– नारायण अधिकारी

चितवन, २८ कात्तिक/रासस

शहरी खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेहबाट गाउँ पनि असुरक्षित बन्दै गएका छन् । परीक्षणको दायरामा नआउने हुँदा जटिल अवस्थामा पुगेपछि ग्रामीण क्षेत्रका बिरामी उपचारका लागि आउन थालेको चिकित्सक बताउँछन् । पहिले–पहिले ग्रामीण क्षेत्रमा स्थानीय उत्पादनको प्रयोग हुने गरेकोमा पछिल्ला दिनमा तयारी खानाको प्रयोग बढेसँगै मधुमेहको समस्या देखिन थालेको हो ।

ग्रामीण क्षेत्रका बासिन्दाको परिश्रम घटेको र खानपान शहरजस्तै हुन थालेकोले रोग देखिन थालेको हो । दैनिक खाजा र खानामा शहरिया चाउचाउ, बिस्कुट, पास्ता, तयारी पेय पदार्थको प्रयोग बढी हुने गरेको छ । यससँगै मासु र मदिराको प्रयोग पनि बढेको छ ।

भरतपुर अस्पतालका फिजिसियन डा कालिदास अधिकारी ग्रामीण क्षेत्रमा शहरको रहनसहन भित्रिएसँगै मधुमेहको समस्या पनि बढ्न थालेको बताउँछन् । खानपानमा परिवर्तन, माछा, मासु, मदिराजस्ता वस्तुको उपभोग बढेकोले गाउँलेहरूमा समस्या देखिएको उनको भनाइ छ । उनी भन्छन्–गाउँमा पनि क्रयशक्ति बढ्यो, शहरको जस्तै खानपिन भयो, यसले समस्या बढाएको छ।”

जीवनशैलीमा परिवर्तन आएको जनाउँदै उनले शहरमा नियमित परीक्षण हुने भए पनि ग्रामीण क्षेत्रका बिरामीले परीक्षण नगर्दा अन्तिम अवस्थामा अस्पताल आउने गरेका बताउँछन् । कलेज अफ मेडिकल साइन्सेस भरतपुरका फिजिसियन डा प्रकाश अर्याल शहरमा धेरै मानिस भएर धेरै बिरामी आएको भए पनि जनससङ्ख्याको अनुपातमा ग्रामीण क्षेत्रमा पनि उत्तिकै समस्या देखिएको बताउँछन् । उनी भन्छन्–“जो गाउँमा बस्छन्, उनीहरूले पनि खानपानमा ध्यान दिनुप¥यो, नियमित परीक्षण गर्नुप¥यो ।”

घरमा अन्य सदस्यलाई मधुमेह नभए पनि ३५ वर्षपछि नियमित परीक्षण गर्नुपर्ने जनाउँदै उनले घरमा कसैलाई मधुमेह भएमा २० वर्षको उमेरदेखि नै परीक्षण गरिरहनुपर्ने सुझाव दिएका छन् । मोटोपना, उच्च रक्तचाप र वंशाणुगत समस्या भएमा २० वर्षभन्दा कम उमेरकाले पनि परीक्षण गराइरहनुपर्ने उनको भनाइ छ । यस्ता वर्गले हरेक वर्ष परीक्षण गर्नुपर्छ । अन्यको हकमा तीनदेखि पाँच वर्षमा परीक्षण गर्न सकिने डा अर्यालको सुझाव छ । शहरकाले मात्रै होइन, ग्रामीण क्षेत्रमा बस्नेले पनि नियमित परीक्षण गर्नुपर्ने कुरामा उनले जोड दिए ।

चितवन मेडिकल कलेजका इन्डोक्राइनोलोजिस्ट डा सौरभ खतिवडाले शरीरमा चिनीको मात्रा पचाउन सक्ने क्षमतामा ह्रास आयो भने रगतमा चिनीको मात्रा बढ्ने बताए । उनले भने–“यो अवस्थालाई मधुमेह भनिन्छ । खाली पेटमा रगत परीक्षण गर्दा १२६ मिलीग्राम परडेसिलिटरभन्दा बढी र खाना खाएपछि २०० भन्दा बढी भएमा हामीले मधुमेह (डाइबिटिज) भन्दछौं ।” मधुमेह भएपछि खानपान, व्यायाम र औषधि यी तीन चीजको सहायताले सुगर (चिनी) निश्चित बिन्दुमा नियन्त्रणमा राख्न आवश्यक रहने उनी बताउँछन् ।

मधुमेह लाग्नै नदिन सतर्क रहनुपर्ने जनाउँदै उनी भन्छन्–“मुख्य कारण मोटोपन र विलासी जीवनशैली नै हो । यसलाई नियन्त्रणमा राख्नुपर्छ । अहिले धेरै मानिस लामो समय कुर्सीमा बसेर काम गर्छन्, शारीरिक कसरत गर्दैनन् । यसले गर्दा शरीरको ग्लुकोज पचाउने प्रणाली र इन्सुलिनले राम्ररी काम गर्न सक्दैनन्, यसले मधुमेह बनाउँछ ।”

दैनिक आधा घण्टा पसिना आउने गरी व्यायाम गर्न सुझाव दिंदै उनले भने–“वंशाणुगतरूपमा भए पनि खानपान र व्यायाम गर्न सकियो भने मधुमेह हुने समय पाँच/दश वर्ष पछाडि धकेलिन्छ । शरीरलाई आवश्यक पर्ने मात्रा मिलाएर खानुपर्छ ।

हाम्रो खानामा भात, ढिलो बढी खान्छौं । यसबाट थोरै खाँदा पनि धेरै ग्लुकोज बन्ने भएकोले भात र ढिलोको मात्रा कति खाने भन्ने जानकारी लिन जरूरी छ ।” आफ्नो तौल, उमेर र उचाइ अनुसार डाइटिसियनसँग परामर्श गरेर खाना खाने बानी बसाल्नु राम्रो हुने उनको सुझाव छ । सामान्यतया हामीले खाने चामल बिहान डेढ मुठी र बेलुका एक मुठी खाँदा पर्याप्त हुन्छ । एकैपटक धेरै नखान र पटक–पटक थोरै–थोरै खान उनी सुझाव दिन्छन् ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष फिजिसियन डा भोजराज अधिकारी मधुमेह आफैंमा रोग नभएको बताउँछन् । उनी भन्छन्–“मधुमेह रोग होइन, रोग हुन सक्ने कुराहरूको सङ्ग्रहमात्रै हो ।” मधुमेहका कारण आँखा, मुटु, मिर्गाैला, खुट्टा, रगतका नलीमा हान्यो भने बल्ल त्यो रोग हुने उनको भनाइ छ । उनले भने–“मधुमेहलाई राम्ररी नियन्त्रण ग¥यौं भने स्वस्थ जीवन जिउन सकिन्छ ।”

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् १९८० मा विश्वमा जम्मा १० करोड मानिसमा मधुमेह भएको र करीब ४० वर्षपछि यो सङ्ख्या ४५ करोडभन्दा बढी पुगेको छ ।

मधुमेह उपचारमा विगत लामो समयदेखि सक्रिय डा अधिकारीले अर्काे ४५ करोड मधुमेह हुन सक्ने, पत्ता नलागेका र अर्काे वर्ष वा जीवनशैली नबदले हुन सक्ने मानिसको सङ्ख्या रहेको बताउँछन् । विश्वका सात अर्ब जनसङ्ख्यामा करीब ९० करोड मधुमेह भएका वा हुन सक्ने मानिस रहेको जनाइएको छ ।

नेपालमा पनि करीब–करीब जनसङ्ख्याको ८.४ प्रतिशत मानिसलाई मधुमेह भएको अनुमान गरिएको डा अधिकारीको भनाइ छ । नेपालमा यसको परीक्षणको पहुँच सबैतिर पुगिसकेको जनाउँदै उनले भने–“अर्काे ८.४ प्रतिशत परीक्षण नभएको छ भन्ने अनुमान गरिएको छ ।” नेपालका शहरी क्षेत्रमा गरिएको अध्ययनले करीब २० प्रतिशत मधुमेहबाट प्रभावित भएको देखाएको जनाउँदै उनले गाउँमा तीन प्रतिशतलाई मधुमेह भएको बताए ।

स्वस्थ जीवनशैली अँगाल्न र मधुमेही छु कि छैन भनेर वर्षमा एकपटक मधुमेह परीक्षण गर्न उनले सुझाव दिए । उनले भने–“वर्षमा एकपटक परीक्षण गरियो भने करीब–करीब फेरि मधुमेह लाग्ने सम्भावना त्यो वर्षलाई १२ प्रतिशतले टर्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here