काठमाडौं, ३ मङ्सिर/रासस
मुलुकका अधिकांश क्षेत्रमा पछिल्लो केही हप्तादेखि अधिकतम तापक्रम औसतभन्दा कम देखिएको छ । जल तथा मौसम विज्ञान विभागको अभिलेखानुसार जाडो शुरू हुँदै गर्दा तापक्रम घट्नु स्वाभाविक भए पनि पछिल्लो केही हप्ता ३० वर्षको औसत तापक्रमभन्दा कम हुँदा सर्वसाधारणले बढी चीसो महसूस गरेका छन् । एक्कासि चिसो बढ्दा बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यमा असर पुग्न सक्ने हुँदा सावधान रहन भनिएको छ ।
अक्टोबर तेस्रो हप्तापछि गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाबाहेक अन्य प्रदेशमा अधिकतम तापक्रम सरदरभन्दा कम देखिएको विभागका वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले बताइन् । नोभेम्बर लागेपछि काठमाडौंमा न्यूनतम तापक्रम पनि घटेको उनले बताइन् । विराटनगर, धनकुटा, धरान, ओखलढुङ्गा, जिरीमा पनि न्यूनतम तापक्रम घटेको छ । अधिकतम तापक्रम दिनमा र न्यूनतम तापक्रम रातमा मापन हुन्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले अब पुनः जाडो तथा सुक्खायाममा हुने विपद्जन्य घटना बढ्ने सम्भावना बढ्ने बताए । औसतभन्दा तापक्रम घट्ने क्रम काठमाडौं उपत्यकामा गएको अक्टोबर तेस्रो हप्तादेखि नै शुरू भएको हो ।
मुख्यतः उपत्यकामा भने अक्टोबर २६ देखि अधिकतम तापक्रम औसतभन्दा कम देखिंदै आएको छ । पछिल्लो समय भने न्यूनतम तापक्रमसमेत औसतभन्दा कम देखिन थालेको वरिष्ठ मौसमविद् डा कँडेलले बताए । हाल पोस्ट मनसुनकै समय चलिरहेकोले जाडो यामको आकलन आउन बाँकी नै छ । आइतवारदेखि मौसम सुधार हुने देखिएकोले तापक्रम केही बढ्ने मौसमविद्को अनुमान छ ।
दुर्ई दिन नोभेम्बर १७ (बुधवार) काठमाडौं उपत्यकाको अधिकतम तापक्रम (३० वर्षको औसत तापक्रम २३.२ डिग्री) हो । यसपालि घटेर २२ डिग्रीमा झरेको छ । अघिल्लो वर्ष सोही दिन २२.६ डिग्री थियो । त्यसको अघिल्लो दिनको औसत अधिकतम तापक्रम २२.९ हो । त्यस दिन तापक्रम २१.८ डिग्रीमा झरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहीवार औसत तापक्रम २३.६ हो तर तापक्रम घटेर २२.५ मा आएको थियो ।
मौसमविद्का अनुसार डिसेम्बर, जनवरी, फेबु्रअरीको तापक्रम हेर्दा यसपालि हिउँदमा सरदरभन्दा तापक्रम बढी र सुक्खा हुने सम्भावना बढी छ । सागरमा बनेको निम्न चापीय क्षेत्रका कारण नेपालमा पनि मौसम बदली रहेको छ । हाल प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशमा सामान्यतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मौसम बदलीका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एक/दुर्ई स्थानमा हल्का वर्षाको सम्भावना छ । बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा र बाँकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुर्ई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।