– समीर पाख्रिन

धारावाहिक नाटक

गताङ्कको बाँकी …

भाइकाजी ः यो भिनाज्यू पनि नपत्याउँदो पाराले कमेडी गर्नुहुँदो रहेछ।

सुशीला ःल ल धारामा पानी सुकिसक्यो होला। बाहिर ड्रममा छ पानी उतै चुटे हुन्छ। ल भाइ तँ पनि सुतिहाल्। भोलि बिहान दिदीभाइ घडीअर्वा पोखरीतिर मर्निङ वाकमा जानुपर्छ।

भाइकाजी ः वाक् स्वाकतिर होइन। म चाहिं गाउँतिर लाग्छु दिदी।

०००

समय ःबिहानी पख। स्थान ः हवल्दारको डेरा।

भाइकाजी घर फर्कन लागेको छ। दिदी, भिनाज्यू र भान्जी उषा भाइकाजीलाई बिदा गर्न आँगनमा भेला भएका छन्।

सुशीला ः भाइ, दिदी भिनाज्यूले सहयोग गरेन भनेर मन नदुखा है। मैले भनेझैं आफ्नै गाउँघरमा पौरखी गर्। हामी पनि तेरो भिनाज्यू रिटायर्ड भएपछि गाउँतिरै आउँछौं होला। ( इमानसिंहतिर हेरेर ) अँ के हेरिरहनुभएको ? भाइलाई दुई तीन सय बाटो खर्च दिनुपर्दैन ?

इमानसिंह ः ए हो त है , म त कस्तो भुलक्कड।

खल्तीबाट पर्स निकालेर नोट छानेर सय रुपियाँ दिन लाग्दा सुशीलाले पर्स हातैबाट खोसेर अर्काे एक सय थपेर दुई सय बनाएर दिन्छे।

सुशीला ः ला भाइ, उषा मामालाई एम्बेसी गेटसम्म छोडेर आइज् जा।

उषा ः ला मैले त तरकारी बसाइसकें। बरु बाबा जानु भए हुन्थ्यो।

इमानसिंह ः ल ल हिंड, मेरो सालोलाई म आफैं छाडिदिन्छु। लौ हिंड।

भाइकाजी ः ल त है दिदी, भान्जी म गएँ। घरतिर पनि यसो आउँदै गर्नुहोला। अब त पहिलेजस्तो खोला तर्नुपर्दैन। पक्की पूल बनिसकेको छ। ल म गएँ।

(प्रस्थान गर्छ)

सुशीला ः( आफैंसित ) दिदी–भिनाज्यूले शहरमा बसेर टन्न कमाएको छ भनेर आएको होला। आफू भने सधैं जस्ताको तस्तै।

घरभेटीबा ः एई हवल्दारनी बहिनी, आज बिहान त तिम्रो भाले बासेको सुनिएन नि ? कि हिजै राति सबैजना मिलेर चपाइसक्यौ ?

सुशीला ःअनि के त, घरभेटी बालाई आधा किलो जति लग्नु भनेकै थिए नि। लोकल भालेको मासु कम मीठो हुन्छ त। आहा १ स्वाद त मेरो मुखैमा झुन्डिरहेको छ।

घरभेटीबा ः  भो भो धाक लगाउनुपर्दैन। हामीले पनि पहाडमा छँदा खाएकै हो लोकल भाले। यता शहरमा पो महँगो भएकोले खाइँदैन। खोइ त उषा नानी ? उसले पनि टन्न खाइहोली होइन त ?

उषा ः किन नखानु। आहा १ अहिले पनि स्वाद ओठैमा छ।

घरभेटीबा ः किन उषा नानी ? राति मुख नचुटी सुत्यौ कि क्या हो ?

उषा ः छि ः यो बुढो कति छिल्लिएको। अहिले बज्यैले सुन्यो भने कान समातेर चोटामा पु–याउँछे।

सुशीला ःउषा हिजोको हड्डीखुट्टी के गरिस् ?

उषा ः राखेकी छु। पल्लो घरको पाङ्ग्रेलाई दिनुपर्छ मामु।

घरभेटीबा ः ए उषा नानी, आफ्नै घरको सुमोलाई नदिएर किन पल्लो घरको भुसियालाई दिनुप–यो ?

उषा ः घरभेटी बा, सुमोलाई हाड चपाउने बानी छैन होला। भरे अड्केला मात्र। म त पाङग्रेलाई नै दिन्छु।

घरभेटीबा ः खोइ, लेऊ म आफैं लगेर खुवाउँछु।

बूढोले घिनाउँदै भएपनि पोलेथिनको झोलामा जम्मा गरेको हाडछाला लिएर जान्छ र आफ्नो कुकुरलाई खुवाउँछ।

खा बा खा, तेरो घरमा त अब कि माघे सङ्क्रान्तिमा, नभए दशैंमा मात्र पाक्छ मासु। मौकामा खाइहाल।

०००

समय ः बिहानी पख। स्थान ः अङ्कितको घर।

अङ्कित आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रहरू मिलाउँदै छ।

अङ्कित ः (स्वयंसित) एसएलसीको मार्कसीट, यो प्लसटुको मार्कसीट र यो ब्याचलरको। चारित्रिक प्रमाणपत्र पनि खोइ भन्ने हो कि ? ल सबै राखें। नौ पनि बज्न लागेछ हिंडनुपर्ला। हजूरआमा, म निस्किएँ है।

वृद्धा ः पहिले यता आइज। पूजाको प्रसाद खाएर जा। (टीका लगाइदिन्छे र प्रसाद खुवाइदिन्छे ) रिक्सा चढ्ने पैसा छ कि छैन ?

अङ्कित ः हजूरले अस्ति दिनुभएको होइन ? छ।

वृद्धा ः ल मेरो नाति केटाले चिताएको पूरा होस्। ( आशीर्वाद दिंदै ) अब जा।

 अङ्कित प्रस्थान गर्छ।

समय ः मध्याह्न। स्थान ः वीरगंजको एउटा निजी बैंक।

अङ्कित मौखिक परीक्षा दिएर फर्किरहेको छ।

अङ्कित ः(स्वयंसित) ब्याचेलर डिग्री छ। कम्प्युटरमा डिप्लोमा छ। टु व्हीलर लाइसेन्स छ। स्वस्थ र आकर्षक छु तापनि काम पाउन कति गाह्रो। कतै यसपालि केही होला कि ? अन्तर्वार्ता त राम्रो भएको छ। हैट १ बेरोजगारीको जीवन त साँच्चै बोझ नै हुँदो रहेछ।

यस्तै तर्कनाहरूसित खेल्दाखेल्दै अङ्कित घर आइपुगेको छ।  हजूरआमा, कता हुनुहुन्छ ?

वृद्धा ः म भान्सामा छु अङ्कित। चिया खान्छस् ?

अङ्कित ःहजुर छ भने खाउँ न।

अङ्कित थकित अवस्थामा कुर्सीमा थ्याच्च बस्छ।

अङ्कित ः (खल्तीको मोबाइल झिकेर हेर्दा उषाको पाँचवटा मिसकल हुन्छ। उसले पहिले त कल ब्याक गर्न खोज्छ तर पछि आफैंसित) मैले उषाको सङ्गत छाड्नैपर्छ। अहिले मेरो प्रेम गरेर हिंडने अवस्था छैन। पहिले म आफ्नो कैरियर बनाउँछु। जसरी भएपनि एउटा जागीर खोजेर गर्नुपर्छ मैले। अरू कुरा पछि सोचौंला।

 हजूरआमाले चिया बिस्कुट ल्याएर दिन्छिन्।

 हजूरआमाको सेवा गर्नुपर्ने बेलामा उल्टै मैले हजूरआमालाई दुःख दिइरहेको छु।

वृद्धा ः मैले पनि सकुन्जेल गर्ने त हो नि बाबू १ थला परेपछि आफ्नै शरीर आफैंलाई बोझ हुन्छ।

अङ्कित ःहजूरआमा, हजूर बिल्कुल चिन्ता नगर्नुहोला। म हजूरको सेवाटहल गर्छु।  तपाईंको सेवा गर्ने, हेरचाह गर्ने जिम्मेवारी मेरो।

समय ः साँझ पख। स्थान ः इमानसिंह हवल्दारको डेरा।

उषा कसैसित नबोली सोफामा अँध्यारो अनुहार लगाएर बसेकी छे। नजीकै टिभी हेरेर बसेकी सुशीला उषातिर राम्ररी हेर्छे।

सुशीला ःएई उषा, आज त मुखमा बुजो लगाएर बसेकी छस् नि ? किन के भो ? हिंड् भात खान।

उषा ः मामु , मलाई एक्लै छाडिदिनोस्। आज मलाई खान मन छैन।

सुशीला ःकिन ? अलिकता तातो खाएर सुत्।

०००

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here