वीरगंज (पर्सा), २ माघ/रासस
नेपाल खोनेपानी संस्थानले वीरगंज महानगरपालिकाको सार्वजनिक स्थानमा जडान गरेका २७८ वटा धाराको लाइन काट्ने तयारी गरेको छ । सार्वजनिक स्थानमा जडान गरिएका धाराको महसूलबापतको रकम महानगरपालिकाले भुक्तानी गर्न आनाकानी गरेपछि संस्थानले ती सबै धाराको लाइन काट्ने तयारी गरेको हो ।

खानेपानीको मुहान सुकेर पानीको समस्या भएका बेला महानगरपालिकाले महसूल भुक्तानी गर्नेगरी धारा जडान गरिदिन पत्राचार गरेपछि संस्थानले गत २०८० साउनमा वडा नं १ देखि १९ सम्मका विभिन्न सार्वजनिक स्थानमा २७८ वटा धारा जडान गरेको थियो । धारा जडान भएयता महानगरपालिकाले खानेपानी महसूल भुक्तानी नगरेपछि ती धाराको लाइन काट्ने तयारी गरिएको नेपाल खानेपानी संस्थान वीरगंजका प्रमुख इन्जिनीयर निरन महर्जनले जानकारी दिए ।

“सार्वजनिक स्थानमा जडान भएका ती सबै धारा जडान लागत तथा मासिक महसूल करीब रु ४४ लाखभन्दा बढी बक्यौता भइसकेको छ,” उनले भने, “बक्यौता महसूल बुझाउन गत २०८० असोज २५ गते नै महानगरपालिकालाई पत्राचार गरे पनि अझै महसूल बुझाएको छैन ।”

महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडलले खानेपानी महसूल बुझाउने प्रतिबद्धता जनाएका र उनको अन्यत्र सरुवा भएपछि यसयता महानगरपालिकाबाट महसूल बुझाउने ठोस प्रतिबद्धता आउन नसकेको जनाइएको छ ।

महानगरपालिकाले अब पनि महसूल नबुझाए बाध्य भएर सार्वजनिक स्थानमा जडान भएका धाराको लाइन काट्ने तयारी गरेको प्रमुख महर्जनको भनाइ छ । यस्तै, नेपाल खानेपानी संस्थान वीरगंज पर्साले लामो समयदेखि खानेपानीको महसूल नबुझाउने २३ जना ग्राहकको धाराको लाइन काटेको छ । धाराको पानी उपभोग गर्ने तर महसूल नबुझाउने परिपाटी बढ्दै गएपछि संस्थानले पहिलो चरणमा रु ५० हजारभन्दा बढी बक्यौता राख्ने ५४२ ग्राहकको नाम कालोसूचीमा राखेर धाराको लाइन काट्न शुरू गरेको हो ।

महसूल बुझाउन पटकपटक पत्राचार गरे पनि ग्राहकले बक्यौता बुझाउन आलटाल गर्दै आएपछि धाराको लाइन काट्न शुरू गरिएको प्रमुख महर्जनले जानकारी दिए । संस्थानले ग्राहकबाट करीब रु १२ करोड २५ लाख ७९ हजारभन्दा बढी बक्यौता रकम उठाउन बाँकी रहेको जनाएको छ । संस्थानले एउटै ग्राहकबाट रु दुई लाखभन्दा बढीसम्म बक्यौता उठाउनुपर्ने देखिएकाले कालोसूचीमा राखेर सूची प्रकाशन गरी धाराको लाइन काटेरै भएपनि बक्यौता असुल गर्ने योजना बनाएको उनले जानकारी दिए ।

खानेपानी उपभोग गरेबापतको महसूल नबुझाउनेमा पूर्वमन्त्री, पूर्वन्यायाधीश, उद्योगी–व्यवसायी, समाजसेवी, विभिन्न दलका नेता, कर्मचारी प्रशासकको नामसमेत रहेको संस्थानका प्रमुख महर्जनले बताए । महसूल नतिर्नेको सूचीमा रहेका व्यक्तिको नाम स्थानीय तहका वडा–वडामा टाँस गरिएको र पटकपटक स्थानीय पत्रिकामा सार्वजनिक गर्दा पनि अझै बक्यौता रकम उठाउन नसकिएको उनको भनाइ छ ।

महानगरपालिकाभित्र खानेपानी संस्थानका आठ हजार ग्राहक रहेकामा सात हजारले महसूल तिरिरहेका तर पुरानो बक्यौता रकम उठाउन नसकिएको जनाइएको छ । उनले ताकेता गर्दासमेत रकम उठाउन नसक्ने भएपछि धारा काटैर रकम असुल गर्ने अवस्थामा संस्थान पुगेको बताए ।

वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले आफू भर्खरै सरुवा भएर आएकोले यस विषयमा धेरै कुरा थाहा नभएको बताए । कुल दुई लाख पाँच हजार जनसङ्ख्या रहेको वीरगंज महानगरपालिकाभित्र खानेपानी संस्थानबाट आठ हजार एक सय ग्राहकले नियमित खानेपानीको उपभोग गर्दै आएका छन् ।

दैनिक ६०–६५ लाख लिटर खानेपानी उत्पादन गरी वीरगंज महानगर क्षेत्रभित्र वितरण गर्दै आएको खानेपानी संस्थानसँग २० हजार घरधुरीलाई खानेपानी वितरण गर्ने क्षमता रहेको प्रमुख महर्जनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here