‘सत्य सेवा सुरक्षणम्’ अर्थात् सत्य, सेवा र सुरक्षा प्रहरी सङ्गठनको मूल मन्त्र हो । यसभित्र प्रहरीको काम, कर्तव्य, अधिकार तथा लक्ष्य र उद्देश्य स्पष्ट छ । सङ्गठनको मूल नाराबाटै कोही विचलित हुन्छ भने त्यो प्रहरी होइन, प्रहरी सङ्गठनमा घुसेको भाइरस हो र प्रहरीको नाममा कलङ्क हो । आपराधिक क्रियाकलापको अनुसन्धान गरी निष्कर्षमा पु¥याउनुपर्ने, नागरिकको सेवक बन्नुपर्ने र उक्त कार्यका निम्ति सधैं सत्य मार्ग अपनाउनुपर्ने प्रहरी सङ्गठन यस्तै कलङ्कहरूका कारण बेलाबखत बदनाम हुने गरेको छ । हालै रौतहटमा घटेको घटनाले प्रहरी सङ्गठनलाई बदनाम ग¥यो । प्रहरीले एकजना निर्दोष सञ्चारकर्मीलाई लागूऔषधमा फसाउन खोजेको कर्तुत पर्दाफास भएको छ । रौतहटका सञ्चारकर्मी मोजिबुल्लाहलाई नियन्त्रणमा लिई प्रहरीले लागूऔषध नाइट्रोभ्याट ट्याब्लेट भिडाएर फसाउन खोजेको कुरा बाहिर आयो । विभिन्न समयमा प्रहरीले बरामद गरेका लागूऔषध नै सञ्चारकर्मीलाई फसाउन प्रयोग गरिएको सिसिटिभी फुटेजबाट पुष्टि भएको छ ।

आपराधिक घटना नियन्त्रण गर्ने जिम्मा पाएको प्रहरी नै यसरी अपराध कर्ममा संलग्न हुने र निर्दोषलाई फसाउन उद्यत हुनुले प्रहरी सङ्गठनप्रति जनताको विश्वास गुम्न थालेको छ । यस्ता घटनाले सिङ्गो प्रहरी सङ्गठनमाथि नै प्रश्न उठ्छ । सञ्चारकर्मी समाजका सचेत नागरिकमध्येमा पर्छ । एउटा सचेत र सङ्गठित नागरिकमाथि त प्रहरीले यस्तो निकृष्ट षड्यन्त्र गर्छ भने सर्वसाधारण, सोझा, सीधालाई के गर्ला ? जनताले असुरक्षा महसूस गर्नुका साथै आतङ्कित र आक्रोशित छन् । यो कुरा प्रहरी सङ्गठनकै लागि विडम्बना हो । विगतमा ३३ किलो सुन तस्करी तथा सनम हत्याकाण्ड र निर्मला पन्त हत्याकाण्डमा प्रहरी मुछियो र सफाइ पनि पायो । निर्मला पन्त हत्याकाण्डमा प्रहरी दोषी नभए पनि उसको अनुसन्धान प्रक्रिया गलत थियो । त्यसैगरी, अन्य घटनामा सबै प्रहरी दोषी र सबै निर्दोष छैनन् । निर्मला प्रकरणमा प्रारम्भिक अनुसन्धानको क्रममा भएको लापरवाही तथा त्रुटिका कारण हत्यारा अझै पत्ता लाग्न सकेको छैन । फेरि पनि प्रहरीले जानाजान गलती गर्दैन भनेर सर्वसाधारण आश्वस्त हुन लागेको बेला रौतहटको जस्तो घटना भइदिंदा प्रहरीले जानाजान षड्यन्त्रपूर्ण तरीकाले अपराध गर्ने रहेछ भन्ने कुरा सर्वसाधारणको बुझाइमा परेको छ ।

बर्दीको आडमा प्रहरी आपराधिक घटनामा संलग्न देखिन थालेपछि प्रहरीले गरेका कैयौं राम्रा काम पनि ओझेलमा परेका छन् । यसले प्रहरी सङ्गठनको नेतृत्वमाथि पनि प्रश्नचिह्न खडा गरेको छ । अब यो प्रश्नचिह्न मेट्न र जनतामा स्वच्छ छवि बनाउनका लागि प्रहरी सङ्गठनले कुपात्रहरूविरुद्ध कडा कारबाई चलाउनै पर्छ । आपराधिक घटनामा संलग्न भएका प्रहरीलाई ठाउँ सारी वा निलम्बन मात्रै गरेर पुग्दैन । सङ्गठनलाई अब्बल बनाउने हो भने त्यस्तालाई सेवाबाटै बर्खास्त गरी अपराधबमोजिमको दण्डसजाय भोग्न कानूनी दायरामा ल्याउनुपर्छ । कतिपय अपराधमा संलग्न प्रहरीकर्मीलाई कानूनको दायरामा ल्याउनुभन्दा पनि जोगाउनतिर केही प्रहरी अधिकारी र राजनीतिक दलका अगुवाहरू लागेको पाइन्छ । सत्य, सेवा र सुरक्षाको लक्ष्यप्राप्तिका निम्ति काम गर्ने क्रममा कुनै त्रुटि हुन गए सङ्गठनले अभिभावकत्व गर्दै जोगाउनु पनि पर्छ, तर सङ्गठन नै धराशयी पार्न लागिपरेका कुपात्रहरूलाई जोगाउनु चाहिं नागरिक, सङ्गठन र राष्ट्र हितमा हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here