गोलबजार (सिराहा), ७ भदौ/रासस
सिराहाको भगवानपुर गाउँपालिकामा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सबस्टेशन निर्माण सम्पन्न भएको छैन । हालसम्म ७७ प्रतिशत मात्र काम भएको छ ।

नेपाल विद्युत् प्राधिकरण, मधेस प्रदेश प्रादेशिक कार्यालय, जनकपुरधामसँग भगवानपुर सबस्टेशन निर्माण कार्य गर्न ठेक्का पाएको निर्माण कम्पनी मुडभरी एन्ड जोशी आरके इन्टरनेशनल अनामनगर, काठमाडौंको ढिलासुस्तीले सबस्टेशन निर्माणमा ढिलाइ भएको हो । सरकारको सिङ्गल प्याकेज आयोजना अन्तर्गत निर्माण भइरहेको सबस्टेशनको भवन, ट्रान्सफर्मर जडान विद्युतीय पोल सबै एउटै निर्माण कम्पनीको जिम्मा रहेको मधेस प्रदेश प्रादेशिक कार्यालय, जनकपुरधामका कार्यालय प्रमुख मुनिन्द्र ठाकुरले बताए ।

विसं २०७४ असोज ६ गतेदेखि कार्य शुरू गर्ने सम्झौता भई १८ महीनामा निर्माण कार्य सक्नुपर्नेमा तेस्रोपटक २०८० असोजसम्म समय थपिए पनि निर्माण हुने स्थिति छैन । निर्माण कम्पनीका प्रतिनिधि ह्दय सिंहका अनुसार एक हप्ताभित्रै पुनः भगवानपुर सबस्टेशन निर्माण कार्य अघि बढाइने बताए ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख हिमांशु यादवले लामो दूरीका कारण हावाहुरीको समयमा विद्युत् प्रसारणमा समस्या हुने गरेको बताए । उनले भने, “स्थानीयले ३३ हजार केभीको लाइनका लागि पोल गाड्न ठाउँठाउँमा अवरोध सिर्जना गरेकाले काम समयमैं हुन नसकेको हो ।” लहान वितरण केन्द्र अन्तर्गत हाल ७० हजार ग्राहक रहेका छन् ।

गर्मीको समयमा लाइन आउनेजाने हुने, भोल्टेजको समस्या देखा पर्ने भएकाले भगवानपुर सबस्टेशन बनेपछि यस्ता समस्या समाधान हुने बताइएको छ । प्रादेशिक कार्यालय, जनकपुरधामका इन्जिनीयर शम्भुकुमार मण्डलले लहानदेखि ३७६ वटा पोल गाड्नुपर्ने बताए । हाल पोल गाड्ने काम भइरहेको उनको भनाइ छ । उक्त सबस्टेशन रु १९ करोड ४० लाखको लागतमा निर्माण भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here