प्रस, ठोरी, ३ असार/

लगातारको वर्षाको कारण ठोरीमा वर्षे धानखेती गर्ने किसान रोपाइँमा व्यस्त भएका छन् भने चैते धान लगाएका किसानहरू समस्यामा परेका छन् । यस वर्ष मनसुन चाँडै शुरू भएपछि ठोरी गापामा किसानले असारको पहिलो सातामैं वर्षे धान रोप्न शुरू गरेका हुन् । आकाशे पानीको भरमा धानखेती गर्ने किसानलाई वर्षाले फाइदा पु-याएको छ ।

गत वर्ष वर्षाको कारण साउनमा धान रोप्न बाध्य भएका किसानहरू यस वर्ष असारको पहिलो सातामैं रोपाइँ सम्पन्न गरेको ठोरी गापा–४ का राकेश श्रेष्ठले बताए । उनले जेठ मसान्तसम्म १५ कट्ठा खेतमा धान रोपेको बताए । गत वर्ष साउनमा धान रोपेको सम्झँदै उनले यस वर्ष बेलैमा धान रोप्न पाएकोले उब्जनी बढ्ने बताए । ठोरीका अन्य किसान पनि यतिबेला धमाधम रोपाइँ गर्दैछन् ।

त्यसैगरी, माघ मसान्तमा मकै छरेका किसानहरू अहिले मकै भिœयाउन व्यस्त भएकाले धान रोप्न भ्याएका छैनन् । तोरी र सुर्ती खेतीपछि मकैखेती गरेका किसानहरू मकै नपाकेर धान रोपाइँ गर्न नपाएपछि चिन्तित भएका छन् । विशेषगरी, ठोरी गापा–४ का किसानले सुर्ती र तोरी खेतीपछि ढिलो गरी धानको बीउ छर्छन् । मकै ढिलो गरी पाकेपछि आकाशे पानीको भरमा खेती गर्ने किसानलाई धान रोप्ने चिन्ता थपिएको ठोरी–४ की कान्छी कार्कीले बताइन् । उनले १५ कट्ठा खेतमा रोपेको मकै बालीमा भर्खरै घोगा लागेको बताइन् ।

हिउँदे मकै भित्राएर धान रोप्न ठीक्क परेका किसानलाई वर्षाले फाइदा पु-याएको छ । ठोरी गापा–३ को रामनगर, बुद्धनगर, ब्रह्मनगरमा हिउँदे मकैखेती गरिएको छ ।

चैते धानखेती गरेकालाई पानीले सास्ती

चैते धानखेती गरेका ठोरीका किसानलाई वर्षाले दुःख दिएको छ । लगातार वर्षा हुन थालेपछि उनीहरूले पाकेको धान भित्राउन सकेका छैनन् । ठोरी गापा १, २ र ३ का किसानले धान भित्राउन नपाउँदा खेतमा धान घुस्रिन थालेको बताए । दुःखजिलो गरेर लगाएको धान पानीको कारण काट्न नपाएकोले समस्या भएको ठोरी–३ बुद्धनगरका किसान सुजन ढुङ्गेलले बताए । वर्षे धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने भएकोले चैते धान लगाउने किसानहरूलाई घाटा लाग्ने चिन्ता पनि थपिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here