- वैधनाथ ठाकुर
मानिस गरीब होस् वा धनी सबैको जीवनको एउटै सपना हुन्छ । सबै मानिस चाहन्छन् जीवनमा सुखी हुन । सुख भन्ने चीज पनि बडो गजबको रहेछ । यतिबेला कुनै पनि यस्तो मानिस भेट्न गा¥हो हुन्छ, जसले यो भनोस्– म सुखी छु । संसारका धेरै मानिस यस कारण दुःखी छन् कि उनीहरू गरीब छन् । उनीहरूको सम्पत्ति नै आफ्नो श्रमबाहेक अरू केही छैन ।
बजारमा श्रमको कुनै निश्चित मूल्य छैन । हामीहरू जस्तो अति पिछडिएको देशमा झन् श्रम र श्रमिक दुवै हेलाको पात्रको रूपमा युगौंदेखि आफ्नो भूमिका निर्वाह गर्दैछन् । जबकि यतिबेलाको नेपालको कुरा गर्ने हो भने वास्तवमा हाम्रो मुलुक नै तिनै उपेक्षित पीडित श्रमिकहरूको विप्रेषणबाट चलेको छ । यदि विप्रेषण बन्द हुने हो भने हाम्रो जस्तो मुलुकलाई आर्थिकरूपमा असफल राष्ट्रमा रूपान्तरण हुन कुनै आइतवार पर्खिनुपर्दैन ।
राज्यद्वारा गरिंदै आएको लामो संस्थागत भ्रष्टाचारका कारण देशमा कुनै बेला खोलिएका दर्जनौं उद्योगधन्दा सबै बन्द भइसकेका छन् । एक जमानामा हामी धान, चामल, दाल, तरकारी जस्ता अनेकौं खाद्यवस्तु विश्व बजारमा आयात गर्न सक्षम थियौं तर आज उल्टै हामी ती सबै कुराको लागि विदेशीको मुख ताक्ने गर्छौं । करोडौं रुपैयाँको खुर्सानी र बेसार मात्रै आयात गर्नुपर्ने हाम्रो अवस्थाले हामी कति दयनीय स्थितिमा पुगिसकेका छौं भन्ने कुरा दिउँसोको घाम जत्तिकै छर्लङ्ग छ । नेपाली समाजमा गरीबी विकासको लागि ठूलो बाधकको रूपमा तेर्सिएको भए तापनि गरीबी निवारणको लागि ठोस काम भएको देखिंदैन ।
नेपाली राजनीतिको एउटा खास विशेषता, अहिलेसम्म के देखिएको छ भने देशमा रहेको आर्थिक विभेद समाप्त पार्न खोलिएका राजनीतिक दलहरूका नेताहरू गरीबी कम गर्न नसके पनि आफूचाहिं धनी बन्न सफल भएको सबैलाई देखाएका छन् । राजनीतिक दलमा लाग्नुभन्दा अगाडि नाङ्गै खुट्टा हिंड्न बाध्य रहेका हाम्रा नेताहरू चाहे ती कम्युनिस्ट पार्टीका होऊन् वा काङ्ग्रेसका अथवा मधेसी पार्टीका वा अन्य कुनै पनि पार्टीका तिनीहरू सबै हेर्दाहेर्दै धनी (अभिजात वर्ग) श्रेणीमा रूपान्तरण भइसकेका छन् । तिनीहरू सबैका काठमाडौंलगायत देशका विभिन्न शहरमा आलिशान महल र अनगिन्ती कित्ता जग्गा जमीन छन् । जबकि तिनीहरूको आम्दानीको कुनै ठोस स्रोत देखिंदैन । यस्तोमा प्रश्न उठ्छ, कसरी ती भुइँफुट्टाहरू रातारात धनी भए त ?
एकचोटि माननीय भएपछि लक्ष्मी उसको खप्परमा छप्पर च्यातेर आउने गरेको सबैले देखेकै हो। अमुक व्यक्ति कुन पार्टीको हो ? त्यसको सिद्धान्त के हो ? यस्ता कुराहरूले तबसम्म मात्रै महŒव राख्ने गर्दछ, जबसम्म ऊ सडकमा हुन्छ । माननीय भइसकेको हुँदैन तर जब एकचोटि माननीय हुन्छन्, त्यसपछि चौतर्फीरूपमा लक्ष्मीको कृपा अनायस हुन थाल्छ । अब ऊ जीवनभर माननीय भइरहन खोज्छ । यस्ता माननीयको सङ्ख्या धेरै भइसकेको हुनाले एकापसमा टकराव हुनु पनि स्वाभाविक हुन्छ ।
जनताका दुःख निदान गर्न गएका माननीयहरू स्वयम् आफू राजा महाराजा बन्ने गजबका सूत्रहरू सिंहदरबारभित्र फेला पार्छन् । हो त्यही सूत्रको प्रयोग आफ्नो हितमा गर्न खोज्दा घात, प्रतिघात जस्ता समस्याहरू स्वाभाविकरूपमा उत्पन्न हुन जान्छ । यसरी पैसा निकै कमाउन सफल भएकाहरूलाई दुई नम्बरी कामको कुलत यसरी लाग्छ मानौं ऊ त्यसको अमली नै भइसक्यो । दुई नम्बरको कमाइ नआएपछि हप्ता, महीना उसलाई खान मीठो लाग्दैन । जबकि उसको थालभरि बास्मती चामल र मासुको मीठो परिकार हुन्छ तर पनि ऊ सा¥है दुःखी हुन्छ । मानौं, ऊसँग सबैथोक भएर पनि केही नभएजस्तो ।
यसरी के देखिन्छ भने खुशी कोही पनि छैन । सारमा भन्नुपर्दा सबैजना दुःखी छन् । यसको मतलब सबैको दुःख एउटै हो त ? धेरै मानिस बिहान खाएपछि साँझ के खाने, आज खाएपछि भोलि के खाने ? भनेर दुःखी छन् । कोही प्रधानमन्त्री भएर पनि दुःखी छन्, यस कारण कि उसको भन्दा बढी कमाइ गृहमन्त्रीको भयो । उसले थाहा नपाउने गरी परराष्ट्रले अमुक विषयमा यति धेरै कमिशन सुटुक्क हात पा¥यो । यतिमात्र होइन आफूभन्दा अगाडिका प्रधानमन्त्रीले जति आफूले कमाउनै सकिएन भन्ने कुराको पनि पीर छ उसलाई । त्यसमाथि एकचोटि माननीय भएर मात्र पुग्दैन । बाँचुन्जेल कसरी माननीय भइराख्ने महŒवाकाङ्क्षाले पनि थप पीडा दिइरहन्छ ।
भनिन्छ, लक्ष्मी देखेपछि महादेवको पनि त्रिनेत्र खुल्छ रे । पार्वती जस्ती सुन्दर पत्नी पाउँदा पनि दुईटा आँखा मात्रै खुलेको थियो तर जब लक्ष्मी देखियो त्यसपछि तेस्रो आँखा पनि खुल्यो। यो कुरा साँच्चै रहेछ । नेपाली राजनीतिमा देखिएका सबै दलभित्रको आन्तरिक कलहको मुख्य कारण त्यही लक्ष्मी नै हो । लक्ष्मीलाई आफ्नो बनाउने होडमा आफ्नै पार्टीका सहयात्री र सहयोद्धाहरूलाई यतिधेरै चाबुक (को¥रा) प्रहार गर्न पुग्छ कि हिजोसम्म आदर्शको रूपमा स्थापित नेता कामै नलाग्ने कुपात्रको रूपमा परिभाषित गर्न थालिन्छ ।
यस्तो अवस्थामा सबैभन्दा बढी पीडा बिचरा तलतलका कार्यकर्ताहरूले भोग्नुपर्छ । एउटै घरमा दुईवटा पार्टीका झन्डा देखिनु सहज र स्वाभाविक लाग्छ । त्यसमा भोजपुरीमा एउटा उखान छ– खेत खाय गदाहा मार खाय जोलहा । अर्थात् किसानको खेतमा बाली गधाले खाइदिएपछि जोलाहा (गधाका मालिक)लाई खेतवालाले बेस्सरी कुट्ने गर्छ । ढिलोचाँडो फेरि नेताहरूको स्वार्थ एकै ठाउँमा मिल्न पुग्छ र उनीहरू कहिले फुटेकै थिएनन् जस्तो गरी मिल्न जान्छन् । विगतका सबै भनाभन, मुख छाडाछाडा सबैलाई बिर्सिदिएर उनीहरू एक भइदिन्छन् । तर फुटको त्यस प्रकारमा अन्तरविरोधको त्यस अशिष्ट शैलीमा तलतलका कैयौं कार्यकर्ताले अनाहकमा ज्यानसमेत गुमाउने गरेको कुरा नेताहरूलाई कुनै चासोको विषय रहँदैन ।
हाम्रो समाजमा सबै कुरा पैसामुखी छ । पैसाले नै सबै कुरा निर्धारण गर्छ । तस्करी, भ्रष्टाचार वा अन्य कुनै नैतिकहीन काम कुराबाट पैसा कमाउनेहरूले विगतका वर्षहरूमा सबै पार्टीभित्र गरीब, सोझा कार्यकर्ताहरूलाई पाखा लगाएको सबैले देखेकै हो । चाहे निर्वाचनको बेला चुनावी टिकट वितरणको सवाल होस् । अथवा पार्टीभित्र प्रमुख जिम्मेवारीको बाँडफाँड होस् । सबै कुरामा सबै पार्टीभित्र पैसाकै प्रमुख भूमिका रहेको देखिन्छ । इतिहासको पृष्ठभूमिमा गरीब, इमानदार कार्यकर्ताले गरेका त्याग यतिखेर धनी नेताहरूको झोला बोक्ने महान् काममा मात्रै प्रयोग भइरहेको छ ।
देशमा शिक्षा र स्वास्थ्य जस्ता आधारभूत कुरा अति महँगो बनाइएको छ । आजको युगमा मानिसहरूको, आधुनिक शिक्ष्Fाको अभावमा, सुस्वास्थ्यको अभावमा, के नै अस्तित्व रहन जान्छ ? त्यसैले पैसामुखी सम्पूर्ण कुरा भएपछि मानिसहरू सहजै पैसाको लागि इमान बेच्न तयार रहन्छन् र पैसा कसरी कमाउने भन्दा पनि पैसावाल कहलाउन सबैजना लालायित रहन्छन् । धन कुबेर बन्ने यस म्याराथुन दौडमा विजेता बन्न निकै गा¥हो मात्रै होइन असम्भव नै छ । तापनि मान्छे दौडिरहून् भन्ने आशयले भनिएको छ– भगवान्के घरमें देर है अन्धेर नहीं।