शिक्षासँगै रोजगार प्रदान गर्ने शिक्षानीति जरुरी

• भरत सहनी

वर्तमानमा युवा पलायन हाम्रो सामाजिक बहसको विषय बन्दै गएको छ । एकथरी, जो अलि हुनेखाने छन्, उनीहरू पढ्न भनेर युरोप, अमेरिका, अस्ट्रेलिया, जापानतिर जान्छन् । अर्काथरी घर चलाउन स्वदेशमा पाइरहेकोभन्दा श्रमको बढी मूल्य पाउन खासगरी खाडीका मुलुकतिर जान्छन् । पछिल्लो वर्गका मानिसका लागि देशमा पर्याप्त रोजगार छैन । खेतीपाती गर्न गाह्रो छ, घर धान्न हम्मेहम्मे पर्छ । देशमा कतिलाई पुग्ने कस्तो–कस्तो गैरखेती रोजगार छ, यो त्यति यकीन गर्न सकिएको छैन । तर यत्रो युवालाई पुग्ने छैन, यसका लागि तथ्याङ्क चाहिंदैन । शिक्षाले नै कति र कहिलेसम्म रोजगार सिर्जना गर्छ, त्यो भन्न सकिन्न । सत्य चाहिं के हो भने हामी ठूलो मात्रामा उच्च शिक्षा आयात गरिरहेका छौं । यस्तो किन र कसरी भइरहेको छ भनेर कारण खोज्नु स्वाभाविक हो । अझ हाम्रो बानी त समस्या ठूलो भएपछि बलिको बोको देखाउने चलन बढी छ ।

विद्यालय जाने उमेरका ९६ प्रतिशत भन्दा बढी बालबालिका विद्यालय भर्ना भएको शैक्षिक तथ्याङ्कले देखाउँछ । प्राथमिक तहको विद्यार्थी भर्नादर सन्तोषजनक देखिए पनि आधारभूत तह, माध्यमिक तह र उच्च शिक्षा तहको विद्यार्थी भर्ना चिन्ताजनक रहेको छ । विद्यार्थीकालमैं कमाइ गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण युवाहरूमा पढाइबाट मन मर्दै गएको आभास हुन्छ । यस किसिमको अर्थ–प्रधान प्रवृत्तिले कलिलै उमेरका युवाहरूमा कालाबजारी तथा अन्य अपराधजस्ता गलत बाटो पछ्याउन सक्ने खतरा उच्च रहेको छ । हाम्रा जस्ता मुलुकका अधिकांश विद्यार्थीले बीचमैं पढाइ छाड्ने मूल कारण गरीबी नै हो । विदेश गएका युवाले बस्न, खान र पढाइ शुल्क तिर्न आंशिकरूपमा काम गर्नुपरेका प्रशस्तै उदाहरण भेटिन्छ । अध्ययन तथा कामको सिलसिलामा विदेशिने प्रचलन भने पहिलेदेखि नै चलिआएको छ । विगतमा पनि कामको खोजीमा धेरै युवा मुग्लान पस्थे । त्यहाँ जे काम पाए पनि, पारिश्रमिक लिएर नेपाल फर्कन्थे नै । अहिले पढ्नका लागि मात्र नभएर सेना, प्रहरी, वित्तीय वा स्वास्थ्य क्षेत्रका व्यक्ति जागीर छाडेर विदेश गएका थुप्रै उदाहरण हाम्रै वरपर छ । हाम्रा विद्यार्थी मात्र पलायन भएनन्, हुनेखाने र जागीरेसमेत अमेरिका, क्यानाडा, बेलायत, अस्ट्रेलिया, जापान, कोरियालगायत देशहरू जान थाले । डिभी तथा पिआर हात पर्नासाथ यहाँका उच्च पदाधिकारीसमेत विदेश जान थालेका छन् । आप्mनो अवस्थाभन्दा विकसित देशका सुख–सुविधामा लोभिनु स्वार्थी प्रवृत्ति हो । आपूm जन्मेको भूमि बिर्सेर अन्यत्र मुलुकमा रमाउनु सच्चा देशभक्तका लागि सुहाउने कुरा कदापि होइन ।

एउटा गाउँको युवा घर नजीकैको विद्यालयमा पढेर शिक्षित हुन्छ, अनि त्यो ठाउँ छाड्न खोज्छ । आपूmलाई अरू गाउँलेभन्दा फरक देखाउन खोज्छ । आपूmले जानेको ज्ञान र सीप आप्mना छरछिमेकीलाई बाडौं भन्दैन । आपूmले हासिल गरेको शैक्षिक उपलब्धि सोझा–निमुखा गाउँलेको विकासमा लगाउन नखोज्नु विडम्बना नै हो । अहिलेको शिक्षाले एउटा सामान्य व्यक्तिमा पनि अहम् जगाएर आपूm जन्मेको भूमि बिर्सेर अर्को ठाउँ जान खोज्नु दुःखद हो । पढे–लेखेर केही जान्ने–सुन्ने हुनासाथ जन्मथलो नै छाड्न उत्प्रेरित गराउने शिक्षा, आखिरमा कस्तो शिक्षा हो ? यस्तो शिक्षालाई कसरी मूल्याङ्कन गर्ने ? यो पनि अनुसन्धान तथा खोजीकै विषय बन्न पुगेको छ । माथि उठ्नका लागि जन्मथलो नै छोड्नुपर्ने अवस्था किन आउँछ ? यसरी गाउँबाट शिक्षित भएर, शहर पस्न मन लाग्ने शहर पस्छ, नत्र सोझै विदेश जाने मानसिकता बनाउँछ । यो नै आधुनिक शिक्षाको उपज बन्दै आएको वर्तमान अवस्था छ ।

पढे–लेखेर जान्ने–बुझ्ने भएपछि विदेश गएपछि मात्र इज्जत बढ्ने प्रवृत्ति आमयुवामा पलाउँदै गएको छ । गाउँ समाजले फलानाको छोरो गज्जब गरेछ, विदेश गएर ठूलो मान्छे भएछ, फलानाका बाबुआमा धेरै भाग्यमानी रहेछन्जस्ता कुरा गर्छन् । समाजको यस्तो धारणाले झनै युवाको विदेश पलायनलाई प्रश्रय दिएको छ । नेपालमा प्रजातन्त्र पुनः स्थापनाका साथै विश्वव्यापी उदारीकरण एवं भूमण्डलीकरणले ल्याएको लहरसँगै विदेशिने शैलीको विकास भयो । अझ माओवादी सशस्त्र विद्रोहले यस अभियानमा मलजल पु¥यायो । स्वदेशमा रोजगार अभावले श्रम गन्तव्यको खोजीमा खाडी मुलुकलगायत अन्य देशमा जाने लहर ह्वात्तै बढ्यो । समय क्रमसँगै वैदेशिक रोजगारबाट आएको रेमिट्यान्सले अर्थतन्त्रलाई राहत महसूस भयो । अहिले रेमिट्यान्स तलमाथि हुनासाथ हाम्रो अर्थतन्त्र नै डामाडोल हुने स्थिति सृजना भएको छ ।

युवा जनशक्ति पलायनको कारण राजनीति र शैक्षिक दुवै हो । देशको राजनीति अस्थिर छ । देशको अवस्था अस्तव्यस्त छ । शिक्षा क्षेत्रमा व्यापक अन्योल र लापरवाही छ । जुनसुकै सरकार आए पनि जनताले राहत महसूस गर्न सकिरहेको छैन । बजारमा मूल्य आकाशिएको छ । केही महीना यता झन्डै तीन गुणा मूल्यवृद्धिको मार जनताले खेपिरहेको छ । हामीकहाँ शैक्षिक बेरोजगारी दिनहुँ बढिरहेको अवस्थामा युवालाई जीवनोपार्जनका लागि विदेश भौंतारिने बाध्यता बनेको छ । शिक्षालाई गुणस्तरीय, व्यावहारिक र रोजगारमूलक बनाउनेतर्फ बहस र छलफल कमै भएको सुनिन्छ । गणतान्त्रिक मुलुक भएपछि अहिलेसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय शिक्षा नीति ल्याउन सकेको छैन । शिक्षाले नै अवसर र रोजगारका पहुँच वृद्धिका साथै ज्ञान विज्ञानको क्षितिज उघार्न मदत पु¥याउँछ । यसका लागि समयसापेक्ष, अन्तर्राष्ट्रियरूपमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षा चाहिन्छ । यस्ता कुरामा राज्यको ध्यान किन पुग्न सकेन ? बुझी नसक्नुछ ।

दैनिक दुई हजारभन्दा बढी बेरोजगारी जनशक्ति कामको खोजीमा विदेशिन्छ । सीपको अभावले गर्दा झन्डै ९० प्रतिशत अदक्ष कामदार बाहिरिंदै गएका छन् । सीपयुक्त जनशक्ति तयार गर्न हाम्रो शिक्षा अझै असफल देखिन्छ । शिक्षामा लगानी बालुवामा पानीझैं साबित हुँदै गएको अवस्था छ । हाम्रा युवालाई गाउँमै बसेर उच्च शिक्षासम्म पढ्ने अवसर सृजना गरिनुपर्छ । त्यहाँ बस्दा स्रोतसाधन, वातावरण र अवसरको कमी महसूस हुन दिनुहुन्न । शिक्षाले देशको भूगोल, कृषि वन, वातावरण, पशुपंछी, सूचना तथा सञ्चार, प्रविधि, औषधी विज्ञान, पर्यटन, सुरक्षा, प्रशासन, ऊर्जा, रसायन, यातायात, अन्तरिक्ष, वायुमण्डलको अध्ययन, अनुसन्धान र विकास गर्न सक्नुपर्छ । वर्तमान अवस्था दृष्टिगोचर गर्दा विश्वमा प्रतिभाकै व्यापार हुन थालेको भान हुन्छ । अधिकांश अविकसित देशका ठूला वा साना प्रतिभा विदेश भौंतारिरहेका छन् । शैक्षिक अव्यवस्थाले मुलुकमा सुयोग्य नागरिक उत्पादन हुन सक्दैन । फलतः नेतृत्वदायी ठाउँमा योग्य मानिसको कमी हुन्छ । यही परिस्थिति आज हाम्रो देशले बेहोरिरहेको छ । शैक्षिक क्षेत्रले त प्राज्ञिक, योग्य, इमानदार र लगनशील व्यक्ति उत्पादन गर्नुपर्ने हो । तर, शिक्षक सङ्घ/सङ्गठनहरूले प्राज्ञिक र शैक्षिक हकहितभन्दा सेवा र सुविधाका लागि मात्र आवाज उठाउने गर्दा विद्यार्थीको पढाइमा असर पुगेको जगजाहेर छ ।

देशका शिक्षालयहरू नेताका आफन्त तथा कार्यकर्ता भर्ती केन्द्रजस्तै हुन थालेका छन् । शिक्षा क्षेत्रको अर्बौं रकमको समुचित प्रतिफल प्राप्त नभएको स्पष्ट छ । यही परिणामले १२ कक्षा उत्तीर्ण हुनासाथ विदेश अध्ययनका लागि जाने र त्यहीं पलायन हुने प्रवृत्ति बढ्दै गएको देखिन्छ । अर्कोतर्फ, उच्च शिक्षा हासिल गरेका व्यक्ति पनि रोजगारका लागि विदेश पलायन हुने गरेका छन् । यसरी शिक्षित र प्रतिभावान् नागरिक आप्mनो देश छाडेर विदेश जाँदा मुलुकले योग्य जनशक्ति गुमाउन पुग्छ । राज्यले ठूलो लगानी गरी उत्पादन गरेको दक्ष जनशक्ति विदेश पलायन हुँदा त्यसबाट हुने हानिबारे बहस तथा विमर्श हुन नसकेको अवस्था छ । राजनीतिक व्यवस्था फेर्दैमा केही भएन, फेरिनुपर्ने आम जनताको सामाजिक अवस्था थियो । यसका लागि शिक्षामा बृहत् सुधारको खाँचो छ । तसर्थ, अब आउने सङ्घीय शिक्षा नीतिमा गुणस्तरीय शिक्षासँगै रोजगारको अवसर सृजना गर्ने नेपाली जनताको साझा माग सम्बोधन गर्नु आवश्यक छ ।