• अनन्तकुमार लाल दास

कोरोना महामारीको पहिलो र दोस्रो लहरले प्रायः हरेक विकासशील राष्ट्रको अर्थतन्त्र चौपट बनाएको छ। दैनिक जीवनमा चाहिने सामग्रीको भाउ दिनप्रतिदिन बढ्दै गइरहेको छ। स्थानीय सरकार गफ दिनमा व्यस्त छ। राजनीतिक दलहरू कमीशनको खेलमैं रमेका छन्। यस विषम परिस्थितिलाई पनि केही मानिसले कमाउने थलो बनाएका छन्। मूल्यवृद्धि नियन्त्रण गर्ने निकाय सक्रिय नहुँदा आम मानिसको जीवन कष्टकर बन्दै गएको छ। सामाजिक सञ्जालहरूमा संवेदना व्यक्त गर्नेहरूको ताँती लागेको छ। युवावर्ग जसले यसबारे आवाज उठाउने हो, उनीहरू पनि घरमा कैद छन्। के ठूला, के साना सबैखाले पसलेहरू मूल्यवृद्धिलाई सघाइरहेका छन्। यसरी कोरोना कालमा पनि ‘तैं चुप मैं चुप’को संस्कृति मौलाएको छ।

सरसर्ती विश्लेषण गर्दा प्रत्येक स्थिति र अवस्थाको दुईवटा पक्ष देखापर्छ। पहिलो आन्तरिक अवस्था र दोस्रो बाहिरी। बाहिरी अवस्थालाई मानिसले कृत्रिमताबाट सुधार गर्न सक्छ तर आन्तरिक अवस्था बिग्रेपछि मानिसको सर्वनाश नै हुन्छ। बाहिरी शत्रुलाई मानिसले उपेक्षा पनि गर्न सक्छ तर आन्तरिक शत्रुलाई वशमा गर्न धेरै कठिन हुन्छ। यही नियम कोरोनाकालमा हाम्रो देशको आर्थिक स्थितिमा पनि लागू हुन्छ। हाम्रो देशको बाहिरी स्थिति जति सुदृढ वा विदेशमा गएर हामीले जति सम्मान प्राप्त गरे तापनि वा हाम्रो विदेश नीति जति सफल भए तापनि वा हाम्रो सीमा सुरक्षा जति सबल भए तापनि, यदि हाम्रो आन्तरिक स्थिति बलियो छैन भने एक दिन अवश्य नै हाम्रो देशको पतन हुनेछ।

देशको आन्तरिक स्थिति धनधान्य र अनाजमाथि निर्भर रहेको छ। आज हाम्रो देशको प्रमुख समस्या हरेक दिन सुरसा जस्तै बढिरहेको दैनिक उपभोगका वस्तुहरूको मूल्यवृद्धि रहेको छ। यसबाट सम्पूर्ण देशको जीवन अस्तव्यस्त भइसकेको छ। मानिसलाई चाहिने खाद्य पदार्थ, तेल, ग्याँसजस्ता दैनिक उपभोग्य वस्तुहरूको मूल्य दिनानुदिन वृद्धि भइरहेको छ। यसले गर्दा मानिसलाई आफ्नो जीवन निर्वाह गर्न बडो गा–हो भइरहेको अवस्था छ। आज रुपियाँको कुनै मूल्य छैन। सामानहरूको भाउ कैयौं गुणा बढिसकेको छ। गरीब र मध्यम वर्गका मानिसलाई जीवन धान्न गा–हो भइसकेको छ। अभाव र असन्तुष्टि समाजमा दिन प्रतिदिन बढ्दै गइरहेको छ।

अर्थशास्त्रीहरूका अनुसार जब उत्पादन बढ्छ, वस्तुको मूल्य घट्छ। सरकारी तथ्याङ्कले हाम्रो उत्पादनमा वृद्धि भएको देखाउँछ तर सामानको भाउ चाहिं बढिरहेको छ। यो आश्चर्यजनक कुरो हो। आज मानिसले घर बनाउनका लागि सिमेन्ट किन्न जाँदा धेरैपटक सोच्नुपर्ने हुन्छ। जीवनको लागि चाहिने अन्य वस्तुहरूको मूल्यमा पनि आशाभन्दा बढी वृद्धि भएको छ। अर्थशास्त्रका विद्वान्हरूका अनुसार खाद्यान्न उत्पादनमा ४० प्रतिशतले वृद्धि भएको छ। जमीनको भाउ पनि वृद्धि भएको छ। सुनको भाउले त आकाश नै छुन थालेको छ। प्याजको त कुरै नगरौं, माछामासुको मूल्यसमेत बढेको छ। हाम्रो देश जलस्रोतमा धनी भए तापनि हामीलाई सबैभन्दा महँगो मूल्यमा बिजुली प्राप्त भइरहेको छ र त्यो पनि अनियमित हुन थालेको छ। भन्न के खोजिएको हो भने कुनै पनि वस्तु यस्तो छैन जसको मूल्यवृद्धि भएको छैन।

यहाँनिर के प्रश्न उठ्छ भने यस अव्यवस्थाको कारण के हो ? के हाम्रो देशमा मूल्यमाथि नियन्त्रण गर्ने कोही छैन र ? के यहाँका मानिसहरू नाविक नभएको डुङ्गामा सवार छन् ? गहिरिएर हेर्ने हो भने आज हाम्रो समाजको अवस्था यस्तै देखिन्छ। हरेकले आआफ्नो मनपरीतन्त्र चलाउन थालेका छन्। सबैले आफूलाई जे गर्न पनि स्वतन्त्र ठान्छन्। तर कुरो यस्तो हैन।

दीर्घकालीन शोषणपछि हामीलाई लोकतन्त्र प्राप्त भएको छ। वास्तवमा भन्ने हो भने हाम्रो देशको आर्थिक अवस्था दिनानुदिन जटिल बन्दै गएको छ। नयाँ योजना तर्जुमा गरी देशलाई राम्ररी डो–याउन समय लाग्छ। केही यस्ता मानिस पनि छन् जो कोरोनाकालीन अवस्थाबाट फाइदा लिन खोजिरहेका छन्। सरकार वा अन्य राजनीतिक दलहरू पनि आफ्नै कुर्सी जोगाउन कसरत गरिरहेका छन्। यस कारण निहित स्वार्थी र मुनाफाखोरहरूले कोरोनाकालीन अवस्थाको आडमा आफूखुशी वस्तुको मूल्य निर्धारण गरेर बेचिरहेका छन्। यसरी एउटा विशेष वर्गले समाजलाई मूल्यवृद्धिको अखडा बनाइराखेको छ। त्यस वर्गले सामाजिक जीवनसहित राष्ट्रिय जीवनलाई पनि दूषित बनाएको छ। देशमा भइरहेको नैतिक पतनले गर्दा नै आज मूल्यवृद्धि एउटा भयावह समस्याको रूपमा देखा परिहेको छ। मुनाफाबाहेक आज एक आपसमा न कुनै प्रकारको सम्बन्ध छ, न रिश्तेदारी।

कुनै पनि देशको आम्दनीको प्रमुख साधन त्यहाँको व्यापार र उद्योग हो। हाम्रो देशमा उद्योग र व्यापारमा वृद्धि हुनुको साटो दिन प्रतिदिन –हास भइरहेको छ। आन्तरिक व्यापार  धराशायी र वैदेशिक व्यापारमा वृद्धि भइरहेको छ। विदेशबाट सामानको आयातमा वृद्धि भएपछि मूल्यवृद्धि हुनु स्वाभाविक नै हो। कोरोनाकालको यस विषम परिस्थितिको नाउँमा सरकारी कोष खाली भइरहेको अवस्था छ। सरकारलाई यो धन जनताबाट नै प्राप्त हुन्छ। आज जनतामा असन्तोष व्याप्त छ। देशको एक कुनाबाट अर्को कुनासम्म मानिस मूल्यवृद्धिबाट परेशान छन्। विपक्षी दलहरू पनि यसबारे मौन छन्। परिणामस्वरूप मूल्यवृद्धि भइरहेको छ।

वर्तमान मूल्यवृद्धि रोक्ने एउटै उपाय छ, जनताको नैतिक उत्थान हुनुपर्छ। उनीहरूलाई यस्तो नैतिक शिक्षा दिनुपर्छ जसको प्रभाव उनीहरूको हृदयमा परोस्। चरित्र र सोच परिवर्तनविना यस समस्याको कुनै निकास छैन। आआफ्नो स्वार्थ साधन नै आज प्रत्येक नेपालीको जीवन लक्ष्य बनेको छ। आम जनतालाई न राष्ट्रिय भावनाको ध्यान छ, न देशहितकै। यस कारण उनीहरूमा देशहितको भावना जगाउने खालको उच्च कोटिको नैतिक शिक्षाको खाँचो छ। मूल्यवृद्धि न्यून गर्ने अर्को उपाय हो, सरकारको कठोर नियन्त्रण। जसले मूल्यवृद्धि गर्छ वा जो अधिकारी यसतर्फ ध्यान दिंदैनन् उनीहरूलाई तत्काल जागीरबाट निष्काशित गर्नुपर्छ वा कठोर दण्ड दिनुपर्छ।

मूल्यवृद्धिको सम्बन्धमा जनसङ्ख्या वृद्धि पनि एउटा महत्वपूर्ण कारण हो। यस कारण मूल्यवृद्धि रोक्न जनसङ्ख्या नियन्त्रणमा ध्यान दिनु पनि अति आवश्यक छ। यस कार्यमा जनताले पनि सरकारलाई मदत गर्नुपर्छ र स्वयंको आचरणमा पनि सुधार ल्याउनुपर्छ। वास्तविकता त के हो भने यदि सरकारले देशको स्थितिमा सुधार ल्यान चाहन्छ भने उसलाई पनि आफ्नो नीतिमा स्थिरता ल्याउनुपर्छ। अनि मात्र मूल्यवृद्धिमा केही हदसम्म नियन्त्रण गर्न सकिन्छ।

आज अनाचार र भ्रष्टाचार नेपाली जीवनको पर्याय बनेको छ। आर्थिक विषमता दिन प्रतिदिन बढिरहेको छ। भ्रष्टाचारमुक्त क्षेत्र पाउन गा–हो भइसकेको छ। उचित र अनुचितको परिधि समेटिन पुगेको छ। यस कारण मूल्यमाथि नियन्त्रण गर्न गा–हो भइरहेको छ। यदि यस्तै मूल्यवृद्धि भइरह्यो भने समाजमा अराजकता फैलन बेर लाग्दैन। यस कारण के आवश्यक छ भने हाम्रा नेताहरू निस्स्वार्थ र निष्पक्ष भएर प्रस्ट आर्थिक नीति निर्माण र त्यसलाई इमानदारीसाथ कार्यान्वयन गर्न कम्मर कस्नुपर्छ किनभने आयातलाई हतोत्साहित र निर्यातलाई प्रोत्साहित गर्न अति आवश्यक छ। युवा पलायन रोक्ने, स्वदेशमैं रोजगारको सम्भावना बढाउने र कृषि उत्पादनमा वृद्धि हुने खालको देश सुहाउँदो शिक्षा नीति ल्याउन आवश्यक छ। यी उपायको सफलतम कार्यान्वयनले मूल्यवृद्धि न्यून गर्न मदत मिल्न सक्छ।

हाम्रोजस्तो सोचले गरीब भएको देशमा जहाँ गरीबी दर मात्र कागजमा घटेको छ, सामाजिक–आर्थिक विषमता दिन प्रतिदिन बढ्दै गएको छ। मानिसले दुई छाक पोषिलो खाना नपाएर विदेशिन बाध्य छ, त्यहाँ मूल्यवृद्धिले झन् जटिलता थपेको छ। यसतर्फ ध्यान दिनु नितान्त आवश्यक छ। अन्यथा मानिसहरू कोरोनाभन्दा भोकले मर्नेछन्। कोरोनाजस्तो मानव निर्मित महामारीबाट देशलाई जोगाउन तीनवटै तहको सरकारी प्रयत्न गतिशील हुनुपर्छ। यदि देशमा अन्न उत्पादनमा वृद्धि भएन, जनता जागरुक भएन वा शासनको भ्रष्टाचारमाथि कठोर नियन्त्रण भएन भने मूल्यवृद्धि रोक्न सकिन्न। परिणामस्वरूप गरीब जनताले साग–रोटी पाउँदैन र यदि यसो भयो भने त्यस देशको भविष्य के हुन्छ भन्न सकिन्न।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here