चार वर्ष अघि संसारै ठप्प पारेको कोरोनाको नयाँ भेरियन्टले अहिले फेरि दुई ठूला देशबीचमा रहेको हाम्रो देश नेपालमा त्रासदी फैलाउँदैछ । जनसङ्ख्या र आर्थिक समृद्धिमा विश्वमा दोस्रो स्थानमा रहेको चीन र विश्वमैं सबैभन्दा बढी जनसङ्ख्या रहेको भारतमा अहिले कोरोनाको नयाँ भेरियन्टका सङ्क्रमितहरू देखिएका छन । जनसङ्ख्यामा धनी भारत र चीनको बीचमा रहेको हाम्रो देश भने चीनभन्दा बढी नजीकको सम्बन्ध भारतसँग छ । सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक सम्बन्ध भारतसँग बढी छ भने उत्तरबाहेक पूर्व, पश्चिम र दक्षिण सीमा भारतसँग जोडिएका छन् । करीब साढे १७ सय किलोमिटरको भारतसँग खुला सीमा सम्बन्ध छ ।
सीमा खुला भएपछि आवागमन पनि खुला छ । पछिल्लो समय खुला सीमाबाट आवागमनमा भने केही सामान्य कडाइ अपनाइएको छ । खासगरी नेपालमा जनयुद्ध शुरू भएपछि र नेपालको बाटो भारतविरुद्ध पाकिस्तानी गतिविधि बढेको भन्ने भारतीय बुझाइएका कारण परिचय खुल्नेगरी दुवै देशका नागरिकहरूलाई आवागमनको व्यवस्था गरिएको छ ।
नेपालमा भारतीयहरू पैदल, सवारीसाधन र हवाई माध्यमबाट भित्रिने गरेका छन् भने नेपालीहरू पनि पैदल, साना सवारीसाधन, रेल, बस र हवाई माध्यमबाट भारत जाने गरेका छन् । पैदल मार्गको प्रयोग सीमावर्ती क्षेत्रका मानिसहरूले गर्छन्, जुन अहिलेसम्म परिचयपत्रविना आवागमन हुँदै आएको छ । पैदलबाहेकका यात्रा गर्नेहरूका लागि भने परिचय खुल्ने पत्र आवश्यक हुन्छ । खुला सीमा र आवागमनका कारण नेपाललाई भारतबाट र भारतलाई नेपालबाट बेलाबखतमा समस्या हुने गरेको छ । समस्या आएसँगै त्यसको निराकरणका उपायहरूको अवलम्बन पनि गरिन्छ । अहिले कोरोनाको नयाँ भेरियन्ट भारतबाट नेपाल प्रवेश नगरोस् भन्नेतर्फ नेपालका तीनै तहका सरकार सक्रिय भएका छन् । खुला सीमाबाट नेपाल प्रवेश गर्नेहरूको स्वास्थ्य निगरानी फेरि शुरू भएको छ । कोरोनाको पहिलो भेरियन्ट शुरू भएको बखत २०७६ चैतदेखि नेपालमा लकडाउनसहित खुला सीमाबाट प्रवेश गर्नेहरूको स्वास्थ्य परीक्षण शुरू गरिएको थियो । कोरोनाको सुरुआतका दिनमा स्वास्थ्य परीक्षणमा पनि निकै समस्या थियो । अहिले त्यस्तो अवस्था छैन । कोरोनाको खोपसमेत नबनेको र यसबारेमा खासै जानकारी नभएकोले उतिखेरको जस्तो जोखिमपूर्ण अवस्था अहिले भने छैन । त्यसैले नयाँ भेरियन्ट नभित्रियोस् भन्नेतर्फ स्वास्थ्य कार्यालय, स्थानीय पालिका र प्रशासन अहिले सक्रिय हुन सकेका छन् ।
सुरुआतमा स्वास्थ्यकर्मी तथा स्थानीय प्रशासनमा पनि यस प्रकारको चुस्तीफुर्ती थिएन । आफैं कारोनाको शिकार हुने त होइन भन्ने डरभयले हेल्थ डेस्कमा कतिपय स्वास्थ्यकर्मीहरू खट्दैन थिए । अहिले कोरोनाको नयाँ भेरियन्ट प्रवेश नगरोस् भनेर महानगरपालिकाले सञ्चालनमा ल्याएको शङ्काराचार्यद्वारमा आठजना स्वास्थ्यकर्मीको टोली पुसको सुरुआतदेखि नै तैनाथ भइसकेका छन् । तीन/चार जना सङ्क्रमित पनि फेला परेका छन् । तर कोरोनाकालमा नै सङ्क्रमितहरूका लागि बनाइएको होल्डिङ सेन्टर अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । वीरगंज भन्सार क्षेत्रमा बनाइएको एक हजार शøयाको होल्डिङ सेन्टर प्रयोगमा आउने कुरामा पनि आशङ्का छ किनभने कोरोनाको कहर त्यति सारो बढेको छैन ।