विश्वकर्मा पूजा र वास्तु विश्वास

– सञ्जय साह मित्र
    नेपालमा विक्रम संवत् औपचारिकरूपमा व्यवस्थित भएपछि संस्कृतिमा निकै कम भिज्न सकेको छ। सरकारी कामकाजको औपचारिक संवत् रहेको विक्रम संवत्को आधारमा नेपाली संस्कृतिमा निकै कम चाडपर्व मानिने गरेकाले यसो भन्न सकिएको हो। हरेक वर्ष वैशाख महीनाको १ गतेका दिन सतुवान र २ गतेका दिन जुडशीतल मनाइन्छ। यसैगरी, असोज महीनाको १ गते विश्वकर्मा पूजा तथा माघ १ गते तिला–सङ्क्रात मनाइन्छ। यी पर्वहरूको प्रकृति हेर्दा सङ्क्रान्तिसित नै सम्बन्धित देखिन्छ। यी संस्कृति पहाडमा भन्दा तराई–मधेसमा बढी प्रचलित छ। महीनाको अन्य गतेमा भने खासै पर्व मनाइने प्रचलन रहेको पाइँदैन। असारको १५ मा दही–चिउरा तथा साउन १५ मा खीर खाने प्रचलनको भने विस्तार भइरहेको छ। मुख्यतः पहाडे संस्कृतिमा प्रचलनमा रहेका यी दुई पर्वले तराई–मधेसमा पनि विस्तार पाउन थालेका हुन्। जसरी तराई–मधेसबाट विश्वकर्मा पूजा र तिला–सङ्क्रात पहाडको उकालो चढे, त्यसैगरी, खीर र दही–चिउरा पनि पहाडबाट तराई–मधेस झरेको देखिन्छ। यसबाहेक संस्कृतिसँग अन्य गते त्यति सम्बन्धित हुन सकेको पाइँदैन।
    विश्वकर्मा पूजा असोज १ गते नै किन मनाइन्छ ? सामान्यतया के मान्यता छ भने यन्त्रका देवता भगवान् विश्वकर्माको जन्म दिन असोज १ गते हो। वास्तवमा विक्रम संवत्को प्रचलन भएको एक्काइस सय वर्ष पनि हुन सकेको छैन तर विश्वकर्मा बाबाको जन्म यसै दिन भएको भन्नुको पछाडि विश्वकर्मा जयन्ती मनाउनका लागि विद्वान्हरूले मिलाएको दिन हो भन्न सकिन्छ। कुनै एक दिन सम्झिने हो, आदर गर्ने हो, सम्मान गर्ने हो, पूजा गर्ने हो। वर्षभरिको कुनै पनि दिन मान्दा हुन्थ्यो तर असोजको पहिलो दिनलाई किन विश्वकर्मा पूजाको रूपमा मनाउन थालियो ? यस प्रश्नको उत्तरको खोजी गर्दा विश्वकर्मा बाबाको जन्म यसै दिन भएको हो भन्दा पनि यस दिनलाई रोज्नुको पछाडि वैज्ञानिक र व्यावहारिक कारणहरू छन्। एक हिसाबले भन्ने हो सामाजिक कारण पनि छ। विश्वकर्मा पूजाका दिन जे–जसको पूजा गरिन्छ, तिनका प्रकृति हेर्दा विश्वकर्मा पूजाको समय असोज १ गते निकै उपयुक्त देखिन्छ।


    हामीकहाँ असार, साउन र भदौलाई वर्षाको समय भनिन्छ। अहिलेको जस्तो पहिले हाम्रो संस्कृति र समाजमा धेरै यन्त्रको चलन थिएन। यान्त्रिक युगको सुरुआत भइसकेको थिएन। यान्त्रिक युगको सुरुआत भइनसकेको अवस्थामा निकै कम यन्त्र र मेशिनको प्रयोग हुन्थ्यो। अहिलेजस्तो सडकको पनि विकास भएको थिएन। यातायात सुगम थिएन। जे जति यन्त्र प्रयोग हुन्थ्यो, तीमध्ये अधिकांश असार, साउन र भदौमा प्रयोग हुँदैनथे। कृषिमा आश्रित समाज थियो। कृषिमा आधारित समाज भएको हुनाले यन्त्र थन्क्याएर कृषिकर्म गरिन्थ्यो। कृषिकर्मको समय भनेको हिलो र पानीको समय हो। यन्त्रको काम गर्नेले पनि आफूलाई कृषिमा निर्भर राख्नुपर्दथ्यो। खेतीपातीमा व्यस्त रहनुपर्दथ्यो। खेतीपातीको समय र यन्त्रलाई पानीबाट जोगाउनुपर्ने भएकोले यन्त्रको काम प्रायः वर्षाभरि हुन पाउँदैनथ्यो। यसले गर्दा  यन्त्र वा मेशिनको उपयोग वर्षाभरि हुने अवस्था थिएन। वर्षामा मेशिनलाई जोगाउन घरभित्र थन्क्याउनुपथ्र्यो।
    सामान्यतया असोजदेखि वर्षा समाप्त हुन्छ भन्ने मान्यता छ। वर्षा भएपनि फाट्टफुट्ट हुन्छ। ठूलो बाढी आउँदैन। यद्यपि प्रकृतिको कुनै निश्चित नियम हुँदैन यस मामिलामा। कहिलेकाहीं ठूलो वर्षा र बाढी पनि आएको पाइएको छ तर सामान्यतया वर्षा हराउँदै वा कम हुँदै जान्छ। खेतीपातीको काम पूरै सम्पन्न भइसकेको हुन्छ। घरबाट मेशिन बाहिर निकाल्न सकिन्छ। बाहिर निकालेर काम गर्नुपर्ने मेशिन त्यत्तिकै चलाउन सकिंदैन, सफाइ गर्नुपर्छ। कतिपय सामग्रीमा खिया लागिसकेको हुन्छ। कतिपय पार्टपुर्जा फेर्नुपर्ने हुन्छ। यसरी मेशिनलाई धोइपखाली सफा गर्नुपर्ने र बिग्रेकालाई बनाएर पुनः सञ्चालनमा ल्याउनुपर्ने भएकोले यही दिन उपयुक्त मानिएको हुनुपर्छ। असोज लागेपछि मेशिन सञ्चालन गर्न सबै दृष्टिकोणले उपयुक्त देखिएकोले मेशिन सञ्चालन गर्नेहरूले एउटा निश्चित मिति असोज १ गते मेशिन–औजारको पूजा गरी काममा उपयोग गर्ने दिनको रूपमा विकास गरेको हुनुपर्छ।
    हाम्रा चाडपर्व र संस्कृति मानव सभ्यताकै उपज हुन्। संस्कृतिले मनोरञ्जन दिने र निरन्तर काम गरिरहनुपर्ने अवस्थामा केही विश्राम दिई नवीनता गराउनुका साथै पुनर्ताजगी गराउँछ। चाडपर्वले काममा एकाग्रचित्त हुन बल पु–याउने पनि कतिपयको विश्वास छ। जुन काम वा मेशिनको पूजा गरिएको हो, त्यसको दुरुपयोग गर्न नहुने, औजार वा मेशिनको सम्मान गर्नुपर्ने, सुरक्षा गर्नुपर्ने, स्याहार गर्नुपर्ने सन्देश पनि लुकेको हुन्छ। यन्त्र र औजारको दुरुपयोग गर्न नहुने र कार्यस्थलमा सधैं सतर्क रहन पनि यस पर्वले बताउँछ।
पहिलेदेखि नै खाली खुट्टाले फलाम टेक्नुहुँदैन भन्ने लोकमान्यता छ। अझ फलामबाटै अधिकांश यन्त्र र औजारको निर्माण भएको हुन्छ। कतिपय धारिलो पनि हुन्छ, कतिपय टेक्दा बिग्रिने हुन्छ। यसरी व्यक्तिगत सुरक्षादेखि सामानको सुरक्षाको लागि यस्ता चाडपर्वले मानिसलाई सतर्क गराएको देखिन्छ।
    हिन्दू शास्त्र अनुसार विश्वका रचयिता ब्रह्मालाई मानिएको छ। ब्रह्मालाई सृष्टिकर्ता मानिन्छ। सृष्टिको सर्जक नै ब्रह्मा हुन्। र उद्योग तथा कलकारखानाको देवताको रूपमा विश्वकर्मालाई मानिएको छ। समाजमा जति धेरै मेशिन तथा औजारको प्रयोग बढ्दै गएको छ, त्यति नै विश्वकर्मा पूजाको संस्कृतिको पनि विस्तार हुँदै गएको छ। चार पाँच दशक पहिलेसम्म गाउँघरमा विरलै हुने विश्वकर्मा पूजा आजभोलि अधिकांश घरमा मनाइन र मान्न थालिएको छ। यसले विश्वकर्मा पूजाको विस्तार भएको स्पष्ट पार्दछ। मोटरसाइकलदेखि उद्योगसम्मको पूजा भव्यताका साथ गर्न थालिएकोले विश्वकर्मा पूजाको दिन गाउँदेखि शहरसम्म गुलजार हुन्छ। यस्तो अनुभूति हुन्छ, यो एउटा नवीन उत्सव हो। अझ मूर्ति राखेर बाहुन बोलाएर विधिसम्मत पूजा गर्ने प्रचलन बढ्दै जानु र मण्डली बोलाएर भजन–कीर्तन लगाउने प्रचलन बढ्दै जानुले यस पर्वले थप विस्तार पाउँदै गएको पनि देखिन्छ। कतिपयको भनाइ छ–कर्म र श्रमलाई धार्मिक रूप दिइएको हो। विश्वकर्मा पूजाको दिन श्रमिकको सम्मान पनि हुन्छ। श्रमिकमा उत्साह पनि हुन्छ। कतिपय उद्योगले आफ्ना श्रमिकलाई प्रोत्साहन गर्न विभिन्न घोषणा पनि गर्दछन्।
    खाली हात श्रम गर्ने अवस्थालाई प्रतिस्थापन गर्दै बिस्तारै औजार र मेशिनको प्रयोग बढ्दै गएर समाज औद्योगिक युगमा प्रवेश गरेसँगै जन्मेको विश्वकर्मा पूजाभन्दा वास्तु–विश्वास निकै पुरानो छ। सामान्य नागरिकले पनि कता सिरानी गरेर सुत्नेजस्तो कुरामा विश्वास गरेका हुन्छन्। यस प्रकारका अन्य पक्ष पनि छन्, जो वास्तुसित सम्बन्धित छन्। घरको मोहडा कता राख्दा राम्रो हुने र देखिनेसम्मको विश्वास रहेको छ। वास्तु पनि एउटा विज्ञान हो। सबै पहिलेका वास्तुसित सम्बन्धित धारणाको वैज्ञानिक परीक्षण हुन सकेको छैन तर कतिपय धारणा चाहिं उपयुक्त छ भन्ने तर्क दिइन्छ। वास्तुलाई प्राचीन इन्जिनीयरिङ मान्नेहरूको कमी छैन। अर्थात् इन्जिनीयरिङ कर्मलाई पनि वास्तुसित जोडेर हेर्न थालिएको छ। अझ पहिलेभन्दा वास्तुमाथिको विश्वास बढेको छ। वास्तु दैनिकी भइसकेको छ र यसबारे थप खोज–अनुसन्धान जारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here