• सञ्जय मित्र
सन्दर्भ होलीकै जोडौं । हुनत होली बितिसकेको छ तर अझै पनि होलीको रङ मानिसको मन तथा लुगामा देखिएको छ । होलीले छोडेको छापबारे यहाँ विमर्श गर्ने प्रयास गरेको छु ।
होलीका धेरै विकृति छन्, यसमा शङ्का नगरौं तर यसपटक होलीमा मौलिकताको खोजी गर्ने धेरै प्रयास भएको छ, यो सकारात्मक पक्ष हो । होलीको मौलिक संस्कृति जोगाउन मुख्यतः शिक्षित तथा बौद्धिक समुदायले केही प्रयास गरेका छन् । अब यो पनि कि बिस्तारै आगामी दिनमा यस प्रकृतिले विस्तार पाउला, यदि सांस्कृतिक चेतनामा सुधारको सङ्केत हो भने ।
होलीको एक हप्ता पहिले नै रौतहटको महमदपुरका केही शिक्षित तथा बौद्धिक व्यक्तित्वहरूले होलीको परम्परागत पेय पदार्थको बारेमा जानकारी लिन चाहे । तिनीहरूले इन्टरनेटमा अनेक किसिमले सर्च गरे तर पाएनन् । खोजी थियो ‘कुसमा’ को । सम्भवतः धेरै क्षेत्रमा यस पेय पदार्थको प्रचलन नभएर बज्जिकाञ्चलमा मात्र भएकोले होला, जुनसुकै सर्च इन्जिनमा सर्च गर्दा पनि ‘कुसमा’ बनाउने विधि र प्रक्रिया नपाएपछि निराश भए ।
होलिका कहिलेदेखि र किन मानिसले पिउन शुरू गरे ? सम्भवतः यसको इतिहास यही ‘कुसमा’सित जोडिएको छ । सम्भवतः यो सर्वप्राचीन पेय पदार्थ हो होलीको । यसलाई एक दिन होलीको दिन मात्र बनाइन्छ र सेवन गरिन्छ । अझै पनि यो चलनचल्तीमा रहेको छ, ग्रामीण क्षेत्रमा । यसले नशा दिन्छ । यसले नशा दिंदैन पनि । यसलाई बनाउने तरीका वा यसमा मिसाइने सामग्रीको आधारमा यसले नशा दिने वा नदिने हुन्छ ।
सबैभन्दा पहिले एक लिटर दूधमा एक चौथाइ बराबर सख्खर हाल्नुपर्छ । राम्ररी घोलेर मिलाएपछि त्यसमा करीब १५ ग्राम सुकुमेल, १५ ग्राम ल्वाङ, १० ग्राम दालचिनीलाई सम्भव भएसम्म मसिनो धूलो बनाएर मिसाइन्छ । होलिका दहनमा पोलेर ल्याइएको गहुँको १० दाना नै पनि पिंधेर हाल्दा धेरै हुन्छ । यत्ति भएपछि जति धेरै फेट्न वा चलाउन सक्यो त्यत्ति राम्रो । पहिले नै दूध उमालेर त्यसको तर निकालिइसकिएको हुनुपर्छ । अनि जसलाई अलिकति बढी नशालु बनाउन मन हुन्छ, उसले गहुँको दाना अलिकति बढी हाल्नुपर्छ । स्वाद अनुसार दूधमा हाल्न सकिने अन्य मसला पनि हाल्न सकिन्छ । अझ कतिपयले पाँच दश दाना भाङ वा दुई/चार दाना धतुरो पनि हाल्छन् पिनेरै तर भाङ र धतुरो निकै खतरनाक हो । यसबाट सम्भव भएसम्म जोगिनैपर्छ । कतिपयलाई धेरैबेरसम्म फेट्न वा मिलाउन सजिलो हुँदैन भने एकछिन त्यत्तिकै छोपेर राखिदिंदा हुन्छ । करीब एक घण्टा छोपेर राख्दा पनि ‘कुसमा’ तयार हुन्छ । लगत्तै खाइहाल्नुहुँदैन । अलिकबेरमा खानुपर्छ । वा कतिपयले सबै सामग्री हालेपछि एकछिन आगोमा तताउँछन् पनि । यो ठाउँ अनुसार फरक हुने कुरो भयो । यसपटक धेरै ठाउँमा ‘कुसमा’ बनाउने तथा सेवन गर्ने काम भएको छ । लोप हुन लागेको सम्भवतः होलीको आदि पेय पदार्थबारे स्वस्थ चेतनाको सचेत विस्तार हुनुलाई राम्रो मानिएको छ ।
यसपटकको होलिका दहन ‘समत’मा पनि युवाहरूको सम्मानजनक सहभागिता रहेको देखियो । ‘समत’ नै गाउँमा र अझ घरमा होलीको सुरुआत हो । ‘समत’ नजलाई कुनै पनि घरमा होली हुँदैन । पहिलेदेखि ‘समत’को विरोध गर्ने, अन्धविश्वास मान्ने तथा बेकारको ठान्नेहरूले पनि यसको वैज्ञानिकताको खोजी गर्नुपर्ने भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको पाइयो । होलिका दहनको प्रतीक त ‘समत’ हो नै तर यसले हरेक घरमा केही सन्देश पठाउँछ । हरेक घरमा यसको राप पुग्नुपर्छ । यस कारण हरेक घरका कोही न कोही यसमा सहभागी हुनुपर्छ भन्ने मान्यता छ । ‘समत’लाई गाउँमा वसन्त ऋतुको साँध मानिन्छ । ‘समत’ जलाइएसँगै वसन्त ऋतुको प्रवेश हुन्छ र वसन्तको उत्सव नै होली हो । यसैैले होली चैतको पहिलो दिन मनाइन्छ । ‘समत’ले एउटा ऋतुलाई पठाउने तथा अर्को ऋतुलाई भिœयाउने हुनाले यस प्राचीन संस्कृतिको मौलिकता तथा वैज्ञानिकताको खोजी कालान्तरमा गरिएला तर वर्तमानमा जोगाइराख्नु जरुरी भएको अभिमत देखिएको छ । यस कारण बौद्धिक समुदाय र शिक्षित वर्ग चाहिं ‘समत’मा सहभागी भएर नव युवावर्गलाई प्रोत्साहित गरेका छन् र यसको निरन्तरताको सङ्केत गरेका छन् ।
यसपटक परम्परागत गीत र बाजाको प्रयोग होलीमा खूब भएको छ । क्याम्पसमा अध्यापन गर्ने अध्यापक, शिक्षक तथा विभिन्न कर्मचारीहरूसमेतले होलीको डम्फु बजाएको देखियो । होलीको सबैभन्दा प्राचीन बाजा नै डम्फु हो । बाजाको सन्दर्भमा होली र डम्फु पर्यायवाची हुन् । अन्य परम्परागत बाजाहरू पनि खूब बजाइए । बजाउने प्रयास हुनु निकै सकारात्मक पक्ष हो । कतैकतै स्टेज कार्यक्रम हुँदा होलीको शुभकामना एकातिर र होलीको परम्परागत बाजा तथा गीतको धुन तथा ताल र सुर अर्कोतिर बजिरहनुलाई बेग्लै आनन्दको अनुभूति माने मानिसहरूले । यसपटकको होलीमा यस प्रकारका प्रशंसनीय कार्यहरू पनि भए कि होलीका लागि आवश्यक परम्परागत बाजाहरूको खोजी गरियो । केही समय पहिले अयोध्यामा राम मन्दिरमा प्राणप्रतिष्ठा हुँदा पनि परम्परागत बाजाको खूब खोजी गरिएको थियो र अहिले पनि भयो । अहिले शिक्षित र बौद्धिक मानिसहरूले पनि बाजा बजाउने प्रयास गरेर एक हिसाबले पहिलेदेखि बजाउँदै आएका मानिसलाई सम्मान गरेका हुन् ।
अनि होलीको विशेषता रङ कि अबिर ? दुवै हुन् तर मानिसले अबिर र रङ भन्दैनन् । होलीको रङ र अबिर भन्छन् । पहिले होलीमा निकै कमले अबिरको प्रयोग गर्थे, धेरैले रङ नै उपयोग गर्थे । अनि अबिरले मात्र समाजमा प्रधानता पाइसकेको वर्तमान सन्दर्भमा केही गाउँका शिक्षित, बुजुर्ग तथा बुद्धिजीवीहरूले अबिरमाथि कुनै बन्देज नलगाइ रङले नै होली खेल्ने सार्थक प्रयास गरेका छन् । अबिरमा पनि रङ धेरै हुने भएकोले बरु शुद्ध रङ हुँदा स्वास्थ्यलाई तुलनात्मक कम हानि हुने तथा मुख्यरूपमा परम्परा जोगिने भन्ने तर्क आएको छ । होलीका परम्परागत गीतहरूमा अबिरभन्दा रड्ढो सन्दर्भ बढी पाइन्छ । यसैगरी, रङ र अबिरमध्ये कुन प्राचीन होला त ? यसरी पनि विचार गरी हेर्दा धेरैको विचारमा रङलाई नै प्राथमिकता दिइनु उचित मानिएको देखियो ।
यसरी कतै होलीप्रति सचेतना बढेको हो वा होलीसँगै परम्परागत सांस्कृतिक धरोहर संरक्षण वा संवद्र्धनका लागि केही सार्थक प्रयासको सम्भावनात्मक सङ्केत देखिएको हो कि ? वास्तवमा सबै क्षेत्रमा सचेतना बढ्दै जाँदा होलीका विकृतिलाई कम गर्न बिस्तारै संस्कृतिभित्रका पुराना र परम्परागत विकृतिरहित, अन्धविश्वासरहित संस्कृति मान्नु उचित हुन्छ कि ? विकल्प दिएर शिक्षित र बुद्धिजीवीहरूले पनि संस्कृतिको संवद्र्धनमा सचेत योगदान दिने हो भने अझै पनि हाम्रो संस्कृतिका कतिपय लोपोन्मुख अङ्गहरू जोगिन सम्भव छ ।