– उमाशङ्कर द्विवेदी
तपाईं गुरुसित युद्ध गर्न छाडेर राजा दुर्योधनसित युद्ध गर्नुहोस्। राजाले राजासित नै युद्ध गर्न उचित हुनेछ। अतः तपाईं हात्ती, घोडा र रथसेना लिएर त्यहीं जानुहोस्, जहाँ मेरो सहायताबाट भीमसेन र अर्जुन कौरवहरूसित युद्ध गरिरहेका छन्। भगवान्को कुरा सुनेर धर्मराजले अलिकबेर मनमनैमा विचार गरे, अनि तत्कालै जहाँ भीमसेन थिए, उतैतिर गए।
धृतराष्ट्रले सोधे– सञ्जय, पाण्डवहरूले हाम्रो सेनाको मन्थन गरेर सम्पूर्ण सैनिकको शक्ति क्षीण पारेर सबैजना त्यस घोर अन्धकारमा डुबिसकेपछि तिमीहरूले के सोच्यौ। दुवै सेनाले कसरी प्रकाश पाए ?
सञ्जयले भने–महाराज, दुर्योधनले सेनापतिहरूलाई आज्ञा दिएर जति सेना मर्नबाट बाँचेका थिए, उनीहरूलाई व्यूहाकारमा उभ्याए। त्यसमा सबैभन्दा अगाडि थिए, द्रोण र उनको पछि थिए शल्य, अश्वत्थामा, कृतवर्मा तथा शकुनि र स्वयम् राजा दुर्योधन चारैतिर डुलेर त्यस रात्रिमा कौरवसेनाको रक्षा गरिरहेका थिए। उनले पैदल सैनिकहरूलाई आज्ञा दिए कि तिमीहरू हातहतियार राखेर हातमा मशाल उचाल। सैनिकहरूले प्रसन्नतापूर्वक यस राजाज्ञाको पालना गरे। कौरवहरूले प्रत्येक रथको छेउमा पाँचवटा, प्रत्येक हात्तीको छेउमा तीन/तीन वटा र प्रत्येक घोडाको छेउमा एक/एक प्रदीप्त मशाल राखे। पैदल सैनिकहरूले हातमा तेल र मशाल लिएर दीपकहरूलाई बालिरहेका थिए। यस प्रकारले तपाईंको सम्पूर्ण सैनिकमा क्षणभरिमैं उज्यालो भयो।
हाम्रो सेनालाई यस प्रकार दीपकको प्रकाशले उज्यालो भएको हेरेर पाण्डवहरूले पनि आफ्ना पैदल सैनिकहरूलाई तत्काल दियो बाल्ने आज्ञा दिए। उनीहरूले प्रत्येक रथको छेउमा दश/दश वटा र प्रत्येक हात्तीको छेउमा सात/सात वटा दीपकको प्रबन्ध गरे। दुई/दुई वटा दीपक घोडाको पिठ्यूँमाथि, एकवटा दीपक रथको ध्वजामाथि र दुई/दुई वटा दीपक रथको पछिल्लो भागमा बालिए। यसै प्रकार सम्पूर्ण सेनाको अगि–पछि तथा दायाँ–बायाँ तथा बीच–बीचमा पनि पैदल सैनिक बलिरहेको मशाल हातमा लिएर डुलिरहेका थिए। यस्तो प्रबन्ध दुवै सेनामा भयो। दुवैतिरको दीपकको प्रकाश पृथ्वी, आकाश र सम्पूर्ण दिशामा फैलियो। स्वर्गसम्म फैलिएको त्यस महान् आलोकबाट युद्धको सूचना पाएर देउता, गन्धर्व, यक्ष, सिद्ध र अप्सराहरू पनि त्यहाँ आइपुगे। यता युद्धमा मरेका सेनाहरू सोझै स्वर्गतिर लागिरहेका थिए। यस प्रकार स्वर्गवासीहरूको ओहरदोहरबाट त्यो रणभूमि देवलोकझैं लागिरहेको थियो।
सञ्जयले भने– महाराज, जुन स्थान पहिला धूलो र अन्धकारबाट आच्छनन भइरहेको थियो, त्यो प्रकाशबाट आलोकित हुन पुग्यो। रत्नजडित सुनको दियरख (दियो राख्ने स्थान विशेष)माथि सुगन्धित तेल भरिएका हजारौं दीपक जगमग गरिरहेका थिए। जुन प्रकार असङ्ख्य नक्षत्रहरूबाट आकाश सुशोभित हुन्छ, त्यसै प्रकार दीपमालाबाट त्यहाँ रणभूमि शोभायमान भइरहेको थियो। त्यति बेला हात्तीसवार हात्तीसवारसित र घोडचढीहरू घोडचढीहरूसित भिडे। रथीहरूको रथीहरूसित मुकाबला हुन थाल्यो। सेनाको भयङ्कर संहार आरम्भ भइसक्यो। अर्जुनले बडो फुर्तीका साथ राजाहरूको वध गर्दै कौरवसेनाको विनाश गर्न थाले।
धृतराष्ट्रले सोधे– सञ्जय, अर्जुन क्रोधित भएर दुर्योधनको सेनाभित्र छिरेपछि दुर्योधनले के गर्ने विचार गरे ? कुन कुन वीरहरू अर्जुनको सामना गर्नको लागि अगि बढे ? आचार्य द्रोणले युद्ध गर्न लागेको बेला ककसले उनको पृष्ठभागको रक्षा गरिरहेका थिए ? को उनको अगि थियो ? र रथको दायाँ–बायाँ को को पाङ्ग्राको रक्षामा खटेका थिए ? मलाई सविस्तार बताऊ।
सञ्जयले भने– महाराज, त्यस रात्रि दुर्योधनले आचार्य द्रोणको सल्लाह बमोजिम आफ्ना भाइहरू तथा कर्ण, वृषसेन, मद्रराज शल्य, दुद्र्धर्ष, दीर्घबाहु तथा उनीहरूका सबै अनुचरसित भने–तिमी जम्मैजना पूर्ण सावधान रहेर पराक्रम गर्दै आचार्य द्रोणको रक्षा गर। कृतवर्माले दक्षिणतिरको र शल्यले उत्तरतिरको पाङ्ग्राको रक्षा गरून्। यसपछि त्रिगत्र्त देशका महारथीहरूमध्ये जति बाँचेका थिए, ती सबैलाई तपाईंका पुत्र दुर्योधनले आचार्यको अगि रहने आज्ञा दिएर भने– वीरहरू हो, आचार्य द्रोण बडो सावधानीका साथ युद्ध गरिरहेका छन्। पाण्डवहरूले पनि बडो तत्परताको साथ उनको सामना गरिरहेका छन्। अतः अब तिमीहरू बडो सावधान रहेर महारथी धृष्टद्युम्नबाट आचार्य द्रोणको रक्षा गर। पाण्डवको सेनामा आचार्य द्रोणको सामना गर्न सक्ने धृष्टद्युम्नभन्दा अन्य कुनै योद्धा देखा परिरहेको छैन। अतः धृष्टद्युम्नसित आचार्य द्रोणको रक्षा गर्नु नै सबैभन्दा ठूलो काम हो। क्रमशः…