समीक्षा ः सिर्जनामाथिको सिर्जना

0
67
  • सञ्जय मित्र

साहित्यका अनेक विधा छन् । पूर्वीय साहित्यमा साहित्यका प्रमुख चार विधा मानिएको छ । ती चारै विधालाई सिर्जनात्मक विधा मान्न थालिएको छ । सिर्जना विधामा कविता, निबन्ध, आख्यान र नाटक पर्दछन् । यी मुख्य चार विधाका पनि अनेक उपविधा छन् । सबैभन्दा बढी उपविधा भएको सिर्जन क्षेत्र कविता हो ।

कवितालाई काव्य पनि भनिन्छ । हुनत परम्परागत पूर्वीय साहित्यमा काव्यको पहिलो अर्थ नै साहित्य भन्ने बुझिन्छ । यद्यपि कालान्तरमा काव्यको अर्थ कविता र कविताभित्र अनेक उपविधामा फुटकर कविता, लघुकविता, लामा कविता, मुक्तक, गजल, गीत, हाइकू, छोक, प्रबन्ध काव्य/खण्डकाव्यदेखि महाकाव्यसम्म पर्दछन् ।

साहित्यमा समीक्षालाई सिर्जनामाथिको सिर्जना भन्न सकिन्छ । यसलाई पनि दुई रूपमा लिन थालिएको पाइन्छः समालोचना तथा समीक्षा । समीक्षा शब्दलाई हेर्ने हो भने यो संस्कृत शब्द अर्थात् तत्सम हो । समीक्षाको सोझो अर्थ परीक्षण हुन्छ । समीक्षा शब्दले अन्य अनेक अर्थ दिन्छ । संस्कृतमा अर्थ राम्रोसँग हेर्ने काम, छानबिन वा जाँच–पडताल, गुण–दोषको अध्ययन, परीक्षण, खोज–अनुसन्धान, रचना वा पुस्तक आदिको विवेचना या समालोचना आदि हुने गरेको पाइन्छ ।

नेपाली बृहत् शब्दकोशले कुनै विषयवस्तुलाई राम्ररी वा नियालेर हेर्ने काम भनेर अथ्र्याएको छ । यसले गर्दा समीक्षा शब्दको अर्थ राम्ररी गरिएको जाँच, नियालेर गरिएको जाँच, सम्यक् परीक्षा तथा कुनै कृतिबारे गुणदोष छुट्ट्याइ निष्पक्षता र गम्भीरतापूर्वक गरिने विवेचना, समालोचना आदिलाई जनाउँछ । यसरी समीक्षालाई सोझै कृति हेर्ने वा कृतिमाथिको पहिलो दृष्टिकोण भनेर यदि कसैले भन्छ भने त्यो अधूरो हुन्छ वा निजी विचार मात्र हुन्छ भन्दा फरक पर्दैन ।

नेपाली साहित्यमा समीक्षा भनेर प्रचलित शब्दको अङ्ग्रेजी समकक्षी शब्द Critique हो । यस शब्दले The Art of Criticism भन्ने अर्थ दिन्छ । यदि पाश्चात्य साहित्यमा समीक्षाको इतिहास हेर्ने हो भने निकै पुरानो रहेको पाइन्छ । युरोपमा इ.पू. पाँचौं शताब्दीमा यस प्रणालीको प्रचार भएको मानिन्छ ।

पूर्वीय साहित्यमा आचार्य राजशेखरले काव्यमीमांसामा साहित्य–समीक्षाको सूत्रपात गरेका हुन् भन्ने मान्यता रहेको छ ।

नेपालमा र नेपाली साहित्यमा मोतीराम भट्टबाट समीक्षाको चलन चलेको मानिन्छ ।
जब साहित्यको सम्बन्धमा त्यसको उत्पत्ति, त्यसको स्वरूप, त्यसका विभिन्न अङ्ग, गुण–दोष आदि विभिन्न तŒव तथा पक्षको सम्बन्धमा विवेचन गरिन्छ, तब त्यसलाई साहित्यिक समीक्षा भनिन्छ ।

अहिले सामान्यतया पत्रपत्रिकामा समीक्षा भनेर जे आइरहेको छ, त्यो वास्तवमा कृति परिचय हो । यद्यपि साहित्य भनेकै प्रयोग पनि हो र समीक्षा यदि सिर्जनामाथिको सिर्जना हो भने समीक्षा पनि एकापसमा भिन्न हुनु स्वाभाविक नै हो । यसले पनि पृथक स्वरूप पाउनुलाई अस्वाभाविक मान्नुहुँदैन । यसैले नेपाली साहित्यमा समीक्षा र समालोचना पृथक भएर आएको छ । कृति परिचय शब्द बिस्तारै पातलिंदै छ र समीक्षा शब्द फक्रिंदैछ । यसले गर्दा अहिले समीक्षा कृतिको चर्चा हो, मूल्याङ्कन होइन भन्ने मान्यता स्थापित भइरहेको छ ।

समीक्षा कुनै पनि कृतिको हुन सक्छ । कुनै भाव वा विचारको हुन सक्छ । समीक्षाको आरम्भ र समापन भने एकै किसिमको हुनुपर्छ भन्ने होइन । यस कारण समीक्षाको सुरुआत कसरी हुन्छ वा समीक्षाको मूर्तरूप कसरी बन्न पुग्छ भन्ने विषयमा केही महŒवपूर्ण पक्ष पनि हुन्छन् ः
कृति पढ्नुपूर्व नै मनमा एक किसिमको भाव (प्रतिक्रिया) उत्पन्न हुन्छ, त्यो पूर्वसमीक्षा हो ।

कृति पढ्दापढ्दै मनमा उत्पन्न भइरहने प्रतिक्रिया (भाव)को आरोह–अवरोह पनि समीक्षा हो ।
कृति अध्ययन सकिनासाथ तत्काल मनमा उम्रने प्रतिक्रिया पनि समीक्षा हो र कृतिको समग्र अध्ययनपश्चात् त्यस कृतिमाथि व्यवस्थित प्रतिक्रिया लेखन समीक्षा हो ।

विषयवस्तु, प्रस्तुति र उद्देश्य खुल्ने गरी मुख्य कुरा नछुटाइ गरिने चर्चा समीक्षा हो ।
यसले पाठकलाई कृति पठनप्रति थप उत्सुक र जिज्ञासु बनाउनुपर्दछ ।
सम्भव भएसम्म कृतिको बाह्य जानकारी पनि दिनुपर्छ ।

यसरी कृतिको अध्ययनपछि गरिने समीक्षालाई समालोचनाको अभ्यास पनि भन्न सकिन्छ किनभने समीक्षा भनेको मूल्याङ्कन नै हो । यदि कृतिको मूल्याङ्कन हुन्छ भने मूल्याङ्कनको आधार पनि हुन्छ । एउटै कृतिको अनेक मूल्याङ्कनकर्ताले अनेक किसिमले मूल्याङ्कन गर्छन्। कसले कुन आधारमा मूल्याङ्कन गरेको हो भन्ने पक्ष पनि समीक्षामा विद्यमान हुन्छ । सामान्यतया समीक्षा वा समालोचनाको प्रमुख आधारमा संस्कृति अध्ययन, भाषा अध्ययन, विधागत सिद्धान्त अध्ययन, साहित्यको इतिहास अध्ययन र समालोचनाका सिद्धान्त अध्ययन पर्दछन् । कृति समीक्षा गर्न चाहनेले वर्तमानमा प्रचलनमा रहेको कृति समीक्षाको स्वरूपमा पनि कम्तीमा निम्न प्रश्नको उत्तर दिनुपर्ने हुन्छ ः

कृति परिचय (समीक्षा)प्रतिको दृष्टिकोण कस्तो छ ?
कृति किन पढ्न खोजिएको हो ?
कृति पढेर के प्राप्त भयो ?
कृतिका मुख्य कुरा के हुन् ?

समीक्षक आफूले कुनै कृतिभित्र माथिका प्रश्नको उत्तर खोज्नै पर्दछ । यसपछि कृति समीक्षामा लेख्नैपर्ने केही अनिवार्य तŒव पनि छन्, जस्तो कि, कृतिको विषयवस्तु (ऐतिहासिक, सामाजिक, यथार्थ, स्वैरकल्पना, पौराणिक, मिथकीय, लोकमान्यता, अलौकिक, आञ्चलिक वा सार्वभौम आदि), भाषा (साहित्यिक, गद्य वा पद्य, बोधगम्य, प्रौढ, कुन कालको भाषा, आञ्चलिक आदि), शैली (प्रस्तुतिको कला, दृष्टिबिन्दु, कृतिकारको मौलिकता), उद्देश्य, र शीर्षक । अझ सम्भव हुन्छ भने कृतिकारको व्यक्तित्वको परिचय र तिनका प्रकाशित कृतिबारे पनि केही शब्द राख्दा राम्रो मानिन्छ ।

साथमा जुन विधाको कृतिको समीक्षा भएको छ, सोही विधामा कृतिकारका अन्य कृति पनि छन् भने समीक्ष्य कृति पहिलेका कृतिहरूभन्दा कुन मामिलामा पृथक भएर आएका छन्, सोको जानकारी पनि दिंदा अझ राम्रो हुन्छ । यद्यपि कृतिको समीक्षा हुने हो, कृतिकारको होइन भन्ने मान्यतालाई भने बिर्सनुहुँदैन ।

वर्तमानमा कृति समीक्षाले परिचयात्मक प्रस्तुति दिने हुनाले कृति समीक्षा गराउन कृतिकारले नै प्रोत्साहन गर्ने गरेको पाइन्छ । यसरी कृतिकारले समीक्षा लेख्न लगाउनुको अर्थ यो पनि हो कि उनले चर्चा चाहेका हुन्, आलोचना होइन । आलोचना मन नपराउने र यदि राम्ररी आलोचना गरिदिने हो भने कृतिकारले समीक्षकप्रति नै नकारात्मक दृष्टिकोण राखी आलोचनात्मक बन्ने हुँदा सम्भव भएसम्म कृतिकारले पनि जसले आफ्नो आलोचना गर्दैनन्, तिनलाई नै कृतिको समीक्षा गराउन दिने चलन विकसित हुन गएको छ र स्वतन्त्र समीक्षा लेख्ने प्रवृत्तिमा निकै ह्रास आउन थालेको छ ।

यसरी नेपाली साहित्यमा प्रयोग र प्रचलनमा रहेका कृति समीक्षाहरू सामान्यतया व्यक्तिपरक, प्रशंसापरक र परिचयपरक रहेका छन् । तटस्थ समीक्षा र स्वच्छ समीक्षाको प्रचलन बिस्तारै कम हुँदै गएको पाइएको छ । कृतिकार र सम्भवतः पाठकले पनि यही खोजेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here