कोरोना भाइरसको खोप लगाएकाहरू ढुक्क हुँदै जाँदा खोप नलगाएकाहरूमा त्रास थपिंदो छ । अहिलेसम्मको खोज अनुसन्धानले कोरोनालाई जित्नका लागि एउटा मात्रै उपाय खोप देखियो । स्वास्थ्य सुरक्षा मापदण्ड तथा सावधानीहरू अल्पकालीन सुरक्षाका लागि मात्रै हुन् ।

हाम्रो आफ्नै मुलुकको अनुभवले पनि यो कुरा पुष्टि गरेको छ । एक मात्रा मात्रै खोप लगाएकाहरूलाई पनि कोरोनाको दोस्रो लहरले खासै असर गरेन । केहीमा सङ्क्रमण देखिए पनि उनीहरूको अवस्था गम्भीर देखिएन । खोप लगाएको कम्तीमा चार हप्तासम्म शरीरमा भाइरसविरुद्ध एन्टीबडी तयार नहुने हुँदा कतिपय खोप लगाएकाहरू यही बीचमा सङ्क्रमित भए त कतिले ज्यान गुमाएका पनि छन् ।

पहिलो मात्रा खोप लगाएको चार हप्ता कटिसकेपछिको अवस्थामा भने सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या हाम्रो मुलुकमा शून्य छ । विभिन्न उत्पादकका खोपहरूको प्रभावकारिता पनि फरक–फरक छन् । हाम्रो मुलुकमा हालसम्म चीनबाट अनुदानमा आएको भेरोसिल खोप र भारतबाट अनुदानमा ल्याएको कोभिशिल्ड खोप प्रयोगमा छ । भेरोसिल खोपको ७९ प्रतिशत प्रभावकारिता भनिएको छ भने कोभिशिल्डको प्रभावकारिता ७० देखि ७४ प्रतिशत भनिएको छ ।

एउटामा २१ प्रतिशत र अर्कोमा २६ प्रतिशतमा सङ्क्रमणको खतरा देखियो । तर अहिलेसम्मको अवस्था हेर्दा हामीकहाँँ दुवै खोपले सय प्रतिशत नै काम गरेको जस्तो भान भइरहेको छ । दुवै खोप गरी नेपालमा अहिलेसम्म करीब २७ लाखजनाले खोप लगाएका छन् ।

सोमध्ये करीब आठ लाखजनाले मात्रै दोस्रो मात्राको खोप पाएका छन् । मुलुकको जनसङ्ख्या करीब तीन करोड छ । जुन खोप लगाउनेको सङ्ख्या अति न्यून हो । पहिलो मात्रा खोप लगाएकामध्ये भेरोसिल लगाएका लागि दोस्रो मात्राको खोपको सुनिश्चितता रहेको सरकारले बताइरहे पनि पहिलो मात्रा कोभिशिल्ड लगाएकाहरूको दोस्रो मात्रा अझै अनिश्चित छ । एक मात्रा खोप लगाएका व्यक्तिमा पनि केही अवधिका लागि अस्थायीरूपमा प्रतिरोधात्मक क्षमता विकास हुने कुरा सर्वसाधारणले बुझेका छन् ।

उसो त दुवै मात्रा लगाएकाहरू झन् ढुक्क हुने नै भए । कतिपय परिवारमा एक/दुई जनाले मात्रै खोप लगाएका छन् भने कैयौं कार्यालय वा कार्यस्थलहरूमा एक्कादुक्काले खोप पाएका छन् । गाउँँ, टोल, समाजको अवस्था पनि यस्तै छ । हरेक स्थानमा कमोबेस सङ्ख्यामा खोप पाउने र नपाउने दुवै छन् ।

यसले अब झन् खतरा निम्तिदै छ । पहिलो कुरा त हामीले लगाएको खोप सय प्रतिशत प्रभावकारिताको होइन । यसको मतलब खोप लगाएका सबैलाई सङ्क्रमण नहुने प्रत्याभूति छैन । तर खोप लगाएका व्यक्ति भने आफैमा सय प्रतिशत ढुक्क भएका हुन्छन् । यसो गर्दा उसले खोप नलगाउँँदा जस्तो सावधानी अपनाउँदैन । भोलि २१ प्रतिशत वा २६ प्रतिशतमा ऊ पर्न सक्ने र सङ्क्रमण हुन सक्ने खतरा देखियो ।

अर्कोतर्फ खोप लगाएकाहरू सावधानी नअपनाइ हिंड्दा उनीहरू कोरोना भाइरसको संवाहक बन्न सक्छन् । उनीहरूको हात एवं बाहिरी शरीरबाट पनि सङ्क्रमण परिवार र समाजमा सजिलै पुग्न सक्छ । यसो भएमा भोलि तेस्रो लहर दोस्रोभन्दा पनि विनाशकारी हुनेछ । यसर्थ सरकारले जतिसक्दो छिटो सबैलाई खोपको व्यवस्था गर्नुपर्छ । खोप दिन नसकेसम्म स्वास्थ्य सुरक्षा मापदण्डमा कडाइ गर्दै परीक्षणको दायरा बढाउने र खोप लगाएकाहरूलाई पनि त्यो दायराभित्र राखिनु जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here