विन्ध्यवासिनी कोइलाभार साझेदारी वन अन्तर्गतका विभिन्न खोलाबाट दिनहुँजसो गिट्टी, बालुवाको अवैध उत्खनन जारी छ ।
गत असार १ गतेदेखि खोलाबाट नदीजन्य पदार्थको उत्खननमा रोक छ । भदौ मसान्तसम्मको लागि उत्खनन रोक रहेको बखत अहिले नदीजन्य पदार्थको अवैधरूपमा उत्खनन भइरहँदा सरोकारवाला पालिका, वन र सुरक्षाकर्मीहरू भने मौन छन् ।
पर्सागढी नगरपालिका अन्तर्गतका कर्जनिहा र सिङ्गाही खोलामा नदीजन्य पदार्थ उत्खननमा रोक लागेको अवस्थामा अहिले दैनिक ग्राभेल, बालुवा, गिट्टी उत्खनन गरेर खुलेआम ट्याक्टरमार्फत ओसारपोसार भइरहेको छ । सबडिभिजन वन कार्यालय बडनिहार र सो मातहतका छतवनटाँडी वन कार्यालय, मनवा वन कार्यालय र बडनिहार प्रहरी चौकी, मनवा प्रहरी चौकी अन्तर्गत पर्ने यी दुई खोलामा अवैध उत्खनन भइरहेको छ । तर ती सरोकारवाला निकायका अगाडिबाट ट्याक्टरमा नदीजन्य पदार्थ ओसारपोसार भइरहँदा पनि कुनै रोकटोक गरिएको छैन । अवैध उत्खननविरुद्ध सरोकारवालाहरूको मौनताले मिलेमतो भएको देखिन्छ । नदीजन्य पदार्थको उत्खननमा अहिले रोक लागेको कारण ग्रामीण क्षेत्रमा नदीजन्य पदार्थको बिक्री मूल्य निकै बढेको छ । खोलाहरूबाट अवैध उत्खनन गरेर महँगो मूल्यमा बिक्री हुँदै आए पनि यसको रोकथाममा कसैले चासो देखाएको छैन । यस अघि यस प्रकारका अवैध उत्खननमा पालिका मात्र मौन देखिन्थ्यो भने वन र प्रहरीले नियन्त्रण गरेका हुन्थे । तर यसपटक भने तीनवटै निकाय मौन छन् । ती निकायलाई तस्करहरूले आर्थिक प्रभावमा पारेको स्थानीयहरू बताउँछन् । पर्सागढी नपा अन्तर्गतको कर्जनिया र सिङ्गाही खोलाबाट अवैधरूपमा उत्खनन गर्दै आएका तस्करहरूले गिट्टी, बालुवा, ग्राभेल र ढुङ्गा पर्सागढी, बहुदरमाई नगरपालिका र वीरगंज महानगरमा महँगो दररेटमा बिक्री गर्दै आएका
छन् ।
नदीजन्य पदार्थको उत्खननमा रोक लागेको बेला अवैध उत्खनन हुन नदिनका लागि पालिका सबैभन्दा चनाखो हुनुपर्ने हो । किनभने उत्खनन खुला भएपछि पालिकाले ठेक्का लगाउन पाउने र नदीजन्य पदार्थको ठेक्काबाट पालिकालाई ठूलो आर्थिक लाभ हुने गर्छ । तर यस विषयमा चनाखो नहँुदा पालिकाको लाखौं राजस्व डुबिरहेको छ ।