेखि काठमाडौंमा आन्दोलन शुरू गर्ने र हाम्रो प्रतिवेदन कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने बताए। उनले विद्युत्को अर्बौं बक्यौता माफ गर्ने मूड बनाएको सरकारले आफूहरूको ऋण मिनहामा सकारात्मक हुने विश्वास व्यक्त गरे।
लघु वित्तीय संस्थाविरुद्ध सङ्घर्ष समितिका जिल्ला सचिव शशिभूषण साह कानूको अध्यक्षता भएको कार्यक्रममा राष्ट्रिय स्वयंसेवक नेपालका केन्द्रीय अध्यक्ष मनोज पौडेल, लघु वित्तीय संस्थाविरुद्ध सङ्घर्ष समितिका मधेस प्रदेश सचिव तथा पर्सा जिल्ला अध्यक्ष शिव साह तेली, बाग्मती प्रदेश अध्यक्ष क्षेत्रबहादुर भुसाल, सप्तरी अध्यक्ष मदन भगत, प्रभु महतो कुशवाहा, केन्द्रीय सल्लाहकार समिति सदस्य गोवद्र्धन यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा राष्ट्रिय स्वयंसेवक नेपालका अध्यक्ष मनोज पौडेलले आन्दोलनलाई कसैले दबाउन खोज्यो भने त्यसको प्रतिफलकमा आफूहरूले युवा दस्ता बनाएको बताए। उनले आन्दोलन दबाउन खोज्नेविरुद्ध युवा दस्ता परिचालन गरेर निरुत्साहित गर्ने बताए। उनले लघुवित्तका दलाल र झोलेहरूले दिदीबहिनीहरूलाई लुटेको आरोप लगाए। उनले भ्रष्टाचारी, दलाल र सामन्तीहरूलाई पहाड र मधेसबाट लखेट्नुपर्ने बताए। उनले आफूहरूले अहिले शान्तिपूर्ण आन्दोलन गरेको तर आवश्यक परे बन्दुक उठाउन पनि पछि नपर्ने चेतावनी दिए।