– राजेश मिश्र
“उड जइँहे सुगनवा एक दिन, पिंजडवा के छोड के” अर्थात् सुगारूपी यो आत्मा एक दिन शरीररूपी पिंजडा परित्याग गरी अनन्तमा विलीन हुन्छ। यो भोजपुरी गीत देहातमा असाध्यै प्रचलित छ। आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस। सन् १९९१ देखि हरेक वर्ष अक्टुबर १ मा ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ मनाउने गरिन्छ। ज्येष्ठ नागरिकहरूलाई सम्मान र अधिकारमा पहुँच गराउने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभर यो दिवस मनाइन्छ।
विक्रम संवत् २०६८ सालको जनगणना अनुसार नेपालमा कुल जनसङ्ख्याको ९ प्रतिशत अर्थात् २५ लाखभन्दा बढी ज्येष्ठ नागरिक रहेको देखाएको छ। प्रत्येक १० वर्षमा गरिने जनगणनाको तथ्याङ्क अनुसार वृद्धवृद्धाहरूको सङ्ख्यामा निरन्तर वृद्धि देखिएको छ। यसबाट नेपालमा औसत आयु पनि बढेको स्पष्ट हुन्छ। सर्वेक्षणले ग्रामीण क्षेत्रमा वृद्धवृद्धाको औसत आयु झन्डै ७४ प्रतिशत देखाएको छ भने शहरी क्षेत्रमा झन्डै २४ प्रतिशत छ। यसका कारणहरूमध्ये शहर र देहातको मुख्य भिन्नता शुद्ध हावापानी, खानपिन, शारीरिक श्रम आदि औंल्याइएको छ।
प्रत्येक वर्ष नयाँ ‘नारा’को साथमा मनाइने यो उत्सवको यस वर्षको नारा रहेको छ– “Pandamics: Do they change how we address Age and Ageing”अर्थात् “महामारीहरूः बुढ्यौली र उमेरको कारण ज्येष्ठ नागरिकलाई गर्ने हाम्रो सम्बोधनमा परिवर्तन ल्याउँछन्।”
मानव अधिकारको विश्वव्यापी घोषणपत्र–१९४८, United Nations Principles for older persons 1991, Macau plan of action on ageing 1998 and Madrid International plan of action on ageing 2002 जस्ता अन्तर्राष्ट्रिय फोरमहरूमा नेपालले उपस्थिति जनाइसकेको छ। सोही अनुसार ज्येष्ठ नागरिकको जीवनलाई सहज, सुरक्षित र सम्मानित बनाउन ज्येष्ठ नागरिक नीति, कार्यनीति तथा दीर्घकालीन अवधारणा ज्येष्ठ नागरिक कार्ययोजना–२०६२ लागू गरिएको छ। त्यस्तै, केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समितिको स्थापना भई ७५ वटै जिल्लामा जिल्ला ज्येष्ठ नागरिक कल्याण छन् र ती संस्थाहरूको सक्रियतामा कोरोनाले निम्त्याएको तनावबीच यस वर्ष धूमधामले होइन, अति सामान्य प्रकारले नेपाल राष्ट्रिय ज्येष्ठ नागरिक सङ्घले भर्चुअल कार्यक्रमको आयोजना गरी यो दिवस मनाएको छ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस किन मनाइन्छ ?
ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा सँगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताको लागि मार्गदर्शन मानिन्छ। पुरातनकालदेखि संयुक्त घरपरिवार प्रणालीमा चलेको हाम्रो समाजमा एउटै घरमा परिवारका धेरै सदस्य बस्ने र त्यहाँ ज्येष्ठ नागरिकहरूलाई उच्च सम्मान हुने परम्परा हालका दिनहरूमा ओरालो लाग्दैछ। देहातमा धेरै सदस्य भएका घरपरिवार एकासगोलमा बस्ने प्रचलन तीन दशकअघिसम्म कायम थियो। पछिल्ला दिनमा विकसित संस्कृति र परिस्थितिले नेपाली समाज र घरपरिवार पनि अछूतो रहेन। वयस्क सदस्यहरू परिवारबाटै अलग भई छुट्टै बस्न रुचाउन थालेपछि संयुक्त परिवार विखण्डित भई त्यहाँ रहेका ज्येष्ठ नागरिकहरूसमेत एक्लो हुन थालेका छन्। पछिल्ला दिनहरूमा परिवार तथा समाजबाट नै वृद्धवृद्धाहरू अपहेलित हुने क्रम बढेको भन्दै सर्वत्र चासो र चिन्ता प्रकट हुन थालेको छ। त्यहीं भएर ज्येष्ठ नागरिकहरू आफैं पनि सङ्गठित भई केन्द्रीय, क्षेत्रीय र जिल्लास्तरमा सञ्जाल निर्माण गरी हकअधिकारका आवाज उठाउन थालेको देखिन्छ।
यही सेरोफेरोमा आधारित वृद्ध, युवा, चिकित्सक तथा पत्रकारसँग भएको विमर्शका बानगी यहाँ प्रस्तुत गरिएको छ–
————————————————————————————————
दीपकराज शर्मा (ज्येष्ठ नागरिक)
‘पर्सा ज्येष्ठ नागरिक सङ्घ’का सदस्यसमेत रहेका वीरगंज मनपा–१७ अलौका ६८ वर्षीय दीपकराज शर्मा भन्छन्–“शहरको तुलनाान देहातमा भ्रातृत्वभाव बढी पाइन्छ। शुद्ध हावापानी र शान्त वातावरण देहातको विशेषता हो। बुजुर्गहरूको अपेक्षा सुखद जीवनका लागि पूर्वजहरूले स्थापित गरिदिएको अग्रजको मानमर्यादा गर्ने सिद्धान्तमा आँच आउने कुनै काम युवापुस्ताले गर्नुहुँदैन। वृद्धवृद्धाप्रति ममत्वका साथै सदैव सहयोगी भावना राख्नुपर्छ। बूढेसकालको प्रमुख अपेक्षा भनेको परिवारका सदस्यले कुनै पनि दुःखसुखको सवालमा ‘पुरनिया’ हरूलाई पाखा लाउनुहुँदैन, बरु निर्धक्क भई साझा गर्नुपर्छ र यसले परिवारमा आफ्नो पनि मानसम्मान छ भन्ने भावना उत्पन्न हुन्छ र मानसिक तनावलाई धेरै हदसम्म कम गर्छ। शहरभन्दा देहातका मानिसले शारीरिक श्रम अत्यधिक गर्ने भएकाले देहातका पुरनियाहरूको औसत आयुको प्रतिशत शहरको तुलनामा बढी भएको हुन सक्छ।”
खलील मियाँ (ज्येष्ठ नागरिक)
पर्सा, पोखरिया नपा–७ रानीगंजका ८० वर्षीय खलील मियाँ भन्छन्– “देहातमा जसको आर्थिक अवस्था राम्रो छ, उसको जीवन सामान्य बितिरहेको छ। तर विपन्न वृद्धवृद्धाको अवस्था सन्तोषप्रद पाइँदैन। दुव्र्यसनमा लागेका युवाहरूको घरका पुरनियाहरू रोगभन्दा पनि सन्तानको उद्दण्ड आचरणप्रति बढी चिन्तित रहन्छन्, अन्ततोगत्वा उनीहरू तनावपूर्ण जीवन बाँचिरहेको देखिन्छ। यस्तो धेरै परिवार छ, जसको युवापुस्ता कामको सिलसिलामा परदेश गएको छ। वृद्ध नागरिक पस्त जाँगरले घरसारको काम गर्न बाध्य छन् र सन्तान सुखको अभिलाषामा रहेका वृद्धवृद्धा तनावग्रस्त रहन्छन्। एकातिर अर्थोपार्जनको निम्ति युवालाई घर छोड्नैपर्ने बाध्यात्मक परिस्थिति छ। अर्कोतिर एकले अर्कोमाथि अविश्वासको वातावरण भई वयस्क र वृद्धबीच सकारात्मक सामञ्जस्यता हुन सकेको पाइँदैन। परिस्थिति अनुकूल, सकारात्मक सोच र पुस्तान्तरमा तालमेल राख्ने हो भने हाँसीखुशी जीवन व्यतीत गर्न सकिन्छ।
सुषमा तिवारी द्विवेदी (युवा नेत्री)
४५ वर्षीया सुषमा तिवारी द्विवेदी भन्छिन्– “वृद्धवृद्धा शहर, देहात वा संसारका जुनसुकै स्थानका भएपनि भावनात्मक सामीप्यता र कर्तव्यनिष्ठ उत्तरदायित्व निर्वाहले नै उनीहरूलाई सुखमय र स्वस्थकर जीवन प्रदान गर्न सकिन्छ। पुरनियाहरूप्रति युवा/वयस्क सबैको कर्तव्यपरायण, जागरूकता आवश्यक छ किनभने प्राकृतिक नियम अनुुुसार मानवजीवन अपवादबाहेक शिशुदेखि शुरू हुन्छ र वृद्धावस्था पुगेर अन्त्य हुन्छ। यो सत्य सबैले स्वीकार गर्नुको विकल्प छैन। आजका युवा पनि भोलि वृद्धवृद्धा हुन्छन् नै र आजका पुरनियालाई युवासँग जुन अपेक्षा र आकाङ्क्षा छ, त्यहीं अनुभूति आफू वृद्ध भएपछि हुने कुरामा कुनै विमति छैन। पुरनियाहरूप्रति जिम्मेवारीपूर्ण उत्तरदायित्व निर्वाह गरिरहेका व्यक्तिको अनुसरण आफूले पनि गर्नुपर्छ र अन्यलाई पनि उत्प्रेरित गर्नुपर्छ। जागरूकताको खाँचो शहरको वृद्धवृद्धाभन्दा देहातमा बढी देखिन्छ।”
शिवकुमार गुप्ता (युवा)
वीरगंज मनपा–१ बजार छपकैयाका ४० वर्षीय शिवकुमार गुप्ता भन्छन्– “यो बिर्सनुहुन्न कि पुरनियाहरूको कारण हामीले जीवन पाएका हौं र संसार देखिरहेका छौं। समाजका वृद्धजनको सेवा गर्नु हाम्रो परम कर्तव्य हो र यो अवसर अर्को जुनीमा पाउने–नपाउने अनिश्चित सत्य हो। वृद्धवृद्धा जीवन्त रहुन्जेल अनादर गर्नेहरूले मृत्यृपश्चात् समाजसामु अभिभावकको नामको देखावटी जप गर्नुको कुनै औचित्य छैन, जीवन छँदै सेवा गर्नुपर्छ।”
माधुरी महतो (पत्रकार)
३० वर्षीया पत्रकार माधुरी महतो भन्छिन्– “वर्तमान समयको कुरा गर्ने हो भने वृद्धवृद्धाप्रति युवाहरूको भूमिका सन्तोषजनक पाउन मुश्किल छ। यद्यपि केही युवाले वृद्धवृद्धाहरूको सहज जीवनको सन्दर्भमा अभियान पनि सञ्चालन गरेका छन्। दुव्र्यसन र कुलतमा लागेका युवाहरूका वृद्ध आमाबुबा असहज जीवन बाँच्न बाध्य छन्। ज्येष्ठ नागरिकहरूलाई व्यावहारिकरूपले पनि पहिलो प्राथमिकता दिनुपर्ने संस्कार सदीयौंदेखि स्थापित छ, यद्यपि सबैले अनिवार्य प्रतिपालन गर्नुपर्छ। नेपालको कानूनमा ज्येष्ठ नागरिक, महिला, अपाङ्ग र अशक्तलाई सेवाको सवालमा प्राथमिकता दिनुपर्छ भनिएको छ तर कार्यान्वयन भने अपवादबाहेक पाइँदैन। टड्कारो उदाहरण हेर्ने हो भने अहिले कोरोनाकालमा अस्पताल, बैंकिङलगायत सेवाप्रवाहको क्रममा व्यावहारिक मात्र होइन, कानूनी मान्यतासमेत प्रतिपादन भएको कतै देखिएन। स्वच्छ हावापानी, खानपान र शारीरिक श्रम आदि शहरकोे तुलना देहातमा बढी हुने हुँदा देहाती वृद्धवृद्धाको औसत आयुको प्रतिशत शहरभन्दा बढी रहेको हुन सक्छ।
डा रामाशिष ठाकुर (हाडजोर्नी विशेषज्ञ)
डा रामाशिष ठाकुर भन्छन्– “बुढ्यौली उमेरमा सुरक्षित दिनचर्या आवश्यक छ। शरीरका सबै अङ्ग महत्वपूर्ण हुन्छन्, यद्यपि हाडले हाम्रो शरीरलाई ठड्याएकोले यसको बेग्लै महत्व छ। हाड शक्तिहीन भएपछि सामान्य हिंड्डुलमा पनि कठिनाइ हुन्छ। उमेर बढ्दै जाँदा हाडको शक्ति घट्दो क्रममा हुन्छ। शरीरको लागि सबै प्रकारका भिटामिनयुक्त तत्व आवश्यक हुन्छ, यद्यपि हाडको मजबूतीको निम्ति ‘क्याल्सियम’ र भिटामिन ‘डी’ युक्त पोषकतत्व खानामा समावेश गर्नु लाभदायक हुन्छ। बूढो शरीरले भारी सामान ओसारपसार गर्नुहुन्न किनभने कमजोर हाड भाँचिने प्रबल सम्भावना हुन्छ र उपचारले समस्या समाधान नहुन पनि सक्छ। खानपानमा विशेष ध्यान दिनुपर्छ। शारीरिक क्षमता अनुसार नियमित व्यायाम गर्नुपर्छ।”
डा उदयनारायण सिंह
डा उदयनारायण सिंह भन्छन्– “प्रायः पुरनियाहरू रोगजन्य अशक्तताभन्दा पारिवारिक दुव्र्यवहारको कारण तनावमा रहेको महसूस गरेको छु। तनावमा रहेको मानिसमा विभिन्न प्रकृतिका शारीरिक समस्या उत्पन्न हुन सक्छन् जस्तैः मधुमेह, रक्तचाप, निद्राभङ्ग, पाचन प्रणालीमा गडबडी आदि। अपवादबाहेक बुढ्यौली अवस्थामा मानिस शारीरिक र मानसिकरूपले अशक्त हुनु स्वाभाविक हो। यसर्थ पुरनियाहरूप्रति सुमधुर व्यवहार मात्र पनि राख्ने हो भने सामान्य प्रकारको भोजनले पनि पुरनियाहरूलाई स्वस्थ र खुशी राख्न सकिन्छ। तनावका विभिन्न कारण हुन सक्छन् जस्तै झर्को बोली, कुराकानीमा क्रमभङ्गता र दुव्र्यवहारलगायत बुढ्यौली अवस्थामा प्रायः मन नपर्ने प्रकृतिका व्यवहारले एक्लोपन महसूस हुन्छ र मानिस तनावग्रस्त हुन्छ। पुरनियाहरूलाई यो कुरा महसूस हुनुपर्छ कि मेरो सन्तान मेरो हरेक दुःखसुखमा साथमा छ। त्यसको लागि सामान्य प्रकृतिको व्यवहार, जस्तै–बाहिरबाट घर आउँदा फलफूल वा पौष्टिक खानेकुरा, लत्ताकपडा वा उनले रुचाएका किताब र समय–समयमा स्वास्थ्यबारे सोधपूछ वा चिकित्सकको परामर्शलगायत सामान्य व्यवहारले वृद्धको मुटुमा स्थान पाउन सकिन्छ र वृद्धलाई स्वस्थ र हाँसीखुशी राख्न सकिन्छ।”
अर्को एक प्रसङ्गमा उनले थपे– “एक सयभन्दा बढी शय्या क्षमता भएको सरकारी अस्पतालमा वृद्धवृद्धाको भर्ना र उपचारको लागि छुट्टै वार्ड राख्नुपर्ने प्रावधान छ, यद्यपि भौतिक पूर्वाधारको अभावमा नारायणी अस्पतालमा प्रत्येक वर्ष यस शीर्षकमा रकम आउँछ र फ्रिज हुन्छ, जुन अत्यन्तै दुःखद अवस्था हो। अर्को पनि समस्या के छ भने नेपालमा वृद्ध विशेषज्ञ चिकित्सक औंलाको गिन्तीमा सीमित छन्। तसर्थ सरकारले वृद्धवृद्धाको सरोकारको सवालमा चासोका साथ पहलकदमी गर्नुपर्छ।