नेपालको शिक्षा सन्दर्भमा हुने प्रायःजसो बहसमा ‘गुणस्तरीय शिक्षा’ शब्दावलीको विशेष प्रयोग हुने गरेको छ । गुणस्तरीय शिक्षा हरेक शैक्षिक बहसको प्रमुख विषय रहेको छ । राजनीतिक दलको घोषणापत्रमा पनि यो शब्दावली प्रशस्तै पढ्न पाइन्छ । तर विडम्बना के छ भने गुणस्तरीय शिक्षाप्रति कुनै ठोस योजना र कार्यनीति प्रस्तुत भएको देखिंदैन ।
आम अभिभावक, जनप्रतिनिधि र नपाली समाजमा गुणस्तरीय शिक्षाप्रति एक प्रकारको भ्रम छ । आम मानिसमा अङ्ग्रेजी माध्यममा शिक्षा प्रदान गर्नु र स्तरीकृत परीक्षामा विद्यार्थीले उच्च ग्रेड ल्याउनुलाई नै गुणस्तरीय शिक्षा हो भन्ने भ्रम व्याप्त छ । डर, त्रास र दण्डमार्पmत विद्यार्थीमा अनुशासन कायम गर्न सक्नु नै शैक्षिक गुणस्तर सुधार हो भन्ने गलत बुझाइसमेत रहेको छ ।
हाम्रो समाजमा गुणस्तरीय शिक्षा भन्नाले उच्च ग्रेडका साथ परीक्षा उत्तीर्ण गर्नु, विद्यार्थीलाई कक्षा कोठामा कैद गरी पाठ्यपुस्तकका विषयवस्तु जबरदस्ती घोकाउनु र घोकन्ते प्रणालीमार्पmत परीक्षामा ग्रेड ल्याउनु हो । यसैलाई आधार मानेर उत्कृष्ट विद्यालयको संज्ञा दिंदै विज्ञापन गरेर शिक्षाको बाजारीकरण गर्ने गरिएको छ । विश्वमा आर्टिफिसियल इन्टेलिजेन्सले अड्डा जमाएको र अझ त्यसमा पनि दिमागमा सेट हुने मेमोरी चिप्सको प्रयोग हुन थालेको सन्दर्भमा घोकन्ते शिक्षा प्रणालीको उपादेयता के होला ? यस परिप्रेक्ष्यमा रचनात्मक र सिर्जनात्मक चिन्तनसहितको शिक्षा प्रणाली मात्र फलदायी बन्न सक्छ भन्ने सोचको विकासमा अब गएर हाम्रो देशमा पनि छलफल हुन थालेको छ ।
प्रत्येक वर्ष विद्यार्थी भर्ना अभियानमा अङ्ग्रेजी माध्यमलाई गुणस्तरीय शिक्षाको मानकको रूपमा विज्ञापन गरी शिक्षालाई व्यापारीकरण गरिएको पाइन्छ । शैक्षिक गुणस्तरको नाममा अस्पष्ट र भ्रामक विज्ञापन गरी अभिभावक र विद्यार्थीलाई भ्रमित गरिरहेको अवस्था छ । अङ्ग्रेजी माध्यम नै सबै समस्याको समाधान हो भन्ने गलत बुझाइलाई अभियानको रूपमा सञ्चालन गरिंदै आएको छ । अङ्ग्रेजी माध्यम र अङ्ग्रेजी भाषाको सिकाइ फरक कुरा हुन् भन्ने छुट्याउन नसक्दा अङ्ग्रेजी माध्यम नेपालको शिक्षा प्रणालीमा पैmशन नै भएको छ । तर विडम्बना के छ भने संस्थागत र सामुदायिक दुईखाले शिक्षा प्रणालीले निर्माण गरेको खाडलमा गुणस्तरीय शिक्षाको नाममा सामुदायिक विद्यालयहरूले पनि अङ्ग्रेजी माध्यमलाई प्रोत्साहन गरेको पाइन्छ ।
गुणस्तरीय शिक्षा के हो र यसका मापदण्ड के–के हुन् भन्ने विषयको ठोस जवाफ दिन शिक्षाविद्लगायत शिक्षामा सम्मिलित सबै अलमलिएको पाइन्छ । परीक्षामा जसरी पनि उच्च ग्रेड ल्याउनुपर्ने परीक्षामुखी शिक्षण प्रणाली गुणस्तरीय शिक्षाको मापदण्ड बन्नु विडम्बना हो । यसर्थ शिक्षासँग सरोकार राख्ने सबैले गुणस्तरीय शिक्षाबारे प्रस्ट हुनु जरूरी छ ।
गुणस्तरीय शिक्षाको एउटै सर्वमान्य परिभाषा पाउन गा¥हो छ । यस सन्दर्भमा पनि समान अवधारणा रहेको पाइँंदैन । गुणस्तरीय शिक्षाका मापदण्डमा समानता नभए पनि राज्यले तय गरेको शिक्षा नीति, शिक्षाका तहगत क्षमता, राष्ट्रिय उद्देश्यका लागि तयार गरिएका पाठ्यक्रम, पाठ्यपुस्तक, भौतिक पूर्वाधार, सिकाइ वातावरण, मूल्याङ्कन प्रणाली आदिको भूमिका रहन्छ नै । विषयगत शिक्षकको योग्यता, शिक्षण कला र पेशाप्रति जवाफदेहिता, शैक्षिक व्यवस्थापन, अनुशासन, निरीक्षण आदि गुणस्तरीय शिक्षामा प्रभाव पार्ने तŒव हुन् ।
आधारभूत मानवीय गुण, ज्ञान, सीप, क्षमता आर्जन गरी सभ्य, शिष्ट, नैतिकवान, कर्तव्यनिष्ठ, कर्मशील, अनुशासित, स्वावलम्बी, आत्मनिर्भर, समझदार, आदर्श नागरिक तयार गर्न सक्ने शिक्षा नै गुणस्तरीय शिक्षा हो । व्यावहारिक दृष्टिकोणमा सिकाइमार्पmत मानवीय व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सक्ने, व्यावहारिक समस्या हल गर्न सक्ने, श्रमको सम्मान गर्ने, उद्यमशील, समाज र राष्ट्रमा योगदान दिन सक्ने नागरिक तयार गर्ने शिक्षा नै गुणस्तरीय शिक्षा हो । परीक्षामा प्राप्त उच्च ग्रेडले मात्र गुणस्तर मापन हुँदैन । गुणस्तरीय शिक्षाको सन्तुष्टिसँग पनि सम्बन्ध हुन्छ । कुनै पनि खानाको परिकार कति गुणस्तरको छ भन्ने कुरा त्यो खाना खाने मानिसको स्वाद, रूचि, स्वास्थ्य र आवश्यकता अनुसारको सन्तुष्टि निर्भर हुन्छ । त्यस्तै शिक्षाको गुणस्तर पनि विद्यार्थी, शिक्षक, अभिभावकको सन्तुष्टिमा निर्भर गर्छ । शैक्षिक प्रणालीका यी तीनवटै पक्ष सन्तुष्ट भए मात्र शिक्षाको गुणस्तर कायम हुन सक्दछ ।
विद्यालयको शैक्षिक गुणस्तर सुधार शिक्षकको एकल प्रयासले मात्र सम्भव छैन । गुणस्तर सुधार सबै सरोकारवालाको साझा प्रयासबाट मात्र सम्भव छ । शैक्षिक गुणस्तर सुधारका आधारभूत मापदण्डहरू निम्न प्रकार रहेका छन् ।
१) सक्षम नेतृत्व : शैक्षिक गुणस्तर सुधारको लागि योग्य, सक्षम, क्षमतावान, दूरदृष्टि र दृढ इच्छाशक्ति भएका व्यक्तिलाई प्रधानाध्यापकको जिम्मेवारी दिनुपर्दछ ।
२) उत्कृष्ट शिक्षक : शैक्षिक गुणस्तर सुधारमा केन्द्रीय भूमिका शिक्षकहरूको रहेको हुन्छ । विद्यालयमा जाँगरिला, समर्पित, शिक्षणलाई जागीरभन्दा जिम्मेवारीको रूपमा लिने, सबै विद्यार्थीलाई आप्mनै छोराछोरीजस्तै सिकाउने, आधुनिक प्रविधिसँग परिचित जनशक्तिलाई शिक्षणमा प्रवेश सुनिश्चित गरिनुपर्दछ ।
३) उत्सुक विद्यार्थी : विद्यालयमा विद्यार्थीहरू भय र चिन्तारहित भएर सिक्न सदैव तत्पर रहनुपर्दछ ।
४) नवीनतम सिकाइ : सिकाइ परीक्षामुखी मात्र नभएर कुनै पनि प्रकारको डर र त्रासरहित वातावरणमा आधुनिक प्रविधि प्रयोग गर्दै रचनात्मक, सिर्जनात्मक, प्रयोगात्मक, खोजमूलक, स्थलगत भ्रमणमा आधारित अनुसन्धानमूलक परियोजना कार्यमा आधारित हुनुपर्दछ ।
५) उपयुक्त भौतिक पूर्वाधार तथा सिकाइ वातावरण : विद्यालयको पूर्वाधार बालमैत्री हुनुपर्दछ । सुसज्जित कक्षाकोठा, सफा खानेपानी, उपयुक्त फर्निचर, व्यवस्थित खेल मैदान, व्यवस्थित पुस्तकालय, प्रयोगशाला, कम्प्युटर, स्मार्टबोर्ड आदि सिकाइ कुना, चमेना गृह, विद्यार्थीको लागि आवासको व्यवस्था शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक पर्दछ ।
६) समुचित व्यवस्थापन : विद्यालयको शैक्षिक, भौतिक र आर्थिक पक्ष चुस्त, दुरूस्त र पारदर्शी हुनुपर्दछ । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घलाई विद्यालयको व्यवस्थापकीय पक्षमा जिम्मेदार र जवाफदेह बनाइनु पर्दछ ।
७) पर्याप्त लगानी : सङ्घ, प्रदेश र स्थानीय सरकारले शिक्षामा यथेष्ट बजेटको व्यवस्था गर्नुपर्दछ ।
८) प्रगतिशील नीति : शैक्षिक गुणस्तर सुधारको लागि शिक्षा नीति समयसापेक्ष र प्रगतिशील हुनुपर्दछ ।
९) उपयुक्त सिकाइ सामग्री : गुणस्तरीय शिक्षाको लागि पाठ्यक्रम, पाठ्यपुस्तक, सन्दर्भ सामग्री, शिक्षक निर्देशिका सहज र सरल उपलब्ध हुनुका साथै सिकाइ सामग्रीहरू विद्यार्थीको रूचि अनुकूल, समयसापेक्ष र प्रविधिमैत्री हुनुपर्दछ ।
१०) नियमित अनुगमन : विद्यालयमा सञ्चालित गतिविधिहरूको नियमित अनुगमनले पनि गुणस्तर सुधारमा टेवा पुग्ने भएकोले नियमित अनुगमनको व्यवस्था मिलाइनुपर्दछ ।
उल्लिखित मापदण्डहरूमा गुणस्तर कायम गर्न सकेमात्र शैक्षिक गुणस्तर सुधार गर्न सकिन्छ । शिक्षकको एकल प्रयास गुणस्तर सुधारका लागि सार्थक हुन सक्दैन । सबैको साझा प्रयासमा मात्र शैक्षिक गुणस्तर कायम गर्न सम्भव छ ।