महोत्तरी, १० भदौ/रासस
भदौको सुरुआतदेखि परेको वर्षाले धानखेतीलाई राहत मिलेको छ। आकाशे पानीको भर परेका किसान सिमसिम पानी परेपछि औधी खुशी भएका हुन्।
“भदौ लागेयता समय–समयमा पानी परेको छ, धानका बोट लहलहाएका छन्,” भङ्गाहा नगरपालिका–५ कर्पुरगंजका किसान रामजुलुम सरदारले भने, “सन्तुलित बर्खाको पानी त आकाशे पानीका भरको धानखेतीलाई अमृतजस्तै हुन्छ।” भदौ लागिकन दुर्ईपटक यस भेगमा परेको पानीले धानका बोट गाँजिन र पोटाउन राम्रो सहयोग पुगेको उनले बताए।
जिल्लामा कुल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र स्थायी सिंचाइ
(कुलो, नहर)को प्रबन्ध छ। पछिल्ला केही वर्षयता वैकल्पिक सिंचाइ (इनार, बोरिङ)को सुविधा बढ्दै गए पनि यो प्रबन्धमा अनुकूल वर्षा नहुँदा पानीका मुहान सुक्ने गर्छन्। यो सुविधाको निरन्तरताका लागि अनुकूल वर्षा आवश्यक पर्ने कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरका कृषिविज्ञ बताउँछन्।
जिल्लामा करीब ५० हजार हेक्टरको हाराहारीमा धानखेती हुँदै आएको केन्द्रकोे तथ्याङ्कले देखाउँछ। यसपालि गत असार मध्ययता भएको अतिवृष्टिले जिल्लामा ४० हजार हेक्टरमा धानखेती गरिएको छ। असार र साउनको बर्खे भेलले रोपिएकै धानको रोपो पनि बगाउँँदा चिन्तित बनेका किसान अब भने अनुकूल वर्षा भएको हुँदा खेतीबाट राम्रो उत्पादन हुने आसमा छन्।
पछिल्लो वर्षाले धानखेतीलाई राहत भएपनि जिल्लामा यसपालि नगदे तरकारीखेती भने निकै घट्ने भएको छ। तरकारीखेतीलाई खेतबारी रुखिनुपर्ने र लगातार गोडमेल गर्नुपर्ने भएको हुँदा यसपालि असार, साउनमा धेरै पानी परेर खेतीको अनुकूलता नभएको तरकारी किसानको भनाइ छ। नगदेखेतीमैं उखुखेती भने फस्टाएको गौशाला नगरपालिका–१२ का दोरिक महतो बताउँछन्।
बर्खाले जिल्लाका सडक भने हिलाम्य भएका छन्। गाउँँबस्तीका कच्ची सडक मात्र नभएर मुख्य सडक नै आहालमा परिणत भएका छन्। जिल्लाको उत्तर–दक्षिण जोड्ने बर्दिबास–रामगोपालपुर–जलेश्वर सडक नियमित मरम्मतसम्भार नहुँदा ठाउँठाउँमैं ठूल्ठूला खाल्डा बनेर यातायात साधन चलाउन जोखिमयुक्त बनेको छ। यसबाहेक महेन्द्रनगर–सीतापुर–औरही–गौशाला सडक पनि बर्खे भेलले कटान र डुबान गराउँदा खाल्डैखाल्डो बनेका छन्। सडक सम्बद्ध कार्यालय र स्थानीय तहले सडक
मरम्मत–सम्भार र ढल व्यवस्थापनको काम हिउँदमा नियमित गर्न नसक्दा यो बिजोग खेप्नुपरेको जिल्लाका सर्वसाधारण बताउँछन्।