महाभारतबाट सङ्कलन तथा अनुवाद
- उमाशङ्कर द्विवेदी
आचार्य द्रोणको हातबाट यस प्रकार युद्धको लागि तयार भएर दुर्योधन त्रिगत्र्त देशका सहस्त्रौं रथी र अनेकौं अन्य महारथीलाई साथमा लिएर बाजागाजाका साथ दुर्योधन अर्जुनतिर लागे ।
अर्जुन र श्रीकृष्ण कौरवसेनामा छिरेपछि उनीहरूको पछिपछि दुर्योधन पनि गए । अनि पाण्डवहरूले सोमक वीरहरूको साथ बडो कोकोहोलो मच्चाउँदै द्रोणाचार्यमाथि धावा गरे । अनि त दुवैतिरबाट बडो घमासान लडाइँ चल्न थाल्यो । पुरुषसिंह धृष्टद्युम्न र पाण्डवहरू बारम्बार आचार्यमाथि प्रहार गर्दै थिए । द्रोणाचार्य जताजतातिर जुन जुन रथ र सेनामाथि बाण हान्दथे उताउतातर्फबाट धृष्टद्युम्नले बाण हानेर काटिदिन्थे ।
यस प्रकार धेरै प्रयत्न गर्दा पनि धृष्टद्युम्नसित सामना हुँदा कौरवसेनाको तीन भाग हुन पुग्यो । पाण्डवहरूको मारबाट आत्तिएर केही योद्धा त कृतवर्माको सैन्य टुकडीमा गएर मिले, केही जलसन्धतिर गइहाले तथा केही द्रोणाचार्यसँगै बसे । महारथी द्रोण आफ्नो सेनालाई सङ्गठित गर्ने प्रयत्न गर्दा धृष्टद्युम्नले त्यसलाई कुल्चिदिइरहेका थिए । अन्तमा कौरवसेना यस प्रकार छिन्नभिन्न भयो, जसरी दुष्ट राजाको देश दुर्भिक्ष महामारी र डाँकाहरूको कारणले विनष्ट हुन्छ।
यस प्रकार पाण्डवसेनाको मारबाट कौरवसेनाको तीन भाग भएपछि आचार्य क्रोधित भएर आफ्नो बाणबाट पाञ्चालहरूलाई व्यथित पार्न थाले । यतिबेला उनको स्वरूप प्रज्वलित प्रलयाअग्निको समान भयानक भइसकेको थियो । आचार्यको बाणबाट सन्तप्त भएर धृष्टद्युम्नको सेना आच्छुआच्छु भएर यताउति भौंतारिन थाल्यो । यस प्रकार द्रोणाचार्य र धृष्टद्युम्नको बाणबाट व्यथित भई दुवैतिरका सेना आफ्नो प्राणको मोह छाडेर चारैतिर आफ्नो सम्पूर्ण शक्तिका साथ युद्ध गर्न थाले ।
यसै बेला कुन्तीनन्दन भीमसेनलाई विविंशति, चित्रसेन र विकर्ण–यी तीनै भाइले चारैतिरबाट घेरामा हाले । शिबिको पुत्र राजा गोवासनले एक हजार योद्धाका साथमा काशीराज अभिभूमको पुत्र पराक्रान्तलाई रोकिदिए । मद्रराज राजा शल्यले महाराज युधिष्ठिरको सामना गरे । दुःशासन क्रोधित भएर सात्यकिमाथि जाइलागे । शकुनिले सात सय गन्धारदेशीय योद्धाहरूका साथ नकुलको सामना गरे । अवन्तिदेशीय विन्द र अनुविन्द मत्स्यराज विराटको सामु आएर डटे । महाराज बाल्हीकले शिखण्डिलाई रोके । अवन्तिनरेशले प्रभद्रक र एक सय वीरका साथ धृष्टद्युम्नको मुकाबिला गरे तथा क्रूरकर्मा राक्षस घटोत्कचमाथि अलायुधले चढाइ गरे ।
यतिबेला सिन्धुराज जयद्रथ सम्पूर्ण सेनाको मध्यमा थिए र कृपाचार्य आदि महान् धनुर्धर उनको रक्षाको निम्ति तैनाथ थिए । उनको दाहिनेतर्फ अश्वत्थामा र देब्रेतर्फ कर्ण थिए तथा भूरिश्रवा आदि उनको पृष्ठरक्षक थिए । यसबाहेक कृपाचार्य, वृषसेन, शल र शल्य आदि अनेकौं रणवीरहरू उनको रक्षाको निम्ति युद्ध गरिरहेका थिए ।
व्यूहको मुहानमा द्वन्द्व युद्ध हुन थाल्यो । माद्रीपुत्र नकुल र सहदेवले बाणको भीषण वर्षा गरेर आफूप्रति वैरभाव राख्ने शकुनिलाई आच्छुआच्छु पारिदिए । त्यति बेला शकुनिलाई केही पनि सुझिरहेको थिएन, उनले सम्पूर्ण पराक्रम गुमाइसकेका थिए । बाणको चोटबाट धेरै व्यथित भएपछि उनी बडो द्रुतगतिमा आफ्नो घोडा कुदाएर द्रोणाचार्यको सेनामा गएर मिले । यस समय धृष्टद्युम्नको साथमा युद्ध गरिरहेका महाबली द्रोणाचार्यले जस्तो बाणको वर्षा गरे, त्यो अचम्भित पार्ने खालको थियो । द्रोण र धृष्टद्युम्न दुवै योद्धाले अनेकौं वीरहरूको टाउको उडाइदिए ।
आचार्य द्रोण धेरै नजीक आइपुगेको हेरेर धृष्टद्युम्नले हातमा ढाल–तरबार लिएर उनको वध गर्नको लागि आफ्नो रथबाट उनको रथमा हाम्फाले । आचार्यले सयवटा बाण हानेर उनको ढाललाई र दशवटा बाण हानेर तरबारलाई काटिदिए । अनि चौसट्ठीवटा बाण हानेर उनको घोडालाई तथा दुईवटा बाण हानेर ध्वजा र छत्र काटेर उनको पाश्र्वरक्षकलाई पनि धराशयी पारिदिए । यसपश्चात् उनी धनुषको डोरीलाई कानसम्म तानी धृष्टद्युम्नमाथि एउटा प्राणान्तक बाण हाने तर सात्यकिले चौधवटा बाण हानेर त्यसलाई बीचमैं काटेर आचार्यको गाँसमा परेका धृष्टद्युम्नलाई बचाए । यस प्रकार आचार्यको मुकाबिलामा सात्यकिलाई आएको हेरेर पाञ्चाल वीरहरूले धृष्टद्युम्नलाई अर्को रथमा राखेर तुरुन्तै टाढा लगिहाले ।
अब आचार्यले सात्यकिमाथि बाण वर्षा गर्न थाले । सात्यकिका घोडाहरू पनि बडो फुर्तीका साथ द्रोणको सामु आएर डटे । अनि ती दुवै वीर परस्पर हजारौं बाण हान्दै युद्ध गर्न थाले । ती दुवै महारथीले आकाशमा बाणका जाल नै फैलाइदिए तथा दशौं दिशालाई बाणबाट व्याप्त पारिदिए । बाणको जालो फिजिनाले चारैतिर घोर अन्धकार हुन पुग्यो तथा सूर्यको प्रकाश र वायुको गमन पनि रोकियो । दुवैका शरीर रगताम्य भए । उनीहरूको क्षत्र र ध्वज काटिएर खस्यो । ती दुवैले प्राणान्तक बाणहरूको प्रयोग गरिरहेका थिए । त्यति बेला कौरव र पाण्डव वीरहरू उभेर ती महापराक्रमी योद्धाहरूको रणकौशलको निरीक्षण गरिरहेका थिए । क्रमशः…