• समीर पाख्रिन

गताङ्कको बाँकी …
उषा ः एक बजे भनेको मान्छे यतिबेला आउने हो ? एकक्षण पनि राम्ररी गफ गर्न पाइँदैन । अँ आइसक्रीमको पैसा दिएर हिंड् ।
अङ्कितले आइसक्रीमको पैसा दिएर हजारको नोट साट्छ ।
अब तिमी पनि एउटा बाइक किन । दिनदिनै रिक्शा चढेर डेटिङमा चाहिं आउन सकिदैंन ।
अङ्कित ः उषा, प्लीज नरिसाऊ न । घरमा हजुरआमा र म मात्र छु । हजुरआमाको लागि तातोपानी तताउँदा र औषधि दिंदादिंदै ढिलो भइहाल्यो । अँ कता जाने ?

उषा ः खै, मलाई के थाहा ? जता गयो उतै मान्छेको भीड छ । यो वीरगंजमा त एउटा रोमान्टिक स्पट पनि छैन । कतै एकान्तमा बसेर मायाप्रीतिको कुरा गर्न पनि पाइँदैंन ।
अङ्कित ः बेस्ट आइडिया, बरु भिस्वा डाँडा जाऔं । त्यहाँ एकान्त पनि छ ।
उषा ः हो, बरु त्यतै जाऊ एकान्त पनि छ ।
दुवैजना रिक्शा चढेर प्रस्थान गर्छन् ।

०००

समय ः उही । स्थानः हवल्दारको डेरा ।
सुशीलाको भाइ गाउँबाट दिदीभेनाको डेरा खोज्दै आँगनमा आइपुगेको छ । सुशीला भाइचाहिंलाई देखेर आश्चर्यचकित भएकी छे ।
भाइकाजी ः दिदी, म त आइपुगें, दर्शन ।

सुशीला ः (छक्क पर्दै) ल यो कताबाट आइपुगेछ ? कसरी ठ्याक्कै घरैमा आइपुगिस् ? ल काखीमा भाले पनि चेपेको रहेछ यसले । घरैबाटै ल्याएको ?
भाइकाजी ः हो दिदी । आजकल त घण्टाघरनजीकै बस रोक्दो रहेछ है ?
सुशीला ः अँ पहिला माथि नेशनल ट्रेडिङअगाडि रोक्थ्यो । आजकल घण्टाघरमा रोक्छ । अनि डेरा कसले चिनाइदियो नि ?
भाइकाजी ः एकजना भाइले । फोनमा तिमीले नै एम्बेसीपछाडि फ्ल्याट भाडामा लिएकी छु भनेकी होइनौ ? आम्मै १ डेरा नचिनेर कम दुःख पाइयो ।
नजीकैको मुढामा थ्याच्च बस्छ ।
जसलाई सोध्यो अहँ चिन्दिनँ मात्र भन्दा रहेछन् ।

यो शहर त बस्ने ठाउँ होइन रहेछ । हाम्रो गाउँघरमा त ऊ त्यो डाँडापारिको घर कसको भनेर सोध्यो भने पनि बताइदिन्छ । सके आगन्तुकलाई उसको आफन्तको घरैसम्म पनि पु¥याइदिन्छ ।
सुशीलाको भाइ भाइकाजी काखमा भाले चेपेर आँगनमा बसेर दिदीसित कुरा गरेको देखेपछि घरबेटी बज्यैले बूढालाई इशाराले बोलाउँछे । घरबेटी बा बज्यै भएको नजीकै आउँछ ।
घरबेटी–बज्यै ः हेर न, हवल्दारको घरमा फेरि पाहुना लागेको जस्तो छ ।
घरबेटी–बा ः यो पाखे त हवल्दार्नीको माइतीबाट आएको जस्तो छ । काखीमा भाले पनि चेपेको छ ।

घरबेटी–बज्यै ः अब कति दिन बस्ने हो ? मोटरले तानेको पानी भुसुक्क पार्ने भो । (बार्दलीबाट तलतिर हेर्दै) हवल्दार्नी बहिनी, भाले चेपेर आउने केटो को हो ?
सुशीला ः किन बज्यै ? मेरो भाइ गाउँबाट आएको ।
घरबेटी–बज्यै ः यतै बस्नेगरी आएको हो कि फर्कन्छ ?
सुशीला ः सानो काम परेर आएको फर्कन्छ फर्कन्छ । (स्वयंसित) एकजना नयाँ मान्छे आएको देख्नुहुँदैन, यो बूढी केरकार गर्न थालिहाल्छे ।
भाइकाजी ः अनि भान्जी खोइ त ?
सुशीला ः तेरी भान्जी क्याम्पस गएकी छे ।

०००

समय ः अपराह्न । स्थानः भिस्वा डाँडाको एकान्त ठाउँ ।
अङ्कित र उषा एकाअर्काको हात समातेर प्रेमालापमा लीन छन् ।
उषा ः अङ्कित, तिमीले जब पाउना साथै बिहे गरिहाल्नुपर्छ ल ।
अङ्कित ः किन हतारिएकी ? बिहे भएपछि त यो स्वतन्त्रता, यसरी एकान्तमा बसेर गफ गर्नुको मज्जा कहाँ पाइन्छ उषा ?

सासू–ससुराको खटन, यसो गर, उसो गर, यो न गर, त्यो न गर । पारिवारिक अनुशासनले हामीबीचको प्रेम सम्बन्ध खत्तम भइहाल्छ नि । अहँ म त यति चाँडै बिहे नगर्ने ।
उषा ः किन नगर्ने ? तिमीले जागीर पाउन साथै मलाई माग्न आउनुपर्छ । धोका दिने होइन नि भनिदिएकी छु ।
अङ्कित ः त्यसो भनेर कहाँ हुन्छ ? जागीर खाएपछि केही वर्ष इन्जोइ गर्नुपर्दैन ? यो विवाहको झन्झटमा यति चाँडै किन फस्ने ? अहँ म त फस्दिनँ ।
उषा ः अनि बंैसभरि डुलौंला घुमौंला । अनि पछि तिम्री आमाले केटी त उमेर गएकी रहिछे हुँदैन भनी भने ?

अङ्कित ः त्यही भएर त वेट घटाऊ भनेको नि । तिमी त खाली मीठो–मीठो मात्र खान खोज्छौ ।
उषा ः उसो भए जागीर पाउने बित्तिकै एउटा बाइकचाहिं किनी हाल है । लाजै भइसक्यो साथीहरूको अघि । साथीहरू सबै ब्वाइफ्रेन्डको बाइकमा क्याम्पस आउँछन् म मात्र हिंडेर । उठौं, मलाई त भोक पनि लागिसक्यो । के खाने होला ?

अङ्कित ः (उषाले नसुन्नेगरी) यो खन्चुवीलाई कति भोक लागेको होला । (उषातिर हेर्दै) ल हिंड समोसा चाट खाने ।
उषा ः होइन फ्राई मोमो खाऊ न ।
अङ्कित ः पैसा छ ?
उषा ः तिमीसित छैन ?
अङ्कित ः के म जागीरे हुँ र ? तिमीले जे–जे भन्छौ, त्यही खुवाउनु ?
उषा ः जागीर पाएपछि त खुवाउँछौ होला नि ? ल हिंड् समोसा चाट नै खाने ।

०००

समय ः बेलुकी पख । स्थान ः हवल्दारको डेरा ।
दिदी–भाइ कुराकानी गर्दैछन् ।
सुशीला ः के विदेश जाने अरे ?
भाइकाजी ः अनि गाउँमा हाम्रो उमेरका लोग्नेमान्छे कोही भेटिंदैनन् त । म मात्र बसेर के गर्नु? यसैले म पनि केही वर्षलाई विदेशतिर जाउँ भनेको ।

सुशीला ः तँ पनि विदेश गइस् भने गाउँमा बाँदरचाहिं कसले धपाउँछ नि ?
भाइकाजी ः आ… जोसुकैले धपाओस् ।
सुशीला ः अनि विदेश कुन कामको लागि जान लागिस् त भाइ ?
भाइकाजी ः भेडा चराउन ।

सुशीला ः भेंडा चराउन ? मान्छेको छोराहरू होटलमा वेटर, सेक्युरिटी गार्डमा जान्छन् । तँचाहिं त्यस्तो गरममा भेंडा चराउन किन जान लागेको ? नामचाहिं काजी कामचाहिं पाजीको गर्ने ?
भाइकाजी ः दिदी आफूलाई जे कामको अनुभव छ, त्यही गर्ने त हो नि । आफ्नो गाईभंैसी चराएको दश वर्षको लामो अनुभव छ । काम ठूलो सानो केही हुँदैन । काम भनेको काम हो । (हवल्दार इमान सिंहको प्रवेश) भिनाज्यू पनि आइपुग्नुभो । दर्शन है भिनाज्यू । क्रमशः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here