– डा शिवशङ्कर यादव
चर्म चक्षु नाक,जिह्वा, कान। ज्ञान के हैं ये इन्द्रियाँ जान।गुदा, मुख, यौनाङ्ग, पद और हाथ। ये हैं कर्मेन्द्रियाँ हमारे साथ।
क्षिति, जल, अग्नि, गगन और समीर। पंचतत्वों से है वना शरीर।
ध्वनि, रस, रूप, गन्ध, स्पर्श। तनमात्रा हैं ये कहाते दोस्तो सर्वत्र।
अहङ्कार, मन, बुद्धि, चित्त मिल चार। यही चौबीस तत्व जगत् के सार।
उपरोक्त कविताको अर्थ यो हो कि छाला, आँखा, जिभ्रो, नाक र कानलाई ज्ञानेन्द्रिय तथा हात, खुट्टा, यौनाङ्ग, मुख र गुदालाई कर्मेन्द्रिय भनिन्छ। त्यस्तै, अग्नि, जल, माटो, हावा र आकाश मिलेर शरीर बनेको प्रायः सबैलाई थाहा छ। यसलाई पञ्चभूत भनिन्छ। ध्वनि, रूप, रस, गन्ध र स्पर्श ज्ञानेन्द्रिय होइनन्, ज्ञानेन्द्रियद्वारा ग्रहण गर्ने संवेदना हुन्। यसलाई तनमात्रा भनिन्छ। यसरी पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय, पाँच भूत र पाँच तनमात्रा मिलेर २० हुन्छ। यसमा मन, बुद्धि, अहङ्कार र चित्तलाई मिलाउँछौं भने २४ हुन्छ । यिनै चौबीसलाई तत्व भनिन्छ, जसले शरीर वा सम्पूर्ण अस्तित्व बनेको छ। आधुनिक स्नायु वैज्ञानिकहरूले यसमा दुर्ई कुरा अरू थप्छन्– भेस्टिवुलर र प्रोप्रायोसेप्सन। भेस्टिवुलर अपरेट्स कानमा हुन्छ, जसले हाम्रो गतिलाई सन्तुलनमा राख्छ। त्यसले काम गरेन भने मानिस चल्न, फिर्न सक्दैन। यसरी कान केवल सुन्ने मात्र इन्द्रिय होइन। सुन्ने र सन्तुलन बनाइराख्ने इन्द्रिय दुवै हो। प्रोप्रायोसेप्सनलाई छैटौं इन्द्रिय पनि भनिन्छ। प्रो माने अनुकूल, प्रायर माने पहिले, परसेप्सन माने ग्रहण वा महसूस गर्नु। मतलब कुनै कामको परिणामबारे पहिले नै महसूस गरी आफ्नोअनुकूल बनाउने निर्णय गर्ने शक्ति। यसले मानिस कुनै कुराको सटीक निर्णय गरेर आफ्नो भूमिकामा सफल हुन्छ। कसको प्रोप्रायोसेप्सन कति मजबूत छ, त्यसलाई एक रोचक प्रयोगले जाँच्न सकिन्छ। तेज गतिले घुमिरहेको वस्तुलाई जसले जति छिटो चिन्न सक्छ, उसको प्रोप्रायोसेप्सन पनि त्यति नै मजबूत मानिन्छ। यसको अलावा कोही कोहीले भोक र प्यास लाग्ने संवेदनालाई यसमैं जोड्छन्। जेहोस्, अब आउनुस् हामी आज २४ मध्ये यसको एक तत्व छालाको बारेमा विवेचना गरौं।
मैले शीर्षकमा छालालाई एक कमजोर किल्ला भनेको छु। यसको कारण यो छ कि मृत्युको सम्पूर्ण कारणबाट यसले हामीलाई जोगाउन सक्दैन। भनिन्छ कि कमजोर किल्लाहरूलाई त अलेक्जेन्डर दी ग्रेटले सिढी लगाइ चढेर फतह गर्थे। हाम्रो छाला पनि त्यस्तै एउटा कमजोर किल्ला हो, जसमा सिढी लगाइ सूक्ष्म हुकवर्मले प्वाल पारेर आन्द्रामा छिर्छ र भयङ्कर रोग पैदा गर्छ। यसको अलावा लामखुट्टेजनित कुनै रोगबाट छालाले बचाउन सक्दैन। यसरी लामखुट्टे सिढी लगाउने अलेक्जेन्डर साबित हुन्छ। यसको अलावा भगवान्लाई यदि थाहा हुन्थ्यो कि मानिस स्वयं आफ्नो मृत्युको कारण बन्छ, तब शायद उनी कवचकुण्डलसहित कर्ण जस्तो मान्छे बनाउँथे। तर त्यस्तो छैन। मानिसले गोली बन्दुक बनाएर छालाको आरपार गर्ने मृत्युको औजार बनाएको छ। तापनि छाला एक कवच त हो नि जसले अर्बौं रोगाणुबाट हामीलाई अवश्य बचाउँछ, जसको अभावमा हामी एक मिनट पनि बाँच्न सक्दैनौं। यतिमात्र होइन, छाला नभएको भए हामी केवल मासु रहाडको भूत जस्तो नै देखिन्थ्यौं। यो छाला नै हो, जो एक अलग उपद्रवको कारण बन्छ। सौन्दर्य प्रतियोगिताको कारण मात्र होइन, बलात्कारको लागि सम्म आमन्त्रण गर्छ। उर्वशी, मेनका वा क्लियोपेट्रा वा प्रियङ्का चोपडा यदि कोही बन्छ भने त्यसको कारण केवल छाला हो। तिनको छाला उतारेर हेर्नुस् उनीहरूमा कुनै फरक देखिंदैन। यस्तो महत्वपूर्ण छालाको काम, कर्तव्य त हेर्नु हाम्रो कर्तव्य नै हुन जान्छ।
छाला शरीरको सबैभन्दा ठूलो र वजनी अङ्ग हो। शरीरमा बाहिरी छाला र कलेजो नै यस्तो अङ्ग हुन्, जसले पूर्ण रिजेनरेशनको क्षमता राख्छ। नर्भमा केवल पेरिफेरल नर्भ मात्र रिजेनरेट हुन्छ, सेन्ट्रल होइन। छालाको क्षेत्र २२ वर्गमिटर र वजन ५ किलो हुन्छ। आँखाको परेलामा यो सबैभन्दा पातलो ०ं.५ मिमी र पैतालामा सैबभन्दा मोटो पाँच मिमी हुन्छ। कपालको पछाडिको भागमा यो १.३८, साइडमा १.४८ र निधारमा १.ंं७८ मिमी मोटाइको हुन्छ। कपालमा छालाको रौंको सङ्ख्या एक लाख हुन्छ। छालाको कोशिकाको आकार २५ देखि ४० माइक्रोमिटर हुन्छ। छाला सधैं झरिरहेको हुन्छ, सुत्ने बेलामा समेत छालालाई माइटले खान्छ अथवा कोठाको धूलो बन्छ। एक वर्षमा करीब चार किलो छाला झर्छ र बन्छ। बन्ने प्रक्रिया शिशुमा १४ दिन, किशोरमा २६ दिन, वयस्कमा ४२ दिन र बूढेसकालमा ८४ दिनमा पूरा हुन्छ। बूढेसकालमा छाला पातलो हुँदै जान्छ।
छालाको कामः हाड, मांसपेशी र शरीरका अन्य अङ्ग हावामा झुन्डिएका हुन्छन्। छालाले ती सबैलाई होल्ड गरेर स्थिरता प्रदान गर्छ। छालाले पसिना बगाइ शरीरलाई ठन्डा र कम्पन गरेर तातो बनाउँछ। यसरी छालाले तापक्रमको रेगुलेशन गर्छ। सिवमले छालालाई तैलीय बनाउँछ। छालामा भएका मेलानोसाइट सेलले मेलानिन हार्मोन बनाएर छालाको रङ्ग निर्धारण गर्छ। यो छाला नै हो, जसले मुख्य व्यक्तित्वको निर्माण गर्छ र सौन्दर्य प्रदान गरेर प्रतियोगितामा विजयी बनाउँछ। शरीरको बोसो सबैभन्दा बढी छालामा नै जम्मा हुन्छ, जस कारण पेटको छालाको मोटाइ तीन सेमीसम्म पुग्न सक्छ। छालाले बोसोमा घुलनशील भिटामिनलाई पनि जम्मा गरेर राखेको हुन्छ। यसले सोडियम र युरिया आदिलाई बाहिर निकाल्ने काम पनि गर्छ। छालाले प्रचुर पानी पनि जम्मा गरेर राखेको हुन्छ र पसिना यसै पानीबाट स्वेद ग्रन्थिले प्राप्त गर्छ। छालाले कोलेस्ट्रोल नामक बोसोले सूर्यको किरणबाट प्रतिक्रिया गरेर भिटामिन डी–३ को निर्माण गर्छ। छालामा हाइली स्पेशलाइज्ड नर्भ सेल हुन्छन्, जसले स्पर्श, दुखाइ, भाइब्रेसन, प्रेसर आदिको अनुभव हामीले गर्छौं। अन्धो मानिसमा नर्भ सेल यतिसम्म विकसित भएको हुन्छ कि उसले केवल कसैको छालाको स्पर्शले नै कुनै पनि मानिसको पहिचान गर्न सक्छ। यतिमात्र होइन, भनिन्छ कि सीताको मूर्ति यज्ञमा राख्नको लागि एक अन्धो मानिस नै बनाएका थिए। छालाले नै हामीलाई अल्ट्राभ्वायलेट किरणको नोक्सानीबाट बचाउँछ।
छालाको बनावटः यति पातलो छालाको पनि तीन भाग हुन्छः इपिडर्मिस, डर्मिस र हाइपोडर्मिस। कसैकसैले हाइपोडर्मिसलाई डर्मिसको नै भाग भन्छ किनभने यही छालाभित्रको बोसोको भाग हो। इपिडर्मिस– छालाको सबैभन्दा बाहिरको भाग जसलाई हामीले देख्न सक्छौं, त्यसलाई इपिडर्मिस भनिन्छ। यो हेर्नमा यति पातलो भएपनि यसमा पाँच परत हुन्छन्। स्ट्रेटम कोर्नियम ः यो सबैभन्दा बाहिरको भाग हो, जुन प्रेसरले सधैं झरिरहेको हुन्छ र भित्रबाट बनेर फेरि आइरहन्छ। रौंको छिद्र यसैमा हुन्छ, जसबाट रौं बाहिर निस्केको हुन्छ। स्ट्रेटम ल्युसिडम ः यस परतले नै छालाको चमक कायम हुन्छ। स्ट्रेटम ग्रेन्युलोसमः यसमा किरेटोमाइलिन नामक ग्रेनयुलहरू हुन्छन्, जस कारण यसको यो नाम राखिएको छ। स्ट्रेटम स्पाइनोसम ः यसमा काँडा जस्तो भाग निस्केका हुन्छन्, जस कारण एक सेल अर्को सेल वा एक परत अर्को परतसँग टाँसिएका हुन्छन्। स्ट्रेटम जर्मिनेसियम ः यसमा किरेटोनिसाइट नामक सेल हुन्छन्, जसले निरन्तर माइटोटिक डिभिजनले नयाँ सेलहरू बनाइरहन्छन्। नित्य करीब ४० हजार छालाका सेलहरू झर्छन् र नयाँ बन्छन्। यसको अतिरिक्त किरेटिनोसाइट सेलहरूको बीचबीचमा मेलानोसाइटका सेलहरू छरिएका हुन्छन्, जसले मेलानिन बनाउँछ। डर्मिस ः यो इपिडर्मिसको तलको परत हो, जसमा कोलेजन फाइबर नामक तत्व हुन्छ, जसले पानीलाई होल्ड गरेर राख्छ। यसैमा कोलेजिनेज नामक इन्जाइम पनि हुन्छ, जसले छालाको घाउ भर्ने काम गर्छ। यसैमा हुन्छ सुपरफिसियल पैपिलरी लेयर ः यो माथितिर जाने प्रोजेक्सन जस्तो सेल हुन्छ, जुन इपिडर्मिससम्म जान्छ। क्रोमेटोफोर नामक एक अर्को पिगमेन्ट पनि यसमा हुन्छ। यसमा रगत र लिम्फका कैपिलरीहरू हुन्छन्। डिपर रेटिकुलर लेयर ः यसमा हेयरबल्ब र इरेक्ट्रोपाइली नामक ससाना मांसपेशी हुन्छन्। हेयरबल्बबाट रौं निस्कन्छन्, जुन जीवित हुन्छ तर बाहिर आएका रौंलाई जीवित मानिंदैन। त्यसैले रौं काटेपछि दुख्दैन तर उखेल्यो भने बल्बसम्म असर पुगेको हुनाले दुख्ने गर्छ। इरेक्ट्रोपाइली मांसपेशीको सङ्कुचनले नै जाडोमा वा भावुकतामा रौं खडा हुन्छ। यसको अतिरिक्त यसै परतमा स्वेद ग्रन्थि र सिवेसियस ग्रन्थि हुन्छन्। सिवेसियस ग्रन्थिले छालालाई तैलीय बनाइराख्ने काम गर्छ। छालाको प्रतिवर्ग इन्च यिनको सङ्ख्या २५०० देखि ६००० सम्म हुन्छ। यी ग्रन्थि प्युवर्टीसम्म क्रियाशील हुँदैनन्। प्युवर्टीको बेला सेक्स हार्मोनको सुरुआत भएपछि मात्र यो क्रियाशील हुन्छन्। शुरूशुरूमा यसले सेक्स हार्मोनसँग तालमेल मिलाउन नसकेर पिम्पल आदिको कारण बन्छ। तर एक/दुर्ई वर्षमा तालमेल भएपछि पिम्पल आफैं निको हुन्छ। परेलामा यही सिवेसियस ग्रन्थिलाई मिवोमियन ग्रन्थि र ओठ तथा यौनाङ्गमा फोर्डिस स्पाँट भनिन्छ। दूधको एरिओलामा यसैलाई मन्टगोग्मरी स्पाँट भनिन्छ। छालामा स्वेद ग्रन्थिको सङ्ख्या डेढदेखि पाँच मिलियनसम्म हुन्छ। एक व्यक्तिले नित्य चार ग्यालेन पसिना निकाल्छ, जो व्यायामले गर्दा २०० देखि ३०० सिसीसम्म बढेर जान्छ। प्रत्येक पैतालामा अढाई लाख स्वेद ग्रन्थि हुन्छन् र प्रतिदिन आधा लिटर पसिना निकाल्छ। पसिनाले फैट बर्न गर्दैन तर फैट बर्न भइरहेको इन्डिकेटरको काम गर्छ। नङ, ओठ र कानमा पसिना आउँदैन। त्यस्तै, स्वेदले कुनै टक्सिनलाई बाहिर निकाल्ने काम गर्दैन। डर्मिसको तल बोसोको परत हुन्छ, जसलाई हाइपोडर्मिस भनिन्छ। यसले छालालाई शरीरको भित्री अङ्गसँग जोड्छ र इन्सुलेटर अर्थात् तापको कुचालकको काम गर्छ। मतलब यो कि गर्मीमा गर्मी र जाडोमा जाडो हुन दिंदैन। महिलामा यो फैट बढी भएको कारण महिलाको छालाले कामोबेस एक एयरकन्डिसन जस्तो काम गरेको प्रत्यक्ष देखिन्छ। स्वेद ग्रन्थि दुर्ई थरीका हुन्छन्ः एक्रिन र एपोक्रिन। एक्रिन हेयरफोलिकलमा खुलेर स्वेद बाहिर आउँछ। तर योनी, शिश्नमुण्ड र मेमोरीग्लैन्ड अथवा दूधमा डाइरेक्ट खुल्छ। एपोक्रिन सर्वत्र हुँदैन बरु काँखी, यौनाङ्ग क्षेत्र र दूधमुण्डको वरिपरि र नाभीमा हुन्छ। यसले फेरोमोन नामक एउटा केमिकल निकाल्छ, जुन योनिरसमा पनि पाइन्छ, जुन हावामा छरिएर जनावरको अर्को सदस्यलाई आकर्षित गर्छ।
यो छाला नै हो, जसले पानी होल्ड गरेर राख्छ र यसमा व्यापक मात्रामा रक्तको मात्रा पनि हुन्छ। जलेको रोगीमा यही पानीको क्षति हुन्छ, जुन जलेको छालाको समानुपातिक पानी र इलेक्ट्रोलाइटको क्षति हुन्छ। त्यसैले जलेको छालाको क्षेत्रफल र गहिराइको गणना गरी त्यसको प्रतिशत निकालिन्छ यथाः १०, १५, २०, ५०, ६० वा बढी प्रतिशतको रूपमा व्यक्त गरिन्छ। ४० प्रतिशतभन्दा बढी जलेकोलाई भयावह र मृत्युकारक मानिन्छ। भर्खरै भारतको झारखण्डमा शाहरूख नामक केटाले अङ्किता नामक केटीको जीउमा पेट्रोल हालेर जलाएकोमा त्यसको प्रतिशत ९० थियो। जब ४० प्रतिशत नै भयावह हुन्छ भने ९० प्रतिशतमा अङ्किता नबाँचेकोमा कुनै आश्चर्य हुँदैन। खैर यो यस लेखको विषय होइन। छुट्टै बर्न चेप्टरमा विवेचना गरिनेछ।
यसरी हामी के हेर्छौं भने छाला कुनै मजबूत किल्ला होइन तर पनि रोग रोकथाम र कतिपय अन्य कामको लागि महत्वपूर्ण अवश्य छ। अरू अङ्गलाई बचाउने छाला स्वयंमा अनेक रोग लाग्ने गर्छ, जलाई डर्मेटाइटिस भनिन्छ, जसको वर्णन अन्यत्र गर्ने कुरा हो। इति।