शहीद पुत्र

• नवराज रिजाल

“नारा, जुलूस, बन्द र अभिव्यक्ति स्वतन्त्रता प्रजातन्त्रका शोभा हुन् । देशले शहीदका सन्तति र परिवारलाई सम्झन्छ पनि तर धैर्य गर्न सक्नुपर्छ ।” युवा समाजले आयोजना गरेको शहीद श्रद्धाञ्जलिसभामा अतुलले मन्तव्य राखे । सभास्थल खचाखच भएपनि श्रोताहरूको आगमन स्थगन भइसकेको थिएन ।

उनी शहीद परिवार संरक्षण मञ्चका महासचिव भएकाले परिवार उनीप्रति आशावादी देखिन्थे । “बोल्न, लेख्न, भाषण र सभा–सम्मेलन जे गर्न पनि छुट हुन्छ प्रजातन्त्रमा,” उनले अझ एक पाइलो अगाडि बढेर अभिमत प्रकट गरे ।

भोको पेट, अशिक्षित मस्तिष्क र ज्ञान शून्य जिन्दगी सक्छन् त्यस्तो गर्न ? उपस्थित शहीदपुत्र अविचलले छातीभित्र प्रश्न उब्जायो तर प्रकट गरेन ।

“आवाज निकालिरहनुपर्छ एक दिन त सुनिहालिन्छ नि ।”

समाजसेवी अतुल उपदेश दिइरहेका थिए र शहीदपुत्र अविचल अशिक्षा, भोक–प्यास, अभाव र दरिद्रता काखी च्यापेर सुनिरहेको थियो ।