– मुकुन्द आचार्य

अचेल सबको मुखमा सकारात्मक सोचको रेडिमेड टैग झुन्डिएको देखिन्छ। ‘जे भए पनि सकारात्मक सोच राख है’ को उपदेश दिने मुखहरू चालू भइहाल्छन्। सोच फेर्न त्यति सजिलो कहाँ हुन्छ र ! लुगा फेरेजस्तो हो र, सोच फेर्नु ? वाहियात, जे मुखमा आयो त्यै बोल्छन्।

मेरो उमेर अहिले सत्तहत्तरी वर्ष भएछ, यो मेरो गणना होइन, जन्मकुण्डलीले यस्तै भनेको छ। मान्नै प–यो। हाम्रो वर्तमान समाजको सोचमा म बुढेसकालको सिंढीमा धमाधम उकालो चढ्दैछु रे ! सगरमाथामा हिलारी चढेजस्तै !

सामान्यतया कसैले पनि आफूलाई बूढो सम्बोधन गर्दा ऊ रिसाउँछ, रमाउँदैन। तर नयाँ फेशनमा पत्नीले पति भनिने प्राणीलाई ‘ए बूढा !’ भन्दा पति खुशी नै हुन्छ। नयाँ बेहुली पनि कसैकी बूढी भनिंदा खुशी नै हुन्छे। कलियुगको कला हो।

त्यति मात्र कहाँ हो र ! अचेलका स्मार्ट छोराछोरी बिहेपछि एकअर्कालाई बेब–बेबी भन्छन्– प्रेमले लाडिएर जिस्किएर, मस्किएर… ! पतिदेव वा स्वामी भन्दैनन्। समय–समयको खेल ! नारायण हरि ! नारायण !!

समयले घचेट्दै लगेपछि सतहत्तरी वर्षीय बालकलाई मान्छेले निस्सङ्कोच बूढो भन्न थाले। कहिलेकाहीं त मलाई पनि लाग्छ, ए रातै …साँच्चै बूढो भइयो र ?

एक दिन त उल्कै भयो। चश्मा कता गयो भनेर म धुईंपताल खोज्दै थिएँ। खोजें, सबैतिर खोजें, तर चश्मा भेटिएन। कता छुटेछ, कहाँ छाडें मैले, कस्तो हुस्सुपन मेरो… भनेर आफैंलाई मनमनै हप्काउँदै थिए।

यस्तैमा मेरो सानो नातिले सामुन्ने आएर ताली बजाउँदै ‘बुबा ! हजुरले चश्मा किन टाउकोमा लाएको ? चश्मा त आँखामा पो लाउनुपर्छ ! बुबा पनि कस्तो मान्छे होइसिन्छ ! अनि मरीमरी हाँस्यो।

ए हो र ? भन्दै मेरो हात भस्मासुरको हातझैं आफ्नै टाउकोमा पुग्यो। कतिखेर चश्मालाई मैले शिरको शोभा बढाउन शिरोधार्य गरें पत्तै चलेन। लौ बा, साँच्चै बुढ्यौलीले छोएछ, भन्ठानें। सुद्धि हराउन थाल्यो भन्ने शुद्धि आयो।

के तपाईं पत्याउनुहुन्छ ? पैन्टको चेन लाउन त प्रायः म बिर्सन्छु। तर आजसम्म कसैले आँट गरेन, यसो भन्न– “हेलो तपाईंको पोस्टबक्स खुला छ।” मलाई स्वयं लघुशङ्का निवारण गर्न जानुपर्दा पो चाल पाइन्छ, चेन त लाउनै भुलेछु। त्यतिखेर म फेरि झस्कन्छु– लौ हेर, चेन नलाएरै म त कहाँकहाँ चहारेर आइपुगें। लाजै मर्नु भयो। हे हरि !!

एकपल्ट त झन उल्कै भयो, म कुनै काम विशेषले कुनै कार्यालयमा पुगें। हाकिमको कोठामा बडेमानको सोफामा भासिएर बसेपछि पो देखें– आफ्नो चरणपादुका (जसलाई अचेल जुत्ता भन्छन्) तिर दृष्टि गयो १ हेर्छु त यौटा चरणमा मोजा भनिने वस्तुको नितान्त अभाव अनुभव भयो। यति हुँदा पनि मैले आफूलाई छाती ठोकेर बूढो मान्ने आँट गर्न सकिनँ। कसैले चाल नपाओस् भनेर बिस्तारै, हतपत्त नगर्दै चरणको व्यवस्था मिलाएर ढाकछोप गरें। मेरो यस शैलीलाई रामदेवले चाल पाए भने –चरण आच्छादान आसन भनेर आफ्नो योगको ज्ञानवृद्धि गर्ने थिए।

अर्को रमाइलो के छ भने भातभन्दा बढी अचेल औषधि खाइन्छ। तै पनि मलाई बूढो भन्ने ? औषधि खाएपछि बूढयौली भाग्छ र ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here