शिक्षक तथा कर्मचारी सरुवाको विषयमा वीरगंज महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा महानगरको पक्षमा फैसला भएको छ ।
स्थानीय तहमा कार्यरत शिक्षक तथा कर्मचारी सरुवाको अधिकार स्थानीय तहलाई हुने भएकोले सोविरुद्ध सरुवा रोकी पाउँ भनी सर्वाेच्चमा दायर भएको रिट शुक्रवार खारेज भएको हो ।
गत वैशाखमा महानगरपालिकाले विद्यालय सहायक र विद्यालय सहयोगीहरूको सरुवा गरेको थियो । धेरैजसो विद्यालय कर्मचारीले सरुवापत्र बुझ्दै खटाएको ठाउँमा हाजिर भएका थिए । तर सोहीमध्येका विद्यालय कर्मचारीहरू अनिल ठाकुर हजाम र पृथ्वीप्रसाद चौरसियाले महानगरको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरूको रिटमा गत असार १२ गते सर्वोच्चले कर्मचारीले माग गरेबमोजिम सरुवा यथास्थितिमा राख्न भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
तर हिजो सो सम्बन्धमा सर्वोच्चका न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले विद्यालयका शिक्षक तथा कर्मचारी सरुवा गर्ने अधिकार स्थानीय सरकारकै हुने आदेश गर्दै महानगरविरुद्ध परेको रिट खारेज गरिदिएको थियो ।